Skip to content

गोपीका बीच शंकर


सबैका मनका प्यारा, स्यामा-श्याम छिपेर नी,
प्यारा उनी सबैका यी , हेरौँ के के हुँदै छ नी ।

हास्य सागर ठूला, छद्मभेषी निकै उनी ,
नारी पुरुष के हुन् , चिनिदैन कसै पनी ।

नारीको भेषमा कैले, उनैका भीडमा पसी,
लीला विविध गरेर, रमाउँछन् भनौँ कति ।

द्वापरमा पुगे एक, ती नारीरूप सुन्दर
रासलिला भए ठाउँ, गोपीका बीच शंकर ।

जोगीको भेषमा माग्ने, मन्दिरमा बसेर नै,
महात्मा पनि बन्नेनी, गुरु छेउ बसेर नै ।

स्नेह मिलन योगीको, आयोजना भयो जब,
बाटिका बीच सांखूको, सलम्बुमा गए सव ।

बनको बीच बाटैमा, देवीस्थान सलम्बुमा,
मेलम्ची पथको धूलै, धूलो पर्दछ मार्गमा ।

बाटैमा सुन्दरी आइन्, लिफ्ट मागिन् उनी सित,
साथैमा कारमा राखी हाँके गाडी खुसी सित ।

योगसाधक योगीले. कारमा सुन्दरी भनी,
नचिनेकी उनीलाई साथै राखी गुडे उनी ।

योगीको मनमा कैँयौँ , खेले कति कुराहरू ,
स्वर्गकी अप्सरा हुन् कि , गोपिनी श्यामकी भनु ।

इन्द्रकी उर्वशी हुन् कि, तपस्वीकै शकुन्तला,
गाडी रोकी किनी ल्याए, ख्वाए फोकेर सुन्तला ।

खाल्टाखुल्टी पथैमा नि, उफार्छ कारले घरि,
योगीको तन उफ्रेर, ठोकिन्थ्यो नि घरिघरी ।

सलम्बुको बनै भित्र, एकान्त बन बीचमा,
घुमीमाथि पुगेपछि, रोकियो कार चौरमा ।

पहिले आफु उत्रेर, ढोका खोलेर हातले,
हात जोडी झुकेर नै, उत्रन उनले भने ।

ढलल्क ठल्कँदै नानी, नारी बीच गई बसिन्,
झलक्क झल्कने रूपै, आकर्षण उनी बनिन् ।

बासन्ती बाटिका त्यही , थियो मिलन योगमा,
साधक साधिका धेरै , उमंग नाचगानमा !

उर्वशी नै उनी रैछन् , थालिन् नाच्न उनी पनि,
नाच्दानाच्दै लुगा फुस्क्यो, मूर्छै परे सबै अनि ।

बल्ल चिने सबैले नै , कलाकार भनीकन,
छ शुभ कामना धेरै, कलाकार अझै बन ।

चैत्र १०, २०७४ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *