नयाँ वर्षका गीतहरू गाउँदै उड्दै आएका
एक हुल चराहरुको बीचैबाट
फेरि खस्नेछ उल्का र
डढाइजानेछ
मेरो मस्तिष्कको हाइपोथ्यालामस
मबाट हराइजानेछ
दृष्टिकोण
र विलाइजानेछ – चेतना
किन्तु
ए मेरा प्रिय श्रोताहरू हो !
यो वर्ष पनि म
सोफिया रोवोर्टकै शैलीमा
कविता सुनाइरहेको हुनेछु
र
तपाईंहरू मक्ख परिरहनुभएको हुनेछ
मेरा भावहीन कविता सुनेर
कविताले तपाईंको पेट भरिए रामाराम
कविताले तपाईंको प्यास मेटिए रामाराम
तर
तपाईंहरू मलाई केवल एउटा कम्प्युटरीकृत
उत्तेजनाको भरमा
सुन्नुहुनेछ र प्रसारण गर्नुहुनेछ हावामा
फुस्रो कविता
प्रिय पाठक बृन्द !
तपाईंहरू यसरी नै बसिरहनुहुनेछ
मेरो कविता पढेर
यो वर्ष पनि … अर्कों नयाँ वर्षको
प्रतीक्षामा
आखिर
कतिन्जेल पढ्नुहुन्छ या
सुन्नुहुन्छ या
सुनाउनुहुन्छ यो कृत्रिम कविता ?
कतिन्जेल सहनुहुन्छ
जताततै यो
कविताको नाममा जथाभावी ?
ओहो !
घाममा पनि
पानीमा पनि
कविताको नाममा
त्रासदी
