Skip to content

‘देश सधैँ रुने छैन’ कविता सङ्ग्रह : देशप्रेमको दस्तावेज

युवाकवि भेषराज रिजालको कविता सङ्ग्रह ‘देश सधैँ रुने छैन’ सरसर्ती पढेँ । शंकरपोखरी, पर्वतमा जन्मेका कविका यसअघि ‘बालुवाको मुठ्ठी’ गीति कविता सङ्ग्रह, लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् । विविध गद्य विधामा कलम चलाउँदै आएका कविको व्यक्तित्वलाई अझै निखार तुल्याउने यो कविता सङ्ग्रहको सामान्य प्रतिक्रिया दिनु मेरो उद्देश्य रहेको छ ।

‘देश सधैँ रुने छैन’ कविता सङ्ग्रह गद्य विधामा लेखिएको छ अर्थात् रबर छन्दमा । यसमा संग्रहित सैँतीसवटा रचनामध्ये तेत्तीसवटा कविता रहेका छन् । ‘तिम्रो प्रतिक्षामा’, ‘आफ्नै गीत’ र ‘बितिगए दुईदशक’ यस सङ्ग्रहमा रहेका गीतहरू हुन् भने एउटा गजल पनि रहेको छ ‘हाँस्दै हाँस्दै’ शीर्षकमा । गीत र गजल हेर्दा मलाई कविजी पहाड घन्काउने सरल र सहज गायकझैँ पो लागिरहेछ । जीवनलाई हेर्ने दृष्टिकोण सफा सुन्दर प्रकृतिझैँ पो छ ए उनका गजल पढ्दा—

“हिजो बादलमुनि थियौ मसँग धर्ती रायो
चाँदनीको संघार टेकी आज आकास पसेको छु ।”

चोखो मन भएका कवि आज राप्ती साहित्य परिषद्‍मा पनि पसेका छन्, यौटा आकासजस्तो कवि राप्ती साहित्य परिषद्‍मा नअटाउने कुरै भएन ।

धवलागिरि अञ्चलका सशक्त कवि काजी रोशन र दामोदर घतानेको भूमिकाले कविको काव्य क्षमताबारे धेरै कुरा बताएका छन् यस कविता सङ्ग्रहमा । प्रकाशक राधा बास्तोलाको लेखनीले पनि कविको बारेमा प्रकाश पारेको छ । संकटकालीन परिस्थिति, तत्कालीन सामाजिक चेतको यौटा दस्तावेज हो यो कविता सङ्ग्रह । प्रगतिशील दृष्टिकोण, शिल्पी सौन्दर्य र नौला विम्ब समायोजनका साथै देशप्रेमको भावनाले कविता सङ्ग्रह पठनीय र मननीय बन्नपुगेको छ ।

कविता सङ्ग्रहको पहिलो कविता हो ‘म अलि हतारमा छु’। यसमा कविको आफ्नो घरप्रतिको माया सशक्त छ । मन्दिर धाउने ढोँगी धर्मात्माभन्दा घरलाई मन्दिर बनाएर हेर्ने उनको दृष्टिकोण सुन्दर छ । विम्बात्मकरूपमा हेर्ने हो भने नेपालीले नेपाललाई सुन्दर घर बनाउनुपर्ने आग्रह छ कविको । झुप्राहरूको माया ममतामा रम्ने मन कम आकर्षक हुँदैन । आखिर सुन्दर नेपाल बनाउन सबै नेपालीको घर पनि त सुन्दर र पवित्र बनाउनै पर्छ नि । झुप्राको मायाले नै देश हाँस्न सक्छ भन्ने धारणा सशक्त रहेको छ यस कवितामा । कविको मन कति आतुर छ आफ्नो प्यारो घर पुग्नलाई—

“साइड दिनोस्
मलाई अलि हतार छ
तपाईँको मन्दिर त
सिमेन्ट र फलामको करोडौँको होला
मेरो मन्दिर त पातिको बार र खरको छानोको छ
हुरी लागेथ्यो बिहानै
भित्ताहरू भत्किए कि ?”

‘मेरो औसत गुनासो’ कवितामा मानवीय दुःख, पीडा एवं हर्ष विष्मात्लाई जिन्दगीको औसतमा गणना गर्न नसकिने विचार व्यक्त भएको छ ।

‘बाटो’ कवितामा मान्छे हिँड्न अनेक बाटाहरू भए पनि अमर बाटोमा हिँड्ने कविको चाहना छ । बाटोले प्रत्येक मान्छेको विचारको प्रतिनिधित्व गर्छ । सही लक्ष्यमा पुग्न असल विचार हुनुपर्छ । अमर बाटो बन्न सके मात्र जीवन सार्थक हुने कुरा बताउँछन् कवि । उनको विचार यसरी व्यक्त भएको छ कवितामा—

“म पनि हुनपाएहुन्थ्यो
सबै हिँड्ने यस्तै यस्तै
एउटा अमर बाटो …”

‘तिम्रो प्रतिक्षामा’ गीति कवितामा प्रेमिका भेट्ने प्रबल इच्छा र गहिरो माया छ । त्यस्तै ‘तिम्रो सम्झनामा’ कवितामा पनि गहिरो माया प्रीतिकै प्रसङ्ग तरङ्गित छ ।

‘आजका कविहरूसँग’ कवितामा कविले गरिब र अभावग्रस्त मान्छेलाई सहारा नदिने कविता यथार्थमा कविता नै होइन, कविता शोषित पीडितको उद्दारकर्ता हुनुपर्ने विचार व्यक्त गर्दै यथार्थ र प्रगतिवादी कविताको अपेक्षा राखेका छन् ।

‘बितिगए दुईदशक’ गीति कविताले प्रेमसम्बन्धी मीठा भावना व्यक्त गरेको छ । ‘म पनि मान्छे नै रहेछु कि !’ भन्ने कविताले मान्छेमा मानवीय संवेदनशीलता भएन भने मान्छे मान्छे हुनसक्दैन भन्ने विचार व्यक्त गरेको छ ।

‘आँपको बोटनेर’ कविताले राम्रो दिनको प्रतिक्षामा रहेको विचार व्यक्त गर्दछ । यो विम्बात्मक छ, संकटकाल टरेर राम्रो दिन आएहुन्थ्यो भन्ने चाहना सबै नेपालीले राख्दछन् भन्ने भावना व्यक्त भएको छ कवितामा ।

‘बाटो काट्दा’ यात्रा कविता हो । हिमाल नेपालको गौरब हो । नेपालको ऐतिहासिक गौरब भनेको स्वाभिमान पनि हो । स्वतन्त्र र अविभाज्य नेपालमा विदेशी जालझेल सल्बलाइरहेकोमा कवि क्षुब्ध देखिन्छन् । यस कवितामा राष्ट्रप्रेम झल्कन्छ ।

प्रेमी र प्रेमिकाबीचको सानो मनमुटाबबलाई ठूलो दण्ड नदिन प्रेमीलाई अनुनयविनय गरेको संवेदनशील रंग रूपजन्य कविता हो ‘प्रायश्चित’। यसमा क्षमा नै सर्वोत्तम गुण हो भन्ने दर्शाइएको छ ।

‘चरीलाई पिंजडा’ कवितामा एकातिर बाँच्नका लागि सुरक्षाको वहानामा पिंजडा खोज्नेहरू माथि तीक्ष्ण व्यङ्ग्य गरिएको छ भने अर्कोतिर संकटकालको अवस्थामा सरकार र विद्रोही पक्षको क्रुर व्यवहारले जनसाधारणको जीउधन असुरिक्षत भएको तथ्य मार्मिक ढंगले चित्रण गरिएको छ । सुराकी र आतंककारीको नामबाट मारिने डरले जनसाधारणले जीवन रक्षाका लागि लागि पिंजडा खोज्नुपर्ने भयावह स्तिथिको राम्रो चित्रण छ यस कवितामा ।

‘मेरो अवमूल्यन भएको बेला’ कवितामा देशको आत्मा बोलेको छ । देशको स्वाभिमान कहिल्यै अवमूल्यन हुन नसक्ने दृढविश्वास जनाइएको छ । ‘सार्वभौम स्वदेश र कुटोकोदालो’ कवितामा देशको स्वाधिनतासितै जनसाधारणको पसिना नै सर्वोत्कृष्ट पक्ष हो भन्ने कुरा जनाइएको छ ।
‘जीवन : एक दृष्टिकोण’ जीवनवादी कविता हो । यसमा जीवन सार्थक तरिकाले जिउनुपर्ने कुरामा जोड छ ।

‘देश सधैँ रुने छैन’ नामबाटै थाहा हुन्छ, यस सङ्ग्रहको राष्ट्रियताको बेजोड र अनुपम कविता हो । वास्तवमा राष्ट्र नरहे हाम्रो अस्तित्व रहन सक्दैन । त्यसैले राष्ट्रप्रति बफादार नहुने गद्दारहरूप्रति यस कविताले हुँकार गरेको छ—

“मेरो आँगनको
सयपत्री र मखमलीको मुहारमा
यसपटक
देश फुल्न सकेन त के भो ?
देशलाई परदेश बनाउन खोज्नेहरूको
आकांक्षा पनि त कहाँ फुल्न सक्ला र ?
भीरमा उम्रेको गुराँसको जराले
गजबले समातेको छ देशलाई !”

साँच्चै देशको अस्मिता लुटिँदै गएकोमा कवि अत्यन्तै व्यथित र चिन्तित छन् । देश सबै नेपालीको पाइलामा टेकिनुपर्ने र मुटुमुटुपिच्छे धड्किनुपर्ने धारणा छ यस कवितामा ।

‘तालिम शिविरबाट’ कविताले बिनाकामका भातमारा तालिमको कुनै उपलब्धि छैन भन्ने कुरा दर्शाउँछ । ‘ईश्वरको हाँसो पाएको फूल छोएर नमार’ भन्ने महाकवि देवकोटाको उदात्त भावनालाई ‘फूलको श्रद्धामा’ भन्ने कवितामा व्यक्ताइएको छ ।

लक्ष्यहरू हमेशा माथि नै हुन्छन् भन्ने सन्देश दिन्छ ‘थुम्को, क्षितिज, म र सूर्य’ कविताले । महानतालाई छुन कहिल्यै सकिँदैन, अनुभव मात्र गर्न सकिन्छ, महान लक्ष्य प्राप्ति गर्न हामी सधैँ लागिरहनुपर्दछ, सूर्य सधैँ प्रकाश दिने असल लक्ष्य हो जहाँ पुग्न भ्रमको क्षितिज चहार्नु हुँदेन भन्ने सन्देश दिन्छ यस कविताले ।

‘तिमी’ कविताले देशको लागि केही देन दिनसक्ने असल त्यागी मान्छेको अस्तित्व देखाएको छ र त्यसको बलिदानलाई महत्व दिएको छ ।

‘कुहिरो’ कविताले प्रकृतिप्रति रुखो व्यवहार नदेखाउन मान्छेलाई आग्रह गरिएको छ । कुहिरोलाई नकारात्मकरूपले सोची नराम्रो विम्बको रूपमा लिनु मानवीय भूल र प्रकृतिको अवमूल्यन सम्झिएको छ अर्थात् प्रकृतिलाई सकारात्मकरूपले हेर्नुपर्ने कुरामा जोड दिइएको छ ।

‘रोगग्रस्त समय’ कविताले मान्छेका कुरूप व्यवहारप्रति व्यङ्ग्य प्रहार गरेको छ । बंगुरे, भेडे, पातकी, साइकु, रिठे जस्ता बदमासहरूको जगजगी र बिगबिगीले भुन्टे, परौठे र उसासेहरू जस्ता मेहनती र परिश्रमीहरूको शोषण र उत्पीडन भएको राम्ररी दर्शाइएको छ यस कवितामा । यस कवितामा जनताको शोषण गर्ने ठूलाबडा र आडम्बरीहरूको खेदो खनिएको छ र तीव्र विरोध जनाइएको छ ।

‘साथी’ कविताले स्वार्थी साथीसित संगत नगर ज्यान जान सक्छ अर्थात् कल्पनै नगरेको धोका हुनसक्छ भन्ने सन्देश दिइएको छ । ‘यसपालि म घर जाँदा’ कवितामा गाउँ छाडी शहर पस्नेको होडमा गाउँ खण्डहरझैँ भएको चित्रण छ ।

‘अब कायर बन्दिन’ कवितामा आफूलाई आइपरेका चुनौतीसँग संघर्ष गर्ने दृढ प्रतिज्ञा छ । ‘नेताजी गाउँ फर्केर नआऊ’ कवितामा चुनाउमा भोट माग्दा आश्वासन बाँड्दै हिँड्ने, आफ्नो स्वार्थका लागि देशको अस्तित्व खतरामा पार्ने, देशघाती काम गर्ने नेता सांसदहरूको आवश्यकता पवित्र गाउँमा नरहेको अवधारणा राखिएको छ । ‘फर्किरहेको इतिहास चर्किरहेको घाउ’ कवितामा देश फेरि पञ्चायत शैलीमा फर्किरहेको इङ्गित गरिएको छ ।

‘देशको सीमारेखा खोज्दा’ कवितामा असीम देशप्रेम झल्केको छ । यसमा कविले देशप्रति असीम माया दशौउँदै देशघातीको विरोधमा आक्रोस व्यक्त गर्दछन्—

“यो देश
कसैका बाबुको विर्ता होइन
स्वाभिमान बेची
रगतको ल्याप्चे ठोकेर
मनपरी चलाउन
कुजातहरूलाई छोडेको
उपनिवेश होइन ।”

त्यही स्थिति आज पनि ज्यूँका त्यूँ रहेको छ । वास्तवमा मुलुकको हीतका लागि यस्ता क्रियाकलापहरूलाई विसर्जन गर्नैपर्दछ । ‘लुतो फाल्ने तयारी’ कविताले त्यस्ता क्रियाकलापहरूको विसर्जनमा जोड दिएको छ । देशका लुतोहरूमा गौरव गरिरहनुमा कुनै तुक छैन । यो देशप्रेमको सर्वोत्कृष्ट विचार हो । माटोको माया नगर्नेहरू जिउँदै मरेतुल्य हुन्छन् ।

अन्त्यमा भन्नुपर्दा, यस कविता सङ्ग्रहको काव्यशैली मिठासपूर्ण छ, सहज छ र कुनै नाराबाजी तरिकाले लेखिएको छैन । कविले संकटकालमा अनुभव गरेको विचारलाई कलात्मकतवरले प्रस्तुत गरिएको छ । संकटकालमा देशले भोगेका यथार्थ पीडाहरू पनि यसमा अभिव्यक्त भएको छ । देशप्रेम एवं चोखोप्रेमप्रति आशक्ति छ भने समाजका विकृति विसङ्गतिप्रति असीम घृणा छ कविता सङ्ग्रहमा । देशको प्राकृतिक सम्पदा र ग्रामीण परिवेशको यथार्थ तस्वीर खिचिएको छ कवितामा । शब्द चयन, वाक्यहरूको उचित संयोजनका साथै नयाँ नयाँ विम्बहरूको प्रयोगले यस सङ्ग्रहका कविताहरू सुन्दर भएका छन् । भाव र शैली दुबैले एक अर्कालाई राम्ररी पछ्याएका छन् । गद्य शैली भए पनि लयात्मकता छ । गीतहरू पनि भावुक र सहज छन् । कुनै कुनै कथात्मक कविताहरू रहेका छन् भने धेरैजसो मझौलाखाले कविता रहेका छन् । लामा कविता पनि निरस छैनन् । समयबोध, समयचेत भएकाले प्रगतिशील फाँटमा पनि यसले ठूलै गुण लगाएको छ । विचार निष्पक्ष छ र गालिगलौजको कतै गन्ध छैन । करुण रस, भयानक रस, वीर रस आदिको प्रयोग कुशलतापूर्वक निर्वाह गरिएको छ । यथार्थवाद, प्रकृतिवाद, फ्रायडवाद, रोमान्सवाद एवं प्रगतिवादी चिन्तन आदिको प्रयोग भएको छ ।

यस कविता सङ्ग्रहको बाहिरी कभर सामान्य नै छ अर्थात् कविझैँ सादा । तथापि ‘देश सधैँ रुने छैन’ भनी प्रत्येक पेजमा ठूल्ठूला अक्षरमा लेखिएकोले कतै कविताको शीर्षकसित ठक्कर लिन पुगी भ्रम सिर्जना गरेको छ । समग्रमा, यो कविता सङ्ग्रह सङ्ग्रहणीय र पठनीय छ ।

प्रकाशित : नयाँ युगबोध राष्ट्रिय दैनिक, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *