Skip to content

समाजमा हुँदा रहेछन् । समाज पनि हुँदो रहेछ । समाज गजब छ । यसो विचार गर्छु र आफैं जिल्ल पर्छु ।
पुरानो र चलिरहेको कथा सम्झन्छु । नाम नभनौं । हुनुहुन्थ्यो उहाँ । यो कल्पना हैन सत्य र अति सत्य हो । मिर्चैयामा रक्सीको सेवनबाट मोक्ष पाउनेहरुको कुरा सुनेपछि आज मलाई उहाँको याद सारै आयो । उहाँ मात्र भनांै । उहाँको नाम दिनु पनि असल भएन किनभने जस्तो भए पनि उहाँका छोरा छँदैछन्, बुहारी छन् नातिनातिना छन् । सबै छँदैछन् । नभएका भने उहाँ र उहाँकी मात्र हुन् । भएकासँग दैनिक भेट भइरहन्छ । नभएको ता कता भेटिनु !
उहाँ एउटा अफिसको क्यान्टिन चलाउने । अफिसको नाम नभनौं । बडा रहुसे स्वभाव थियो । उहाँकी पत्नी पनि रमाइलो स्वभाव भएकी थिइन् । जसलाई पनि सर र हजुर भन्नु उहाँहरु दुबैको भाषा थियो । क्यान्टिनमा ताजा खाजा खान पाइने, विेशेष गरी शनिवार मासु चिउरा खान पाइने । अरु दिन कहिले यस्तै उस्तै के के ।
मासुका लागि उहाँको बेग्लै सूत्र थियो । बजारबाट खसीको मासु कहिल्यै किन्नु भएन । बजारमा गएर खसी नै किन्यो अनि छरछिमेकतिर भागशान्तिले बाँड्यो । अलिकति नाफा नै भो । पन्ध्र बिस किलोको एक खसी सकिन्थ्यो हप्ताको कुनै दिन । विशेष गरी शनिवारको दिन ।
उहाँलाई खै म के भनेर बोलाऊँ र कुन नामले सम्झूँ, अहिले रनभुल्लमा छु । साँचो नाम पनि भन्न भएन ।
खसी आफैं काट्ने, बनाउने काम गर्ने । भाग लाउँने । बाँड्ने । यो थियो उहाँको स्वभाव ।
जब खसीको टाउको बनाउन थाल्नुहुन्थ्यो खुकुरीले टाउको फोर्दै गिदी सग्लै निकालेर दायाँ बायाँ कतै नहेरी कपाकपी खानुहुन्थ्यो र खाइसकेर निकै ठुलो डकार निकाल्नु हुन्थ्यो । म बडो अचम्म पर्थें । त्यो दृश्य हेर्न मलाई आँट आउन्नथ्यो । खसीको तातो गिदी कपाकप खाएको दृश्य बडो भयानक र कस्तो कस्तो लाग्थ्यो । बडो बीभत्स लाग्थ्यो भने पनि भो ।
उहाँको यो खाद्यमा बिस्तारै सारै सस्ता र शरीरलाई जिउँदै डढाउने खालका मदिराको लत बस्यो । बेलुका मात्र लिने बानीमा दिउसो रात जुन बेला पनि यो तत्व लिन थाल्नुभो । अलिक पछि शरीर कालो देखिन थाल्यो । क्यान्टिन छँदै थियो । कतै किन्न जानु थिएन । जति बेला पनि तत्व उपलब्ध भइहाल्थ्यो । यसैले उहाँ त्यसैमा डुब्न थाल्नु भो । एक प्रकारले अँघारको रुप लिनु भो ।
परिवारमा के कुतौजी परेर हो उहाँले पहिलो पटक मेटासिट सेवन गर्नु भो । हस्पिटलको खर्चमा हामी सबैले सहयोग गरेर पहिलो पटकलाई बचायौं । दोस्रोपटक घरैमा दाम्लोको सहयोगले झुन्डिनुभो । तर छोराले समय छँदै दाम्लोबाट उहाँलाई फुकाइदियो । यो फाल पनि उहाँ तङ्ग्रिनुभो । तेस्रोपटक खोलाको किनारको कदमको रुखमा गएर उहाँले रामनाम सत्य हो को मार्ग लिनु भो । उहाँको कथा सकियो ।
छँदै थियो क्यान्टिन । बिखालु तत्वका उत्पादकहरु छँदै थिए । यसैले एक वर्षभित्र उहाँकी धर्मपत्नीको पनि डढेको अँगाको अँगाको रुपमा रुपान्तरित हुनु भो र चाँडै मोक्ष प्राप्त गर्नु भो । पछि ओछिन खानतलास गर्दा उहाँका पलङभरि केही कार्टुन पाउचका रक्सी र त्यसका रित्ता खोल एक रास भेटिएका थिए । उहाँको कथा सकियो ।
पुत्र हुनुहुन्थ्यो तिन थान । जेठा पुत्र पितामाताको सन्मार्गमा लाग्नुभाछ र सबुत हुनुहुन्छ अहिसम्म । तिनचार पटक सुधार गृहमा राखिसकियो । मोक्ष प्राप्त गरिहाल्नु भाको छैन ।
माइला पुत्रले भने अर्कै बाटो लिनु भाको छ । सायद उहिल्यैदेखि शिववुटीका रुपमा प्रचलित गाँजाले के हानी गर्ला र उहाँलाई । यसैले उहाँ त्यो मार्गमा लाग्नु भाको छ । उहाँको मोक्षमार्ग सायद निकै पछिको कुुरा हो । त्यसबारे नगरौं यहाँ । त्यस्तो कुरा पनि गरिरहनु हुन्छ र !
अर्काे कान्छो पुत्र एक थान हुनुहुन्छ । उहाँलाई साधारण तत्वले नछुने भाको कुरा छ । इन्जेक्सनबाट लिनु पर्ने तत्व के हो त्यो उहाँका लागि आवश्यक पर्छ भन्ने जगजाहेर छ सबैले सुनेका देखृेका छन्, मैले भने सुनेको मात्र छु । लठिएको अवस्थामा मात्र उहाँलाई मैले देखेको छु । उहाँले निकै पटक मलाई बाटोबाटोमा अर्थमन्त्री जस्तो मानेर वजेट माग्नुहुन्छ । सुरुमा ता एक दुई छाकको बजेट टरोस् भनेर वजेट निकासा गरेको हुँ अब म उहाँलाई बजेट निकासा गर्न सक्तिनँ । घाटा बजेटमा भए पनि उहाँले यो व्यापार चालु राख्नु भा छ ।
भर्खर मात्र मिर्चैयातिर मदिरा सेवनबाट दर्जनौंले मोक्षप्राप्त गर्नुभो भन्ने खबरबाट मेरो स्मृतिमा रहेको यो यथार्थलाई यहाँ मैले घोप्ट्याएँ । क्षमा रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *