Skip to content

मेरो देश भूपरिवेष्टित या भारतवेष्टित ?

विश्व मानचित्रलाई नियाल्ने हो भने मेरो देश सिन्धुमा हराएको बिन्दु जस्तै लाग्ला । भौगोलिक हिसाबले सतहीरूपमा हेर्दा सानो जस्तो लाग्ने मेरो देश नेपाल वास्तवमा सानोभन्दा पनि मूल्यवान् छ ।

मलाई वस्तु जत्ति सानो उत्ति मूल्यवान् हुन्छ भन्ने लाग्छ । कुनै पनि वस्तुको मात्राले त्यस वस्तुको मूल्यसँग व्युत्क्रमानुपातिक सम्बन्ध कायम गरेको हुन्छ । सुन थोरै छ, मूल्यवान् छ, हिरा धेरै कहाँ छ र, त्यसको मूल्य आकाशीयकै छ । आँखाको नानी सानै हुन्छ, कति बहुमूल्य छ । कलमको टुप्पो सियो जस्तै मिहिन छ, तर कति महिम छ, जसले एउटा युग परिर्वतन गर्न सक्छ । मान्छेभित्रको मुटु कति नै पो ठुलो हुन्छ र, जसले एउटा सिङ्गो जीवन धानेको हुन्छ । सांस्कृतिक र प्राकृतिक सुन्दरताको अलकापुरी मेरो देश एक अनुपम राष्ट्र हो । विधाताले आफ्नो सम्पूर्ण कला खन्याएर सजाएको मेरो देश सोर शृङ्गारले सजिसजाऊ पारेर विवाहमण्डपमा राखिएकी एक शोडषा युवती जसरी धपक्क बलेको छ । मेरो देशको मनोहारिता हेर्दा जोकोहीले पनि यसलाई पृथ्वीको स्वर्ग नभनिरहन सक्दैन । हो, यही स्वर्ग आज असुरको अङ्गुलको चङ्गुलमा अल्झेको छ । यसको भौगोलिकता वरदान र अभिशाप दुवै बनेको छ ।

तिनतिरबाट विशाल भारतरूपी कोब्राले बेरेको र उत्तरी मोहोडाबाट भीमकाय चीनले चपेटामा होलेको मेरो देश एक बफर स्टेट हो । शब्दान्तरमाभन्दा समुद्रले नछोएको एक भूपरिवेष्टित देश । आजको उत्तरआधुनिक आँखाले हेर्दा यो मान्यतामा खिया लागेको देखिन्छ । छिमेकी मुलुक भारतले मेरो देशलाई गिद्धको पञ्जाभित्र रहेको एउटा कुुखुराको चल्ला जस्तै बन्दी बनाएको छ । यहाँका हरेक क्षेत्रमा उसकै दबदबा र हालीमुहाली देखिन्छ । झट्ट हेर्दा मेचीकालीको परिसीमाभित्र आबद्ध मेरो देश भारतको अतिक्रमणले गर्दा सीमाहीन सीमामा सीमित भएको छभन्दा फरक नपर्ला । अहिलेसम्म कसैको गुलाम नबनेको विश्वको एक मात्र देश हो नेपाल । यही गौरवभित्र जोडिएको एक रौरव हो यसको सीमा विवाद । अहिले मेरो देश सीमा विवादको दलदलमा भासिएको छ । यसले एकातिर सार्वभौमिकतामाथि नै प्रश्न चिह्नको कालो बादल मडारिएको छ भने अर्कातिर अधिकारको लागि एक भएर राष्ट्रभक्ति र स्वाभिमानको कसी लगाउने अवसर पनि आएको छ ।

हुन त होचाकी जोई सबैकी भाउजू भने झैँ भारतको बलमिच्यार्इँका कारण नेपालको सीमा अस्तित्व सधैँ खतराको कृष्णछिद्रभित्र रहिरहेको छ । सीमाका अनगिन्ती घाउ बोकेर मेरो देश बाँचिरहेको छ । भारतको अतिवादका कारण कहिले पशुपति जिस्कन्छ त कहिले सुस्ता चस्कन्छ अनि कहिले कालापानीले मुटु झस्कन्छ । भूगोल, जनसङ्ख्या र सैन्य सामर्थ्य कम भएको मुलुक मेरो देशसँग भारत पौँठेजारी खेलिरहेको छ । भारतले दादावाद देखाइरहेको छ । सीमा विवादका कारण तरबारदेखि तारबार अनि पिल्लरदेखि पर्खालसम्मका कुरा बेलाबेलामा सडकदेखि सदनसम्मै नउठेका होइनन् तर कूटनीतिक पहलमा नेपाल सधैँ कमजोर साबित हुँदा यो समस्या मुटुको किलो बनेर रहेको छ । समस्या सुल्झिनुको सट्टा झन्झन् बल्झिएको छ, उल्झिएको छ अनि कुल्चिएको र उकल्चिएको पनि छ ।

नेपालभारत सीमा भन्नेबित्तिकै सन् १८१६ को सुगौली सन्धि सम्झनु पर्छ । ब्रिटिस इन्डिया र नेपालबीच भएको यो सन्धिअनुसार कालापानी क्षेत्रको झन्डै ३७४ वर्ग किमी. भूभाग नेपालको भएको स्पष्ट प्रमाण छ । यही सन्धिको बन्दी बनाएर भारतले मेरो विशाल नेपालको धेरै भूभाग सर्पले भ्यागुतो निले जस्तै निलेको छ । त्यसबेला पूर्वको शिर र पश्चिमको घुँडासम्म काटिएको नेपालले तराईको उर्वर भूभागको शक्तिशाली हात अनि मुटुरूपी माटो गुमायो ।

सन् १९५० को नेपालभारत शान्ति तथा मैत्री सन्धिले टीकाएको अनि रोटी बेटीले बिकाएको भनिने सीमा बारबार लगातार विवादमा आइरहेको छ । अहिले सन्धिहरूकै वैधानिकता र अस्तित्वमाथि यक्ष प्रश्न मडारिइरहेका बेला प्रबुद्ध नागरिक समूह (इजिपी)ले सीमा विवादको समाधानमा काम गरिरहेको छ । यस्तोमा मेरो देश कहाँ चुकेको छ, किन झुकेको छ र किन डम्मरु भएर पनि लुकेको छ ओढारमा ? आफ्नो अधिकार खोज्नका लागि पनि मेरो देशको सम्बन्धित पक्ष किन सुस्ताएको छ ? किन सन्ध्याको सूर्यझैँ अस्ताएको छ, अनि किन महान् लक्ष्य लिएर बीचमै मस्ताएको छ, म बिलखबन्दमा परेको छु ।

सीमा विवादको जड खोज्ने हो भने नेपाल एकीकरणकताका पुग्नुपर्छ । यस अभियानले वि.सं. १८६३मा अमरसिंहसम्म आइपुग्दा मेरा देश टिस्टदेखि त्रिगर्तसम्मको सिमानामा अखण्ड नेपाल बनेर रहेको थियो । यसरी पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीपारि काँगडासम्मको विशाल नेपालको रचना समरका बाघ मेरा पुर्खाबाट सम्भव भएको थियो । वीर पुर्खाले आर्जेको यस विशाल नेपालमाथि दुर्भाग्य तब सुरु भयो जब १ नोभेम्बर १८१४का दिन इस्ट इन्डिया कम्पनीका गभर्नर जनरल हेस्टिङले नेपालविरुद्ध विधिवत् रूपमा युद्धको घोषणा गरे । यही कालरात्रिले नै आजको सीमा विवादको अभिशाप बनेर बीजाङ्कुरण गर्यो ।

सीमा विवाद चीनतिर पनि नभएको होइन तर यतिबेला भारततिरका पचासौँ ठाउँमा भएको अतिक्रमणले उत्कर्षको आरोहण गरेको छ । पहिला भारततिरको विवाद सुल्झाएर चीनतर्फ आउनु पर्ने बाध्यता भारतले नै खडा गरेको छ । नेपाल र भारतको सीमा विवादले सीमा नाघेकै बेला पञ्चायतकालीन एक वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले कालापानीमा भारतीय सेना राख्न नेहरुले राजा महेन्द्रलाई पत्र लेखेको बताउँछन् । फलस्वरुप सन् १९६२ को भारतचीन युद्धमा हारेपछि हिस्दुस्तानले सामरिक महत्त्व बोकेको त्रिदेशीय बिन्दु कालापानी कब्जा गरेको हो ।

सन् २०१५मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङमा नेपाललाई सूचना नै नदिई सीमा व्यापारसम्बन्धी समझदारी गरेका थिए । यसमा नेपालले असन्तुष्टि व्यक्त गर्यो कूटनीतिक नोट पनि पठायो तर त्यसलाई भारतले बेवास्ता गर्यो । विवादको नयाँ सिलसिला गत वैशाख २६ गते शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले सुरु गरे । उनले रहस्यमयी शैलीमा फेसबुकमार्फत् नेपाली भूमि लिपुलेक मानसरोवर यात्रासडक उद्घाटन भएको जानकारी दिए । यसैबाट विवाद पेट्रोलमा लागेको आगो जसरी फैलियो ।

सीमा विवादको प्रमुख कारण काली नदीको उद्गमस्थललाई लिएर पनि हो । पहिला यसबारेमा स्पष्ट हुनुपर्छ भन्ने मलाई लागेको छ । यस सम्बन्धमा ब्रिटिस सर्भेअर अफ इन्डियाले १८२७मा गढवाल कुमाउ नाम दिएर एउटा नक्सा छापेको रहेछ । त्यस नक्सामा लिम्पियाधुराबाट निस्किएको नदीलाई नै कालीनदी भनेर प्रष्टसँग उल्लेख गरिएको छ । यसबाट पनि नदीपूर्वको सम्पूर्ण क्षेत्र नेपालको भएको प्रमाणित हुन्छ । त्यसैगरी सन् १८५६मा भारतको सर्वेक्षण विभागले नै प्रकाशित गरेको नक्सामा शीर्षक नै नेपाल एन्ड कन्ट्रिज एडजोइनिङ टु दि साउथ वेस्ट एन्ड इस्ट कम्पाइल्ड इन द अफिस अफ सर्भेएर जेनरल अफ इन्डिया लेखिएको छ । यो नक्साको नोट नं. ३मा जङ्गबहादुरले नेपाली हाते कागजमा बनाएको नक्साको विवरणमा पनि लिम्पियाधुराबाट निस्केको नदी नै काली भनेर लेखिएको छ । भारतले भने यसलाई नमानेर एउटा पहाडबाट निस्केको सानो तिरतिरे खोलालाई कालीनदी मानेको २०७६ पुस १७ को कान्तिपुरमा उल्लेख छ ।

सार्करूपी सौर्यमण्डलमा भारतले आफूलाई विशाल र शक्तिशाली सूर्य सम्झन्छ । सम्पूर्ण सार्क राष्ट्रहरुलाई त्यसकै वरिपरि घुम्ने नियन्त्रित र निरीह ग्रह मान्ने गरेको उसकै व्यवहारले पुष्टि गरेको छ । साना राष्ट्रहरूको अस्तित्वलाई फुटेको आँखाले पनि देख्न नसक्ने विस्तारवादी र नव उपनिवेशवादी नीतिको जगमा भारतले ज्यादती गरेको छ । शस्त्रबलको आडम्बरमा धम्कीपूर्ण भाषा मात्र होइन सीमामा हुने बलात्कार, हत्याहिंसा र मारपिटका घटना बिरालाको ख्यालख्याल मुसाको ज्यान जस्तै भइरहेका छन् । एउटा उदाहरण या भनौँ हेपाहा प्रवृत्तिको नजिरका रूपमा रहेको प्रतिनिधि घटना कञ्चनपुर काण्डलाई लिन सकिन्छ । ०७३ साल फागुन २६ गतेको कालो दिन । मेरो भूमिमा भारतले निर्माण गरेको कलभर्ट भत्काउन पुगेका कञ्चनपुरको पुनर्वासका गोविन्द गौतम भारतीय एसएसबीको तातो गोली निल्न विवश भई शहीद भएका एक पात्र हुन् ।

अन्तर्राष्ट्रिय कानून मिचेर सीमावारि बर्दीमै आउने भारतीय भैयाको रवैया अनि वैरीका बुटले मेरी आमाको छातीमा टेक्दा मेरो रगत उद्वेलित हुन्छ । आक्रोश र बदलाको भावनाले आकाश छुन्छ । तिनै दुर्योधनले कति निरीह द्रौपदीको आमाबुबाकै आँखाअघि चिरहरण गरेका छन् । कतिका सिउँदो पुछे, कतिका कलिला मुना निमोठिदिए भने कति बाबुआमालाई बुढेसकालमा बेसहारा बनाइदिएका छन् । सीमामा हुने चोरी तस्करी र कालो बजारीको कुनै लोखाजोखा नै छैन । दुर्लभ वन्यजन्तुको चोरी सिकारीदेखि बहुमूल्य जडीबुटी अनि मृगौला तस्करी र चेलीबेटी बेचबिखनका संवेदनशील घटना पनि आज सामान्य जस्ता भएका छन् । पाँच पाण्डवझैँ सरकार केवल मूकदर्शक बनेको छ । सीमास्तम्भ हराउँदै जाने, भारतबाट एकतर्फी रूपमा सीमा खडा गर्ने, अतिक्रमण गर्ने र नेपालभित्रका निर्माण कार्यमा अवरोध पुर्याउने काम कुनै नौलोपौलो विषय होइन । त्यसैले त मलाई सानो नेपालभित्र विशाल भारत घुसे जस्तै लागेको छ, अनि रक्तपिपासु बनेर चुसेजस्तै लागेको छ ।

सुस्ताबासीलाई भारतीय भन्न बाध्य पारिँदा पनि वास्ता नगरिनु र राज्यबाटै आफ्ना नागरिक उपेक्षित रहनु किमार्थ उचित होइन । यस्ता मामलामा सत्तामा आसीन र उदासीन नेपाली प्रशासन बेखबर हुन्छ । वीर नेपालीको स्वाभिमान कुनै कागजी नोट र गिलासको विलाससँग साटिँदैन भन्ने राम्रैसँग बुझेको भारतीय प्रशासनले सामदामदण्ड र भेदको नीति अँगालेर अनेपाली बनाइसकेको छ । अँझै कतिले राष्ट्रभक्तिको नारा लगाइरहेकै छन् । उनीहरूको क्रन्दन र करुण आर्तनाद फगत अरण्य रोदन मात्र बनेको देख्दा मेरा आँखामा कोसीको छाल छचल्किन्छ ।

भारतको सानो राष्ट्रपतिको हेपाहा प्रवृत्ति भूकम्पले थला परेको नेपाललाई नाकाबन्दीको सिकार बनाउने रणनीतिबाट स्पष्ट हुन्छ । त्यसैले भन्न मन लाग्छ भारत हाम्रा लागि अनिवार्य, अपरिहार्य र बाध्यताको छि ! मेकी हो । ब्रिटिसको पञ्जाबाट अस्ति भर्खर जन्मेको भारत मेरो देशभन्दा सानो छ तर पनि भाषिक, धार्मिक, भौगोलिक र सांस्कृतिक सिमानाको अतिक्रमण गरी नेपाललाई खोक्रो बनाउने कुनीति भारतको कालो यथार्थ नै हो । दिनप्रतिदिन भावनाका सीमाहरू मिचेको कसले देख्ने ? बुद्धलाई विवादमा तानेर नेपालको धार्मिक पर्यटन भताभुङ्ग पारेको छ तर विस्तारवादको अन्त्यको घोषणा गरेका मोदी आफैँले आफैँलाई उडाइरहेको जस्तो मलाई लागेको छ । भारतमा नक्कली लुम्बिनी खडा गरेर सम्राट अशोकमाथि भारत आफैँले अन्याय र अपमान मात्र गरेको छैन आकाशमा थुक्दा आफ्नै मुखमा छिटा परेको कहिले बुझ्ने ?

भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीको रगत र पसिना परेको छ । अँझै मेरो देशका जङ्घे पिल्लररूपी युवाहरूले भारतमाताको रक्षार्थ आफ्नो प्राणाहुति दिएकै छन् । विश्वमै मृत्युञ्जय मानिने मेरो गोर्खा सेनासँग काल पनि डराउँछ । अपरेसन खुकुरीका नाममा नेपाली सेनाले पराक्रमी सेनाको दर्जा पाएको छ । आतङ्कवादलाई रोक्न, देशभित्र भइरहेको मनोमालिन्यलाई समाल्न अनि भिआइपीको सुरक्षामा नेपाली सेनाको प्रयोग गरिन्छ । विभिन्न कमान्डोमा रहेर तथा गोर्खा रेजिमेन्टका नाममा मेरो देशका दाजुभाइले भारतमा सेवा गर्दै आइरहेका छन् । त्यस्तै चन्द्र शमशेर प्रधानमन्त्रिरहँदा भएको प्रथम विश्वयुद्ध होस् वा जुद्ध शमशेर हुँदाको दास्रो विश्वयुद्ध नै किन नहोस्, ब्रिटिस गोर्खाका नाममा नेपाली सेनाले रगत बगाएका र बहादुरी देखाएका छन् । पोखरा बैदामका विष्णु श्रेष्ठले देखाएको बहादुरीले सौर्य चक्रको चर्चा पायो भने उता ३० जना तालिबानी लडाकुलाई एक्लैले सत्यनाश पार्ने दीपप्रसाद पुन तथा विभिन्न बहादुरीमा कुलवीर रानामगर र कर्णबहादुर रानामगर जस्ता धेरै भिक्टोरिया क्रसले सम्मानित भए । के त्यो बहादुरीको मूल्य एउटा व्यक्तिसम्मान मात्र हुन सक्छ ? जन्मभूमिले उसप्रति कुनै गुन लगाएको छैन ?

गोर्खालीको वीरताको ढोलसँगै लाखौँ नेपालीको विश्वयुद्धमा मृत्यु भयो । यसको बदलामा मेरो देशले के नै पायो र ? त्यसैले ब्रिटिस सेनामा भर्नाका नाममा नेपाली युवाको घुमाउरो बेचबिखन नै हो । शारीरिक र मानसिक तनाव झेलेर कठोर तालिम गर्नु पर्ने बाध्यता एकातिर छ भने अर्कातिर विदेशका लगि आफ्नो सारा खुसी न्यौछावर गर्नु परेको छ । अँझ विडम्बनाको कुरा त नेपालीलाई युद्धमा वीरताभन्दा पनि विदेशी नागरिकका हिसाबले अग्र पङ्क्तिमा राख्ने गरेको पाइन्छ । रगतको भेटी स्वदेशलाई नभई परदेशलाई चढाउनु परेको तितो यथार्थ हाम्रो सत्य हो । यसको बदलामा मेरो देशले अपमानबाहेक केही पाएको छैन ।

जबजब चुनावको सरगर्मी बढ्छ तबतब मात्र भारत विरोधी हत्कन्डा अपनाएर खोक्रो राष्ट्रवाद पस्कन नेपाली नेता माहिर छन् । नेपालका संवेदनशील विषयमा चुनावी मुद्दा बनाउँदै आएका र मिठामिठा भारतविरोधी नारा लगाएर मौसमी राजनीति गर्ने नेताबाटै मेरो देश बतात्कृत भएको छ । छेपाराले जस्तै राजनीतिको रङ बदल्ने नेताहरू सत्तापिपासु मात्रै भएको देखिन्छ । कठै ! यो लाजनीति । धिक्कार छ नेपालका लाजनेताहरूलाई ।

नेपालको परराष्ट्र मन्त्रालयलाई सीमामा केके भइरहेछ भन्ने पनि थाहा नै हुँदैन । आखिर यो निरीहता कहिलेसम्म ? परराष्ट्र मन्त्रालयले जारी गरेको नक्सामा कालापानी नेपालको हो त भनिन्छ तर कारण र यथेष्ट प्रमाण समयमै खुलाउन किन सकिँदैन ? कूटनीतिक पहल खै ? ढिलो न्याय अन्याय नै हो । यथाशीघ्र काम गर्न नसक्नु नै असफलताको सङ्केत हो । पहिला न्वारान गरेर बच्चा जन्मिन्छ ? नक्सा मात्र जारी गर्नु समाधान होइन । हातमा पुर्जा लिएर भारतलाई कहिलेसम्म कुर्नेस हान्नु पर्ने ? किन अल्झेको छ मेरो देश अक्टोपसको अँखेटामा ? राज्यको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र सेनालाई किन सीमावर्ती क्षेत्रमा आवश्यकताअनुसार परिचालन गरिँदैन ? विभिन्न वाहना बनाएर छोड्नु गम्भीर विषय हो । नेपाली राजनीतिका पण्डितहरुबाट मौसमको खराबी देखाएर मनको मौसम बदल्ने काम भइरहेको छ ।

साम्राज्यवादी विशाल बेलायतसँग कसरी लड्यो नेपाल ? आत्मसमर्पणको व्योहोरासहित आएको चिठी दूतका अगाडि च्यातेर यसको जबाफ युद्धमा दिनेछु भन्ने उत्तर दिने नेपाली शैलीमा अदम्य साहस आजका नेपालीमा कहाँ छ ? स्यालको सिकार गर्न बाघको तयारी गर्नू भनिन्छ । कठै ! मेरो देश आइमाई केटाकेटी लिएर जम्मा ६०० जनाले नालापानीमा ३५००भन्दा बढीलाई हायलकायल पारेका थिए । अँझ तोपका ताता गोलासँग खुकुरी र खुँडाले लडेको युद्धलाई कम आँक्नु केवल मूर्खता साबित हुन आउँछ । देहरादुन खलङ्गाको युद्धस्मारक शत्रु पक्षको सम्मानमा विजयी सेनाले निर्माण गरेको सुन्न पाउँदा मेरो छाती गर्वले ढक्क फुल्छ । यसबाट पनि नेपालको युद्धकौशल कस्तो थियो भन्ने प्रमाणित हुन्छ ।

सीमा सम्बन्धी समस्याको सामाधान ऐतिहासिक दस्तावेज एव म तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा नेपाल दृढ रहेको परराष्ट्र मन्त्रालयले ०७६ को कार्तिक २०मा प्रकाशित विज्ञप्तिमा भनिएको छ । तैपनि अँझसम्म सुगौली सन्धिको सक्कली प्रति देखाउन नसक्नुले देशको कार्यशैली र क्षमतामै प्रश्न उठेको छ । अब मेरो देशले अहिले विवादित सीमामा मात्र अल्झनु हुँदैन, यसका साथसाथै विशाल नेपालको मुद्दालाई उठाउनु पर्छ । यसका लागि हामीसँग धेरै आधारहरू रहेका छन् ।

नेपाल बेलायती उपनिवेशमा गाभिएकाले उपनिवेश नै खारेज भएपछि सम्बन्धित भूभाग सम्बन्धित देशले पाउनु सामान्य तर्क शास्त्रको कुरा पनि हो । भारतमा ब्रिटिस आउनु अघि पाकिस्तान बेग्लै देश नभएर इन्डियाकै उपनिवेशको अङ्ग थियो । उसले लडाइँ लडेर छुट्टै देशको हैसियत पायो । उता भारतले पनि लामो समयसम्म पोर्चुगलको उपनिवेश रहेको गोवा फिर्ता लिएको इतिहास साक्षी छ ।

सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिको धारा ८मा स्पष्ट शब्दमा नेपाल र ब्रिटिसबीचमा भएको यस अघिका सबै सन्धि सम्झौता एव म समझदारीहरू रद्ध हुन्छन् भनिएको छ । यसको अर्थ यसले सुगौली सन्धिलाई पनि खारेज गरिदिएको छ । त्यही सन्धिका धारा ६ र ७ भारतले उपयोग गर्ने तर ८ औँ धारा किन उपेक्षा गरिरहने ? भारतका एक जना इतिहासकारले १९५०का सन्धिका बारेमा लेखेका छन् – “यो भारतको पोलिटिकल ब्लन्डर हो । जतिबेला नेपालले यो भूमि दाबी गर्छ, त्यतिबेला भारतसित आफ्नो शक्ति प्रयोगको भाषा बोल्नुबाहेक अर्को विकल्प रहँदैन ।”

त्यही वर्ष अक्टोबर ३०मा बेलायतसँग पनि अर्को सन्धि भएको छ । जसको उद्देश्य विगतका सन्धि खारेज गर्नु थियो, जुन कुरा प्रतावनामै स्पष्ट लेखिएको छ । यसको अर्थ बेलायतका तर्फबाट पनि सुगौली सन्धि खारेज भएको छ । बेलायतले पनि घुमाउरो पारामा नेपालको भूभाग फिर्ता गर्ने आधार तयार गरिदिएको छ । यसको रहस्य नेपालका डेढ अक्कली कूटनीतिज्ञले कहिले बुझ्ने ?

संयुक्त राष्ट्रसङ्घले सन् १९६०मा संसारभरका उपनिवेश खारेज हुनुपर्छ भन्दै एक सङ्कल्प प्रस्ताव पारित गर्यो । त्यस्तै अन्तर्राष्ट्रिय दृष्टान्त र प्रयोगको एउटा बलियो उदाहरण हो हङ्कङ । सन् १८४२मा बेलायत र चीनबीच सन्धि भएर बेलायतमा गभिएको हङ्कङ त फिर्ता भयो । मेरो देश मात्रै किन फिर्ता हुन सक्दैन ? यो सोचनीय कुरा हो ।

ग्रेटर नेपालको अभियानलाई एक्लै काँधमा बोकेर हिँडेका फडिन्द्र नेपाल जस्ता सपुतबाट देशले पाठ सिक्नुपर्छ । पत्रकार भैरव रिसालले २०१८ सालमा जनगणना गराउँदा कालापानी क्षेत्रका कुती, नाभी र गुञ्जी लगायतका स्थानको अभिलेख सङ्कलन भएको सुझाएका थिए । त्यहाँका बासिन्दाले तिरो तिरेका प्रमाण र लालपुर्जा पनि हामीसँग छन् । योभन्दा बलियो प्रमाण अरू के हुन सक्छ र ? अलिक पहिला भ्रमणमा आएका चिनियाँ उप वाणिज्यमन्त्रीले नेपालसँग भएका दस्तावेज र प्रमाणका आधारमा भारतसँगको समझदारी सुधार्न सकिने बताएको मलाई ताजै लाग्छ ।

नयाँशक्तिका रूपमा उदाएको भारतको भार थाम्न नेपाल असमर्थ छ । शस्त्र बलभन्दा नैतिक बल नै ठुलो हुन्छ, तसर्थ मेरो देशले नैतिकताको लडाइँ लड्नुपर्छ । सम्पूर्ण तयारीका साथ लडे मात्र लक्ष्मणले इन्द्रजितलाईझैँ मेरो देशले भारतलाई पछार्न सक्छ । युद्ध मात्रै समस्याको समाधान होइन, यसका हजारौँ विकल्प छन् भन्ने कहिले बुझ्ने ? कमजोरहरू हतियार र बुद्धिमानीहरू विचारले लड्छन् । यही मध्यमार्गी बाटो सीमा समस्या समाधानमा बह्मास्त्र साबित हुनसक्छ ।

वादप्रतिवाद, सबालजबाफ र कूटनीतिक नोट लेनदेनका धेरै चक्र पुरा गरे पनि समस्या ज्युँका त्युँ रहनुले यसको औचित्यमाथि प्रश्नचिह्न लागेको छ । संवादहीनताको यस्तो अवस्थामा नेपाल कानूनी उपचारको बाटो जान सक्छ । अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार दुई देशबीच कुरा मिलेन भने त्यसको न्यायिक उपचारका लागि मध्यस्थता खोज्न सकिन्छ । छिमेकी मुलुक चीन र नेपालका दस्तावेज भएको बेलायत मध्यस्तकर्ता हुन सक्छन् । यो बाटो मेरो देशले अँगाल्न ढिला गर्नु हुँदैन । यी आधार हुँदाहुँदै पनि भारतले सबै कुरामा नेपाललाई हेप्नु भारतवेष्टित हुनुको पराकाष्ठा हो भन्ने मलाई लाग्छ ।

अस्तु !!!

श्रीकृष्ण शर्मा
पोखरा महानगर

1 thought on “मेरो देश भूपरिवेष्टित या भारतवेष्टित ?”

  1. हार्दिक आभार मेझेरी डट कमलाई मेरो यो निबन्धलाई स्थान दिनुभएकोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *