Skip to content

एक शिक्षकको आत्मवृतान्त

DineshSharma


म जाजरकोट जिल्लाअन्तर्गत जगतिपुरको पाखाभित्तामा जन्मेँ । सानैदेखि कठोर जीवनको अनुभव संगाल्न पाएँ । परिवारबाटै शैक्षिक वातावरण भेट्टाएँ । असल आचरण सिक्ने अवसर पाएँ । भौगोलिक वातावरणले बनाएको कठोरपनलाई परिवारजनको कोमल व्यवहारले जित्यो । फलस्वरूप म स्वय म पग्लदै गएँ र कोमल बन्न पुगेँ ।

मेरो मनमा आफू जन्मे, हुर्के र पढेको ठाउँका लागि केही न केही गर्नुपर्छ भन्ने भावना पलायो । आमूल क्रान्तिकारी कदम चालेर प्रचलित मूल्यमान्यताहरूलाई एकै पटक उल्टाउने सोच त कदापि बनाइनँ । यद्यपि समाजको खाँचोबमोजिम नवीन कार्य गरी गाउँको ऋणको भार कम गर्नुपर्छ भन्ने चाहिँ जरुर सोच्न पुगेँ ।

अर्कातिर मेरा दाजु सुदामप्रसाद शर्मा शिक्षण पेशामै थिए । त्यसैले पनि मेरो मनमा दाजुले थालेको अभियानको सहयात्री हुने रहर पलाएर आएको थियो । श्रीदुर्गा आधारभूत विद्यालय, जगतिपुरका प्रधानाध्यापक हुँदा समेत सामान्य शिक्षकको जस्तो खटेर र डटेर विद्यार्थी पढाउँथे । पुर्खाले आर्जेको खान्दानी इज्जत जाला कि भनी इमान्दारिताका साथ काम गर्थे । उनको कार्यशैलीको प्रभाव ममाथि पनि पर्न गयो । अर्थोक केही नभए पनि पुर्खाहरूले कमाएको प्रतिष्ठालाई जोगाएर राख्न सके नै आफ्नो जीवन धन्य हुने सोच्न पुगेँ । दुर्भाग्यबस विद्यालयकै कामकाजको सिलसिलामा बसको ठक्करबाट उनको कोहलपुरमा उपचारको क्रममा निधन भयो । गाउँका नानीबाबुहरूलाई आधारभूत तहको गुणस्तरीय शिक्षा दिई राष्ट्रको सुयोग्य नागरिक बनाउने दाजुको सपना बीचमै तुहिन पुग्यो । यस घटनाले मलाई मर्माहत तुल्यायो । उनको त्यस सपनालाई सफलीभूत पार्ने अठोट लिन पुगेँ ।

आफूले सोचेजस्तो नहुने रहेछ । शिक्षक बन्ने सोच हुँदाहुँदै पनि म एन.जी.ओ. को जागिरमा अल्झन पुगेँ । यद्यपि त्यस संस्थाका माध्यमबाट मैले समाजसेवामा समर्पित हुने ऊर्जा भेट्टाएँ । काम गर्दागर्दै मैले स्नातक पनि सिद्धयाएँ । संस्थामा मेरो प्रयोजन पनि समाप्त भयो । एक किसिमले म फुर्सदिलो भएँ । के काम गर्ने भन्दाभन्दै कोहलपुरमा निजी विद्यालयमा शिक्षकको रूपमा काम गर्ने अवसर भेट्टाएँ ।
पछि गएर दाजुको पसिना बगेको जगतिपुरकै श्रीदुर्गा आधारभूत विद्यालयमा राहत शिक्षक बन्ने मौका पाएँ । त्यस बखत मलाई दाजुको सपना साकार पार्ने अवसर मिलेको महसुस भयो । गाउँले अभिभावकहरूले ठूल्ठूला आशा राख्न थाले । उनीहरूको विश्वास जित्नु नै मेरो जीवनको अभीष्ट बन्न पुग्यो । त्यसका लागि मैले गाउँले पारा र लयले चल्नुपर्यो । उनीहरूको विश्वासलाई साकार रूप दिन सजिलो थिएन । उनीहरूको सोचलाई परिणाममुखी तुल्याउन सर्वप्रथम मैले उनीहरूको मन जित्नु थियो । विद्यालयमा आएका विद्यार्थीहरूलाई विविध शैक्षिक विधि र प्रविधिको प्रयोग गरी शिक्षण गरेर केही जान्ने र बुझ्ने तुल्याउन सके तिनका अभिभावकहरूको मन सजिलै जित्न सकिने ठहर गर्न पुगेँ ।

त्यहाँ कक्षा ६मा पढ्ने विद्यार्थीहरू समेत बाह्रखरी चिन्न सक्तैनथेँ । प्रधानाध्यापक मादकपदार्थ सेवन गरेर मात्र विद्यालय आउँथे । कक्षामा पस्नु नरकको यातना–गृहमा पस्नु बराबर ठान्थे । पढाउन चाहने शिक्षकलाई पनि कार्यालयमा बसाएर गफमा भुल्याउँथे । अभिभावकहरूको गुनासो एक कानले सुनेर अर्को कानले उडाइदिन्थे । हेडमाष्टरले पनि कहीँ पढाउँछ भनेर प्रतिप्रश्नको घोचो ठड्याउँथे । उनी कहिलेकाहीँ मात्र विद्यालय आइपुग्थे । नभए बाटामै उत्तानो टाँड लगाएर लडिरहेको भेटिन्थे । बाटो हिँड्नेहरू पनि यस माष्टरले आज कुकुरको मुत टन्न घिचेछ भनेर थुक्दै हिँड्थे ।

मुलतः त्यस विद्यालयका अधिकांश विद्यार्थीहरू गरिब परिवारका थिए । अन्य परिवारका बच्चाहरू नजिकैको निजी विद्यालयमा पढ्थेँ । शैक्षिक मामलामा अभिभावकहरू पनि बेहोसी थिए, त्यसभन्दा बढता विद्यार्थीहरू नै बेहोसी थिए । विद्यार्थीहरूभन्दा बढता त्यहाँको हेडमाष्टरले गर्दा शिक्षकहरू समेत बेहोसी थिए । म पनि त्यस बेहोसी हुलमा मिसिन पुगेको थिएँ । गाउँलेहरूमा आफ्नै गाउँको ठिटो माष्टर बनेर आएकोमा मर्न लागेको आशा र भरोसाको बिरुवा तङग्रिन थाल्नु स्वभाविक थियो ।

सर्वप्रथम मैले हेडमाष्टरलाई मति सुधार्न सुझाव दिएँ । उनले मादक पदार्थ सेवन गरेर स्कुल नआउने वचन दिए । केही दिन उनी सुधृए । यद्यपि गाँजा र चरेस लिएर आउन थाले । स्कुल पछाडि जङ्गल थियो । त्यहीँ गएर गाँजा–चरेस खाएर बहुलाउँदा रहेछन् । त्यसमा पनि अनेक विन्ती गर्दा नसालु ट्यावलेट प्रयोग गर्न थाले । उनी भन्थे– ‘मैले जाँड–रक्सी खाएकै छैन । गाँजा–भाङ खान पनि छाडिसकेँ । गाउँलेहरूमा विद्यालयप्रति नकारात्मक सोच नजन्मियोस् भन्नाका लागि सबै कुरा त्यागिदिएँ ।’

उनको पकेटबाट ट्याब्लेट हात पर्यो । उनको कथन झुट्टो ठहरियो । त्यसबेला उनले ओखती हो भनेर टार्न खोजे । यद्यपि त्यो अँझ घातक लागू पदार्थ थियो । एक पछि अर्को नशाा लिएर विद्यालयप्रति वेवास्थाको भाव राखेको पाउँदा हामी शिक्षक आजित भयौँ । उनलाई पन्छाउन पनि सकिन्थ्यो । किनकि उनी मात्र त्यहाँका स्थायी शिक्षक थिए । पछि उनलाई शिक्षा कार्यालय, जाजरकोटले झिकायो र माध्यमिक विद्यालयमा सरुवा गरिदियो । जिल्ला शिक्षा कार्यालयले मेरा बुबा नारायणप्रसाद शर्मालाई नयाँ प्रधानाध्यापक बनाएर दुर्गा आधारभूत विद्यालयमा पठायो । त्यसपछि भने हामी शिक्षकहरूले मिली अनेकौँ उपाय निकालेर विद्यार्थीहरू पढाउन थाल्यौँ । सबैले प्रत्येक दिन गृहकार्य दिन्थ्यौँ । भोलिपल्ट निरीक्षण गर्दा भेटिएका कमजोरी सुधारी दिन्थ्यौँ । गल्ती भएका ठाउँमा यहाँ यसकारण गल्ती भयो भनी सुझाव दिन्थ्यौँ । बेलाबेलामा अभिभावक डाकेर विद्यार्थीको अवस्था र सिकाइ प्रवृतिका बारेमा गहन छलफल गर्थ्यौं । अभिभावकहरू पनि उत्साहित देखिन्थे र छलफलमा सक्रियताका साथ भाग लिन्थे । उनीहरू आफ्नो मनसाय र सोचका बारेमा खुलेर कुरा राख्थे । कमजोरी महसुस गराएमा स्वीकार्थे । र, पुनः नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्थे ।

यसरी शिक्षक–अभिभावक मिली विद्यार्थी सपार्ने अभियानमा लाग्यौँ । नतिजा उत्साहजनक आयो । सेवाक्षेत्रभित्र पर्ने नजिकैको निजी विद्यालयबाट विद्यार्थी भित्रने क्रम दिनानुदिन बढ्न थाल्यो । एक किसिमले नजिकैको निजी स्कुल बन्द हुने अवस्था आयो । हामीले निजी विद्यालयमा जस्तै जिम्मेवार भएर पढायौँ । बेहोसी विद्यार्थीलाई होसमा ल्यायौँ । चारैतिरबाट अनुकूल व्यवहार भेट्टाउन सके जोसिला शिक्षकले शैक्षिक क्षेत्रमा कायापलट गर्न सक्ता रहेछन् भन्ने अनुभव भयो ।

हामी दुवै बाबुछोरा एकै विद्यालयका शिक्षक भयौँ । राम्रै थियो । एकाध मान्छेहरूले बाबुछोरा एकै स्कुलमा भए, अब विद्यार्थीहरूको पढाइलेखाइमा पो वेवास्था गर्लान् कि भन्ने आशङ्का गरेको गाइँगुइँ सुनिन थालियो । कसैलाई कुरा काट्ने अवसर किन दिनु भनेर म चाहिँ श्रीजनज्योति आधारभूत विद्यालयमा सरुवा भएँ । त्यहाँका विद्यार्थीहरू सतप्रतिशत दलित परिवारका थिए । शिक्षकहरू भने मन मिल्ने खालका थिए । अभिभावकहरूको भेला गराइयो । हामीले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने काइदाहरू बतायौँ । त्यहाँका अभिभावकहरू अँझ बेहोसी थिए । हाम्रा कुराले उनीहरूले बच्चा पढ्ने ठाउँ विद्यालय मात्र नभई घरपरिवार पो महत्त्वपूर्ण ठाउँ रहेछ भन्ने बुझे । विद्यालयका गुरू माष्टरहरू भए पनि घरपरिवारका गुरु आफू स्वय म रहेछौँ भन्ने निष्कर्ष निकाले ।

त्यस भेला पछि सबै विद्यार्थीहरू कापी–कलम र किताबसहित आउन थाले । स्थानीय संघ–संस्थाहरूले विद्यालयलाई चाहिने शैक्षिक सामग्री र भौतिक पूर्वाधार विकासमा जाँगर चलाए । शैक्षिक वातावरण दिनानुदिन सप्रियो । काम गर्दै थिएँ । त्यसैबेला शिक्षक सेवा आयोगले आधारभूत तहको शिक्षक पदको आवेदन माग गर्यो । पूर्वाञ्चल क्षेत्र भूकम्पबाट सुरक्षित, बाढी–पैह्रोको भय पनि कम हुने र जताततै यातायातको पहुँच पुगेको सुगम क्षेत्र ठानेर त्यतैबाट फारम भरियो । नभन्दै अहिले सिरहा जिल्लाको कर्जन्हा नगरपालिका–११स्थित श्रीजनसेवा मा.वि.मा सामाजिक शिक्षकको रूपमा २०७४ असार २३ गते हाजिर भई कार्यरत् छु ।

र, अन्त्यमा

विद्यालयका प्रधानाध्यापक गलत भए पनि जाँगरिला शिक्षक भए शैक्षिक उन्नयन सम्भव छ । नियमित गृहकार्य दिई निरीक्षण गर्न सके विद्यार्थीहरूको शैक्षिक सुधार तीव्र गतिमा हुन्छ । विद्यार्थीहरूले विद्यालयमा आफ्नोपन पाए उनीहरू नियमित हुन्छन् । बेलाबेलामा अभिभावक भेला गरी आपसमा छलफल गरे विद्यार्थी सपार्न सहयोग पुग्छ । खराब चरित्रका बच्चाहरू समाजका बोझ हुन् । असल चरित्र भएकाहरू चाहिँ समाजका भविष्य हुन् भन्ने सोची कर्मपथमा जुधिरहे शैक्षिक विकास गर्न समय लाग्दैन ।

दिनेश शर्मा, जगतिपुर, जाजरकोट
शिक्षक, श्रीजनसेवा मावि, कर्जन्हा–११, सिरहा
मो. नं. ९८६८१३१८७०
२०७४।०५।१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *