Skip to content

कविताको नाममा त्रासदी


नयाँ वर्षका गीतहरू गाउँदै उड्दै आएका
एक हुल चराहरुको बीचैबाट
फेरि खस्नेछ उल्का र
डढाइजानेछ
मेरो मस्तिष्कको हाइपोथ्यालामस

मबाट हराइजानेछ
दृष्टिकोण
र विलाइजानेछ – चेतना

किन्तु
ए मेरा प्रिय श्रोताहरू हो !
यो वर्ष पनि म
सोफिया रोवोर्टकै शैलीमा
कविता सुनाइरहेको हुनेछु

तपाईंहरू मक्ख परिरहनुभएको हुनेछ
मेरा भावहीन कविता सुनेर

कविताले तपाईंको पेट भरिए रामाराम
कविताले तपाईंको प्यास मेटिए रामाराम
तर
तपाईंहरू मलाई केवल एउटा कम्प्युटरीकृत
उत्तेजनाको भरमा
सुन्नुहुनेछ र प्रसारण गर्नुहुनेछ हावामा
फुस्रो कविता

प्रिय पाठक बृन्द !
तपाईंहरू यसरी नै बसिरहनुहुनेछ
मेरो कविता पढेर
यो वर्ष पनि … अर्कों नयाँ वर्षको
प्रतीक्षामा

आखिर
कतिन्जेल पढ्नुहुन्छ या
सुन्नुहुन्छ या
सुनाउनुहुन्छ यो कृत्रिम कविता ?
कतिन्जेल सहनुहुन्छ
जताततै यो
कविताको नाममा जथाभावी ?

ओहो !
घाममा पनि
पानीमा पनि
कविताको नाममा
त्रासदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *