बुबा जुन उमेरसम्म
रूख चढ्न सक्नु हुन्थाे
म साेच्थे पैसा रूखमा फल्छ ।
जब त्याे रूखसँग सँगै
बुबा बुढाे हुनु भयाे
र रूख चढ्ने पालाे मेराे अायाे ।
रूखमा मैले पैसा हैन, पात मात्रै पाए ।
र थाहा पाएँ अाज
बुबाकाे पैसामा अाउने त्याे नमिठाे गन्ध
उहाँकाे पसिनाकाे थियाे ।
बुबाले पसिनासँग साट्नु भएकाे पैसा
र त्याे पैसासँग साटेकाे मेराे नयाँ लुगा
अाजभाेलि जति पुराना भएका छन्
त्यतिनै ताजा भएर अाउँछ बुबाका यादहरू
र म हेर्छु अाजकाल यी ठेला उठेका हातहरू
अनि सम्झन्छु बुबाका ती अाधा भरिएका पेटहरू
जाे अघाएनन् कहिल्यैै “म” नअघाउँला भनेर
अाजकल,
अाजकल अाफ्नाे निधारबाट बगेका
पसिनाहरू जब देख्छु अाफै,
मैले नदेख्ने गरि भिजेका
बुबाका सिरानीहरू सम्झन्छु।
अाखिर,
अाँशु र पसिना उस्तै उस्तै हाे सायद
पसिना घामकाे राप सहन नसकेर बग्छ
र अाँशु मनकाे ताप सहन नसकेर
बुबा उभिनु भएकाे त्याे धरातलमा
अाज म खडा छु
र म बल्ल बुझ्दैछु जिन्दगी
हाे, म जब बुबा बने,
मैले बुबालाई धेरै सम्झेँ
र अाज म तिमीलाई सम्झाउँदैछु छाेरा,
मैले समयमा नसम्झेकाे याे कुरा
कि पैसा रूखमा फल्दैन ।
सुघेर हेर,
तिमीलाई दिएकाे त्याे नाेटमा पनि
मेराे पसिनाकाे नमिठाे गन्ध अाउँछ ।।
सर्वाधिकार
तुलाधर जितेन्द्र
