Skip to content

चर्को घामले (बालकविता)


टेरिएन छाता लैजा भन्दाखेरि आमाले
अहिले साह्रै पोल्यो मलाई चर्को घामले

कोही ढुङ्गा उचाल्छन्, कोही गिटी फुटाउँछन्
पसिनाको खेती गर्छन् श्रम जुटाउँछन्
कर्मी, कुल्ली, ज्यामी दाइको केही छैन शिरमा
छाता ओढ्न नपाए’नि छैनन् पीरमा

व्यस्त भा’छन् हली-बाउसे आफ्नै-आफ्नै कामले
यिनलाई किन नपोलेको चर्को घामले ?

मैलाई घामले पोल्ने अनि मैलाई थकाइ लागने
मैले मात्र के लाजले छाता मागने
म’नि श्रम गर्छु आजै म’नि जाँगर पोख्दछु
खेत खन्छु, घाँस काट्छु, ढुङ्गा बोक्दछु

बजारबाट झिल्के छाता किन्दिए’नि मामाले
ओढ्दिनँ भो पोले पोलोस् चर्को घामले ।

(तिजेगीतको भाकामा)

— रमेशचन्द्र घिमिरे
मध्यनेपाल नगरपालिका -६, भोर्लेटार लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *