मेरो भाग्य मेरो देशमा रचिंदैछ रे अब
लोकतन्त्रको ठुलो खम्बा गाडिंदैछ रे अब
अन्धकारको कालो कोठरीवाट मेरो देश निस्कँदा
कालो रङ्ग पोत्नेको भविष्य बन्द हुँदैछ रे अब
सिस्नो पानी खाएर वनेको मेरो पुष्ट शरिरले
सपुतको सपना पुरा गर्दैछ रे अब
चन्द्र सूर्यलाई अँगालेको मेरो देशको झण्डाले
मेरै लागि उज्यालो दिन ल्याउँदैछ रे अब
सतिले सरापेको भनिने मेरो देशले
उनकै सपना पुरा गर्दैछ रे अब
मरुभूमिको घाम खाएर वनेको मेरो ज्यानले
मेरो देशको चार किल्ला कोर्दैछ रे अब
युद्धै युद्धको रणभूमि भएको मेरो देशले
शान्तिको बिगुल फुक्दै छ रे अब
मेरो देशको भविष्यको चित्रण गर्न
देवताहरुको बैठक बस्दैछ रे अब ।
