वाणीको गहिराइबाट उहिल्यै मोती टिपेका थियौ
आफ्नो सिर्जनभित्र शब्दपथको माला खिपेका थियौ
हे रामायणका प्रबर्तक सधैं तिम्रै यहाँ सार छ
भाषा सेवक पूज्य आदिकविमा मेरो नमस्कार छ ।।
वाणीमा जसले ग¥यो सृजनको लामो तपस्या अघि
रम्घाबाट उठेर देशभर नै फैल्यो तिनैको छवि
यौटा साधकको विशिष्ट सृजना आजन्म साकार छ
त्यस्ता अग्रज वन्द्य आदिकविमा मेरो नमस्कार छ ।।
भाषामाथि प्रहार हुन्छ जहिल्यै मौनी भए सर्जक
कैल्यै बन्नु हुँदैन सर्जकहरु भै मूक झैं दर्शक
त्यो रामायणमा जीवन कला जो एक आधार छ
त्यस्ता अग्रज श्रेष्ठ आदिकविमा मेरो नमस्कार छ ।।
