शार्दूलविक्रीडितः
मैले जीवनमा अनेक सपना देखेर के हुन्छ र
तिम्रो दृष्टि विना असङ्ख्य कविता लेखेर के हुन्छ र
वीणा पुस्तक धारिणी हजुरकै त्यो एक आधार छ
तिम्रा शुभ्र पवित्र ती चरणमा मेरो नमस्कार छ ।।
मन्दाक्रान्ताः
माता तिम्रो स्मरण नगरी फेरि के लेख्न सक्थें
तिम्रो छाया नजिक नभए पाउ के टेक्न सक्थें
आऊ आऊ हृदयबिचमा बास गर्दै रमाऊ
नौला नौला सृजन म गरुँ हात मेरा समाऊ ।।
शिखरिणीः
म भाषामा नौला सृजन अझ गर्थें कि कसिला
कृपा पाए माता सृजन हुन सक्थे कि रसिला
न छन् शैली मेरा चमक र कलायुक्त सुकिला
कृपा पाए माता सृजन हुन सक्थे गहकिला ।।
होम सुवेदी
