Skip to content

महाकवि तपाईंका चरण छुन्छु

महाकवि,
तपाईंलाई हार्दिक नमन र सम्मान छ
पाल्नुहोस् कविताको खेतीमा यहाँलाई स्वागत छ
तपाईंको स्वागतमा आज म तयार हुन्छु
आउनोस् महाकविज्यू म तपाईंका चरण छुन्छु ।।

मैले सिक्नु छ कविता रोप्न
तथास्तुको वरदान दिनुहोस्
मेरा कवितामा भएको हिलो मैलो धुन्छु
आउनोस् महाकविज्यू म तपाईंका चरण छुन्छु ।।

कविताहरुमा बियाँ तेसै छन्
पोगटा त्यसै छन्
छिन्किएर केलाउनु परेको छ
एकातिर पोगटा र बियाँ चुन्छु
आउनोस् महाकविज्यू म तपाईंका चरण छुन्छु ।।

केही भयो सारै टाक्सियो कविता
सारै खुम्चियो कविता
सकेसम्म कवितालाई फैलाउनु परेको छ
कवितालाई फैलाउन
अरु केही नभए पनि एक कन्था तुन्छु
आउनोस् महाकविज्यू म तपाईंका चरण छुन्छु ।।

कविताको ब्याडमा झार उम्रिएका छन्
वनमारा पलाएका छन्
कविता रोप्ने खेतमा भलले गेग्र्यान हुलेको छ
कविताको बारीमा कालीपोके फुलेको छ
कविताको गराहरुमा पैरो खसेको छ
सकेछु भने भलको मुहान थुन्छु
आउनोस् महाकविज्यू म तपाईंका चरण छुन्छु ।।

भावनाको खोलामा कल्पनाको बल्छी खेलेको सुनिदैछ
माछालाई झैं चारोको लोभमा
कवितालाई बल्छीमा उनीदैछ
सकेंछु भने तिनलाई हाल्ने तुरुङ बुन्छु
आउनोस् महाकविज्यू म तपाईंका चरण छुन्छु ।।

भन्दिन म यो कविताको खेती पनि के खेती
नसम्झनु होला कवितामा रुख्यान पसेको देखेर
अचेल म बलिन्द्र धारा बगाएर रुन्छु
आउनोस् महाकविज्यू म तपाईंका चरण छुन्छु ।।

बरु कवितालाई म राम्ररी स्याहार गरेर
माली गाईबाट अमृत दुहेझैं दुन्छु
आउनोस् महाकविज्यू म तपाईंका चरण छुन्छु ।।

आउनोस् महाकविज्यू
म तपाईंका चरण छुन्छु ।।

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *