Skip to content


म त्यहीं छु
जहाँ, झ्याल बाहिर पुसको हिउँ फुस्फुसाउँछ
कतै नडुलाउँ भनेर रोकेको नजर
हिउँको बिस्कुनमा पोखिन्छ
यही बेला आमा भन्दिहुन,
“कठै यो जाडोमा मेरो कान्छा !”
आमाले जस्तै
कुनै उपमा दिएर
कठै भन्दै संम्झिएको धेरै भयो
खड्किएको धेरै भयो
तिमीले बिर्सिएको न्यानो माया
सिरकभित्रको तापले के पुर्ती होला र ?

रातले शित छर्दै गर्दा
एकछिनपछि, पोखिने उषाले, धर्ती चुमेपछि
फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे,
यी छातीमा सवार प्रेमको डुँगा
छायाँ प्रेममा हलचल हलचल तैरिएर त हो
मेरो ओठको उष्ण बाफ र
बाहिरको चिसो हावाले
एकै चोटी स्पर्श गर्दा
छार्लाम्छुर्लुम फुटे
म नजिकैको सिसाको झ्याल जस्तै
मेरा प्रेम महलहरू

माथि लेक, त्योभन्दा माथि सिद्धीमा
बुकी फूलले विरह गाएको बेला,
प्रेमको वसन्त ल्याउन
नजिकैको गुम्बामा
सुनपाती चढाएको हुँ
सुक्पाको सुगन्ध फैलाएको हुँ
नेपथ्यमा कसैले गाएको सेलो
त्यो मेरो लागि थियो
प्रकृतिले फुस्स फुस्स मणिभ जन्माउदा
दुर्भाग्य!
एक झोक्का सिरेटो थपियो त्यही
मैले भगवानलाई छुवाएर दुई हातले उठाएको खदा
कसैको गलामा सजिनु पूर्व
बेसन्देश किन रुखमा अल्झिएर फर्फराइरहयो
मैले औँलामा च्यापेर उठाएको एक चिम्टी सिन्दुर
आँधीको यात्रामा किन फ्यास्स पोखिएर उड्यो
कति सोधौँ, कति सोधेँ, केही भन्दैन यो ओसिलो सिरानी
बरु
हिउको माम्री मुनी हजारौका खुट्टाहरुले कुल्चिएको
सिन्दुरको अस्तित्वले बताउँछ
ओसिलो सिरानी न हो
तिम्रो न्यानो मायाको निसानी

कोइली बास्ने बेला,
कोही नतड्पे हुन्छ सम्झनामा
चेरी फुल्ने बेला,
कोही नल्ठिए हुन्छ वासनामा
जीवन जिउनुको तात्पर्यता यही भयो मेरो,
चोखो प्रेमको भिखारी
कठाङ्ग्रिएर चिसो खाडलमा
निसन्देह लम्पसार हुँदा
मुहार हेर्न, कफन हटाएर फूल दिए
त्यो पनि म रातो गुलाब सम्झेर स्वीकारुँला
त्यस उप्रान्त !!!
मेरो याद आए, जाउ माथि हामी भेट्ने चौतारीमा
जहाँ एउटा शीलाढुङगा छाडेको छु
कुनै तिथि र मितिको अवश्य ज्ञात होला
म त्यही छु !!!!

बुद्धि मोक्तान
त्रिवेणी गा पा -५, (चागे -३), ताप्लेजुङ्
(हाल म्यारील्याण्ड अमेरिका )

Leave a Reply

Your email address will not be published. Required fields are marked *