Skip to content

नारीकाे गुणका सामु मेरो यो शिर झुक्तछ
यो रहस्य नबुझ्ने जो छ त्यो मानव चुक्तछ ।।

सृष्टि संरचना गर्ने तिमी झैं अरु को छ र
नारी हौ तिमी हे नारी तिमी हौ प्रेमको घर ।।

पिएर आँसुका धारा तिमी जीवन बाँच्तछ्यौ
भाेको बस्तै अरुलाई कनिका पनि साँच्तछ्यौ ।।

हे नारी प्रेमगङ्गा हौ सिर्जनाकी मुहान हौ
हामी लोग्नेहरुलाई सधैंकी अभिमान हौ ।।

खोस्टैमा तिमी पस्कन्छ्यौ कलाको दिव्य मोहनी
कलाको जादूले युक्त तिम्रो उच्च छ जीवनी ।।

सिन्काको भरमा तिम्रो कलाकारी उदाउँछ
चौकोमा होस् चुलाेमा होस् त्यो कला मुस्कुराउँछ ।।

यो त झन् भन्न चाहन्छु को छ तिम्रो बरोबर ?
मायामा स्नेहमा लाग्छ्यौ प्रेमामृत सरोबर ।।

पुत्रीका रुपमा त्यस्तै आमाको रुपमा कतै
भार्या पत्नी र ओजश्वी नारीको रुपमा कतै ।।

शुष्क छाती यहाँ तिम्रो माया पाई सुसाउँछ
तिम्रो स्नेह सधैं पाए ढुङ्गैसम्म टुसाउँछ ।।

पुराना नारीको गाथा कहाँ गाउन सक्तछौं
मानौं हामी सबै आज नारीकै मात्र भक्त छौं ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *