महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली समाजले एक महान् स्रष्टा एवं एक सिर्जनशील व्यक्तित्वको रूपमा सधैँ सम्मान गरिरहने छ । नेपाली साहित्यिक आन्दोलनका एक प्रणेताको रूपमा सधैँ सम्भ्िfmरहने छ । उहाँ आफूसित एउटा सशक्त कम्पन र एउटा नयाँ हलचल लिएर आउनु भएको थियो । त्यसले नेपाली साहित्य, नेपाली भाषा र संस्कृतिमा नयाँ गति प्रदान गर्यो । उहाँको पद्य र गद्य रचनाहरूको भावभूमि, शैली र विचार- यी सबैले नेपाली साहित्यलाई नयाँ युगमा प्रवेश गरायो ।
महाकवि देवकोटा साहित्यिक साधनामा मात्र केन्दि्रत रहनु भएन, देश र देशवासीको हित र हक प्रवर्द्धनको सङ्घर्षमा पनि उहाँ लागिरहनुभयो । नेपाली जनताको मुक्तिका लागि, निरङ्कुशताको अन्त्यका लागि कविवर केदारमान व्यथितसँगै भूमिगतरूपमा उहाँ २००४ को आश्विनमा वनारस पुग्नुभयो । केही वर्ष निर्वासनमा रहेर उहाँले ‘युगवाणी’ को प्रकाशनमा महìवपूर्ण योगदान पुर्याउनुभएको थियो । त्यही कालमा उहाँले लेखेको-
‘पहाडी पुकार’ र अरू अनेक रचनाहरूले नेपाली जनतालाई आफ्नो अधिकार प्राप्तिको सङ्घर्षमा अघि सर्न अभिप्रेरित गरेका थिए ।
२०१४ मा नेपाल एकेडेमीको स्थापना भयो । त्यसको परिकल्पना गर्ने पहिलो व्यक्ति महाकवि देवकोटा हुनुहुन्थ्यो । त्यसको स्वरूप निर्धारण र यसको निर्माणसम्बन्धी कतिपय विषयहरूमा देवकोटाले बीपी कोइरालासित सल्लाह र विचार-विमर्श गर्नुभएको थियो ।
यसको बनोट र कार्यविधिको निर्धारण गर्न बीपीले अरू केही देशको पद्धतिको पनि अध्ययन गर्नुभएको थियो । महाकवि देवकोटा र राजा महेन्द्रले बीपीलाई पनि ऐकेडेमीमा रहन आग्रह गरेका थिए । यसलाई एक विशुद्ध- साहित्य, कला र संस्कृतिको धरोहरको रूपमा राख्नुपर्छ । राजनीतिज्ञहरूले यसमा बस्दा राजनीतिक रङ आउन सक्छ, त्यो राम्रो हुँदैन भन्ने बीपीको धारणा थियो । त्यसैले उहाँ यसमा रहनु भएन । बीपीले यसको उपकुलपतिमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकै नाम प्रस्तावित गर्नुभएको थियो । नयाँ बन्ने यो नयाँ संस्थामा महाकवि देवकोटा उपकुलपति भए यसको गरिमा बढ्छ र उचाइ थपिन्छ भन्ने बीपीको सोचाइ थियो । केही पछि यसको गठन भयो । उपकुलपतिमा बालचन्द्र शर्मालाई राखियो । यसको बनोट र अरू केही कुराहरूमा पनि केही हेरफेर गरियो ।
२०१४ को उत्तरार्द्धदेखि महाकवि देवकोटाको स्वास्थ्य बिग्रँदै गयो । २०१५ को प्रारम्भतिर कलकत्तामा उहाँको पेटको अत्यन्त जटिल अप्रेशन भयो । कलकत्ताबाट केही स्वस्थ भएर काठमाडौँ फर्केपछि उहाँ एसियायी लेखक सङ्घको सम्मेलनमा भाग लिन तास्कन्द जानुभयो । कुलपति र उपकुलपतिको अनुमति नलिइकन ऐकेडेमीको एक सदस्यले तास्कन्द जानु गैरजिम्मेवार र अनुचित कार्य भन्ने नितान्त निरर्थक कुराको आरोप लगाएर एकेडेमीबाट महाकवि देवकोटाले पाउने तलब रोक्का गरियो । यो उहाँमाथिको एक ठूलो अन्याय थियो । यसबाट आर्थिक सङ्कटको ठूलो समस्या उहाँको अगाडि आयो । घातक रोगले जर्जर भएको उहाँको शरीरले नियमित रूपले औषधि सेवन गर्न पाएन । त्यसैले २०१६ को सुरुदेखि उहाँ निकै सिकिस्त हुनुभयो ।
२०१६ को जेठ १३ गते जननिर्वाचित सरकारको गठन भयो । नेपाली वाङ्मयका एक अथक साधक महकवि देवकोटाको त्यो अवस्थाप्रति नवगठित सरकार संवेदशील थियो, चिन्तित थियो । २०१६ को आषाढदेखि उहाँको उपचारको सबै जिम्मा सरकारले लियो । शान्त भवन अस्पतालमा उहाँको उपचार हुनथाल्यो । जननिर्वाचित प्रधान मन्त्री बीपी कोइराला, मन्त्री गणेशमान सिंह, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्री तथा अरू मन्त्रीहरूले पटक-पटक अस्पतालमा गएर उहाँको स्वास्थ्य स्थितिको जानकारी लिइरहनु भएको थियो तर क्यान्सर जस्तो घातक रोगको आक्रमणमा परेको उहाँको शरीरले त्यसको प्रतिकार गर्न सकेन ।
नेपालको पहिलो विश्वविद्यालयको रूपमा त्रिभुवन विश्वविद्यालयको स्थापना हुन लागेको थियो । जननिर्वाचित सरकारले २०१६ को आषाढ २७ गते विश्वविद्यालय ऐन २०१६ को तर्जुमा
गर्यो । त्यही ऐनअनुसार राजा त्रिभुवनको बडामहारानीहरू कान्ति राज्यलक्ष्मी चान्सलर, ईश्वरी राज्यलक्ष्मी प्रो चान्सलर तथा उपप्रधानमन्त्री सुवर्णशमशेर भाइस चान्सलर हुनुभयो । महाकवि देवकोटा त्यसबेला प्रत्येक पल मृत्युको चिसो स्पर्शलाई अनुभव गर्दै मृत्यु शय्यामा छटपटाइरहनु भएको थियो तर विश्वविद्यालयलाई त्यहाँसम्म ल्याई पुर्याउन उहाँले गरेको कार्यको एवं नेपाली वाङ्मयको श्रीवृद्धिमा पुर्याएको योगदानको कदर गरेर, विश्वविद्यालय परिषदको सदस्यमा महाकवि देवकोटालाई पनि राखिएको थियो ।
शान्तभवन अस्पतालले केही दिनभन्दा अरू महाकवि देवकोटा जीवित रहनसक्ने अवस्था देखेन । त्यसैले भाद्र २७ गते उहाँलाई पशुपति आर्यघाटमा ल्याइयो । असहनीय पीडाले उहाँ हमेशा छटपटाइरहनु हुन्थ्यो । हेर्न आउनेहरूसित उहाँ त्यो असहृय पीडाबाट मुक्तिको याचना गर्नुहुन्थ्यो । ‘मलाई पोटासियम साइनाइड दिनोस्’ भन्नुहुन्थ्यो ।
कलेज अफ एजुकेसनलले महाकवि देवकोटा मृत्युसित अन्तिम सङ्घर्षमा परास्त हुँदै छटपटाइरहेको यही हृदयविदारक क्षणमा उहाँको जीवनको अन्तिम आवाजको टेप लिएको
थियो । त्यसबेला असहृय पीडालाई झेल्दै उहाँले भन्नुभएको थियो- “म संसारका वैज्ञानिकहरूसित प्रार्थना गर्छु, क्यान्सर रोगलाई निको पार्ने प्रयत्न गर्नुभन्दा, यसका बिरामीलाई पोटासियम साइनाइड दिनु नै असल हुन्छ ।”
त्यही टेपमा उहाँले भन्नुभएको थियो- “म स्वर्गभन्दा पनि राम्रो ठाउँमा जन्मेँ तर आज यहाँकै आकाश मेरो सामु कराही घोप्टे जस्तै अन्धकार भइरहेको छ ।”
अन्तिम प्रश्नको उत्तर दिँदै आफ्ना रचनाहरूका बारेमा महाकवि देवकोटाले भन्नुभएको थियो- “मेरा सबै रचनाहरू जलाइदिए पनि हुन्छ तर मुनामदनलाई त्यसो नगरियोस् ।”
यो संसारबाट सदा-सदाका लागि अस्त हुन लागेका महाकवि देवकोटासित अन्तिम पटक भाद्र २९ गते बिहान तत्कालीन मन्त्री गणेशमान सिंहले भेट गर्नुभएको थियो । महाकविले गणेशमान सिंहसित भन्नुभएको थियो- “म त यो माटोमा विलीन हुँदै छु । नेपाल समुन्नत बनोस् । प्रजातन्त्र फलोस्-फुलोस् । यो मर्न नपावस् ।”
त्यसैदिन अर्थात् २०१६ को भाद्र २९ को साँझमा पशुपति आर्यघाटमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्राण विसर्जन गर्नुभयो । नेपाली साहित्यको गद्य र पद्य दुवै विधामा अनेक अमर कृतिहरूका रचयिता महाकवि देवकोटाले यो देश, यहाँका जनता र यहाँको साहित्य, भाषा र संस्कृतिलाई उचाइमा पुर्याउन लामो समयसम्म आफूलाई सम्पूर्णरूपले समर्पण गरेर, त्यसैमा अनवरत रूपमा लागिरहनु भयो । तिनै अमर स्रष्टालाई एकेडेमीले उहाँले पाउने तलब पनि रोक्का गरेर, औषधि-उपचारमा पनि बाधा पुर्याएको थियो तर नवस्थापित नेपालको जननिर्वाचित सरकारले महाकवि देवकोटाको योगदानलाई राम्रोसँग बुझेको थियो तर पनि उहाँलाई बचाउन सक्ने स्थिति थिएन । उहाँप्रति, उहाँका परिवारका प्रति राष्ट्रको आफ्ना केही दायित्वहरू थिए । ती दायित्वहरू निर्वाह गर्न सरकार प्रतिबद्ध थियो । त्यसैले सम्मानपूर्वक सरकारले महाकविको उपचारको व्यवस्था गर्यो । उहाँको मृत्युपछि, उहाँको परिवारलाई रु. २२ हजार र काजकृयालाई रु. ३ हजार रकम प्रदान गर्यो । उहाँको छोराहरूलाई वालिग नभएसम्म पठनपाठनको व्यवस्थासमेत गरिदिने निर्णय गर्यो ।
महाकविको निधनमा शोक व्यक्त गर्दै भाद्र २९ कै साँझ प्रधानमन्त्री बीपी कोइरालाले भन्नुभएको थियो- “महाकवि लक्ष्मीप्रसाद देवकोटा एक सर्वश्रेष्ठ साहित्यिक प्रतिभा हुनुहुन्थ्यो । उहाँको निधनले साहित्यिक तथा बौद्धिक क्षेत्रमा ठूलो क्षति भएको छ, जसको पूर्ति हुन गाह्रो छ ।”
त्यसको भोलिपल्ट भाद्र ३० का दिन बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री कोइरालाले महाकवि देवकोटाको निधनप्रति शोक प्रकट गर्दै, शोक प्रस्ताव र कार्यस्थगन प्रस्ताव राख्नुभएको थियो । त्यसैमा उहाँले भन्नुभएको थियो- “महाकवि लक्ष्मीप्रसाद देवकोटा हाम्रो देशको एक महान् प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको कृतिहरू सदा-सदाका लागि साहित्यिक क्षेत्रका उत्कृष्ट रचना भएर रहने छन् । उहाँको निधनले हाम्रो देशलाई ठूलो क्षति भएको छ । उहाँको यो निधनमा अन्य मुलुकले पनि एक योग्य साहित्यकारलाई गुमाउनु परेको छ ।”
त्यसपछि संसद्को दुवै सदन- प्रतिनिधिसभा र महासभाले महाकविको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेर, श्रद्धाञ्जली व्यक्त गरेको थियो ।
महाकवि देवकोटाको निधनको तेह्रौँ दिन, आश्विन १० गते-‘देवकोटा शोक समिति’ले विराट मौन जुलुसको आयोजना गरेको थियो । महाकविको अन्तिम वाक्य- ‘प्रजातन्त्र फलोस्-फुलोस, मर्न नपावस्’ भन्ने ब्यानरसहित उहाँको तस्बिर बोकेको त्यो जुलुस दरबार हाइस्कुल अगाडिबाट सुरु भएको थियो । सहर परिक्रमापछि त्यो जुलुस एक विशाल शोक सभामा परिणत भएको थियो । टुँडिखेलस्थित खरीको बोटमा कविशिरोमणि लेखनाथ पौडेलको सभापतित्वमा भएको त्यो शोक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बीपी कोइरालाले महाकविको योगदानको चर्चा गर्नुभएको थियो । उहाँसितको अविस्मरणीय क्षणहरूलाई सम्झँदै, उहाँले देवकोटाको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ भन्नुभएको थियो । उहाँले शोक विहृवल भएर महाकविलाई श्रद्धाञ्जली अर्पण गुर्नभएको थियो । मन्त्री गणेशमान सिंह, बालकृष्ण सम र अरूहरूले पनि महाकविप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
पचास वर्ष पुग्न पनि दुई महिना जति बाँकी राखेर महाकवि देवकोटा मृत्युको निस्सारतामा लिन हुनुभएको थियो । एकतन्त्रीय निरङ्कुशताबाट देश उन्मुक्त भइसकेको थियो । उदात्त वातावरणमा उहाँको सिर्जनशीलताको वेग अझ प्रखररूपमा प्रस्फुटन हुन थालेको थियो । त्यो कतिमाथिसम्म पुग्थ्यो तर उहाँको असामयिक मृत्युको यो कठोरताले त्यसलाई बीचैमा रोकिदियो । देवकोटा एक महान् साहित्यकार हुनुहुन्थ्यो । अन्य मुलुकका साहित्यकाहरू पनि उहाँलाई प्रेरणापुञ्जको रूपमा हेर्थे । भारतीय प्रख्यात लेखक राहुल सांकृत्यायनले भारतका प्रख्यात तीन प्रतिभा- प्रसाद, पन्त र निरालाको एउटै सङ्गम देवकोटा हुन् भनेका थिए । वास्तवमा साहित्यले नेपाललाई विश्वको अगाडि चिनाउने एउटा अवसरले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पर्खिरहेको थियो । उहाँको यो असामयिक निधनले, अल्पायुको यो निधनले त्यो अवसरलाई अघि आउन दिएन ।
यही २०६५ को कात्तिक- लक्ष्मीपूजाको दिन महाकवि देवकोटाले ९९ वर्ष पूरा गरेको एकसयौं जन्मजयन्ती थियो । त्यसदिनदेखि उहाँको सतवाषिर्क समारोह विशेष कार्यक्रमहरूका साथ सञ्चालन गरिने कुराहरू प्रचार-प्रसारमा आएका थिए तर ती कार्यक्रमहरूको ठोसस्वरूप आम तवरमा देखापर्न सकेका छैनन् । आज नेपाल र नेपालको राष्ट्रिय अस्तित्वको आधारहरूलाई कमजोर पार्ने प्रत्यक्ष वा परोक्षरूपमा केही कार्यहरू हुन थालेका छन् । के यो सतवाषिर्क पनि त्यही कारणले ओझेलमा परेको त होइन ?
महाकवि देवकोटाका कतिपय कृतिहरू मरणोपरान्त प्रकाशित भएका छन् । देश र विदेशमा समेत उहाँका यस्ता कृतिहरू अझै हुनसक्ने धेरैको अन्दाज छ । तत्कालीन नेपालभाषा प्रकाशिनी समिति -ने.भा.प्र.स.)मा उहाँका धेरै रचनाहरू रातो चिन्ह लगाएर, अस्वीकृत फाइलमा राखिएको थियो भन्ने धेरैको भनाइ थियो । त्यसको खोजी भयो कि भएन ? महाकवि सङ्ग्रालय निर्माणसम्बन्धी कार्य अघि बढ्यो कि बढेन ? उहाँको सतवाषिर्कमा यस्ता धेरै प्रश्नहरूले- सरकार, साहित्यिक र सांस्कृतिक संस्थाहरू, विश्वविद्यालय र अरू सबैसित उचित जवाफ मागिरहेका छन् ।
२०१७ को राष्ट्रघाती कदमपछि प्रकाशनमा प्रतिबन्ध लगाएको- तारिणीप्रसाद कोइरालाको सम्पादनमा प्रकाशित हुने ‘कल्पना’ दैनिकको प्रतिहरू हेर्ने क्रममा, विगत दुई-तीन वर्ष पहिले मैले महाकवि देवकोटाका सम्बन्धमा दुईवटा केही दुर्लभ र महìवपूर्ण सामग्रीहरू प्राप्त गरेको थिएँ । ती थिए- २०१५ मा कलकत्ताको अस्पतालमा जटिल शल्यक्रियाबाट स्वास्थ्यमा केही सुधार हुँदै जान थालेपछि, अस्पतालकै शय्यामा लिइएको महाकविको फोटो । अर्को, महाकवि देवकोटाको जीवित रहने सम्भावना क्षीण हुँदै गएको स्थितिप्रति ज्यादै चिन्तित भएर बालकृष्ण समले लेखेको कविता । समजीको आफ्नै हस्ताक्षरको यो कविता यहाँ प्रस्तुत छ ।
