Skip to content

स्रष्टा संवार्ता : मनोज बोगटी


(नेपाली साहित्यमा भारतीय नेपाली साहित्यकारहरूको निकै लामो र ऐतिहासिक महत्वको योगदान रही आएको छ । अहिलेका भारतीय नेपाली साहित्यमा कालिम्पोङमा रहेर निकै क्रियाशील रूपमा कविता कर्ममा लागेर कलम चलाइरहेका कविहरूमा मनोज बोगटी उम्दा कविहरूमा पर्दछन् । सन् १९७९मा दार्जिलिङमा जन्मेका कवि बोगटीका आधा दर्जन कविता संग्रह प्रकाशित छन् । कविताकै लागि भारतीय अकादमी पुरस्कार समेत विजेता कवि बोगटीसँग साहित्यकार पेशल आचार्यले गर्नुभएको साहित्यिक महत् एवम् रागात्मक भलाकुसारीको सार –सम्पादक)

१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?

धेरै असमानता छन्। छोरा अंग्रेजी स्कुल जान्छन्, म प्राइमेरी धाउँथेँ नेपाली स्कुल। म फाटेको हाप्पेन हगाएर जान्थे, ऊ सुटेडबुटेड जान्छ। स्कुल जान अघि एकभारी घाँस गोठमा लडाएर जान्थें, ऊ होमवर्क गरेर जान्छ। रिभाइज गरेर जान्छ। म धुलोमाटो खेल्थे, ऊ टोइज खेल्छ। भिडियो गेम खेल्छ। कम्प्युटर चलाउँछ। म क्याटिस बोकेर चरा मार्न जान्थें, अर्काको बारीको कांक्रा चोर्न जान्थें, आँप, अम्बक चोर्न जान्थें। ऊ ट्युसन जान्छ। म बारी खन्थें, कोदो मकै रोप्थें। ऊ बारी पसेको छैन। म पैसा चोरेर भिडियो हेर्न जान्थें, ऊ मलाई कार्टुन र चल्ती मुभीको सिँढी मगाउँछ। बिहान खाएर एकैचोटी छुट्टिभएर चिसो भात खान्थें, ऊ हटकेसमा टिफिन बोकेर जान्छ। मेरो बाल्यकाल दुःखमा बित्यो, उसको सुखमा बितिरहेको छ। मेरा अभिभावक नानीहरूलाई उस्तो वास्ता गर्दैन थिए, उसले हरेक क्षण वास्ता पाउँछ। माया पाउँछ। सबैभन्दा रमाइलो असमानता के हो भने म तेस्रो श्रेणी पुग्दा एबीसीडी रटिरहेको थिएँ, ऊ मज्जैले अंग्रेजी बोल्छ। ऊ अंग्रेजी बोलेर मलाई गाल पार्छ। उसको र मेरो समय फरक फरक पर्यो।

२) यहाँनेर आइपुग्न केकति मेहनत गर्नुभयो त यहाँले ?

कहाँ आइपुगेँ र म? जहाँ छु, त्यहाँ आइपुग्न भीरको बाटो हिँडेँ। लडें। उठें। परिवार बेकारी। अहिले आफू पनि बेकारी। जीवनको उकालो हिँड्दैजाँदा मैले कविताको भर चाहिं पाएँ। १९९६ देखि मेरो जीवनमा कविता आयो। म भारत-भूटानको सीमामा बस्छु। भूटानका नेपालीहरूलाई देश निकाला गर्दा आन्दोलन चलेको थियो। पारी भूटानको भीरबाट ढुङ्गाहरूसितै नेपालीहरू झरेर जलढका नदीमा मिसिएको देखेपछि मैले ‘घर फर्कनलाई’ भन्ने शीर्षकमा पहिलो कविता लेखें। उनीहरू एकदिन घर फर्कन्छ भन्ने मैले देखेको सपना थियो। अँझ पनि छ। कविताले सत्ता, जीवन र समय चिन्न सिकायो। जीवन जोगाउनु कविता जोगाउनु, लाग्थ्यो। लागेको कुरा लेख्थें। अहिले पनि त्यसै त गर्छु नि म। कविता लेख्नु दायित्व लाग्न थाल्यो। कवितासित जीवन र समाजको नक्सा हुन्छ। त्यो नक्सा बाँच्यो भने संसार बाँच्छ भन्ने लाग्छ। विभिन्न सङ्गगठनहरू खोलेर, अन्य सङ्गठनहरूमा लागेर साहित्यको निम्ति काम गर्नु नै संघर्ष थियो कि।

मेरो अघि कविताको परम्परा छ। रूप छ। शैली छ। तीबाट मेरो यात्रा आफ्नो र फरक हुनुपर्छ। नेपाली कविता एकरुपताको शिकार छ। हरेक नयाँ पुस्ताका कविहरूले आफ्नो वाग्धाराको निर्माण गर्नुपर्छ। अघिल्लो पुस्तामा कविताले प्राप्त गरेको रूप पछिल्लो पुस्तामा दोहोरीनु भएन। वस्तु र फमविचमा बसेर कविताले बोल्ने भाषा निर्माण गर्नुपर्छ। कविता बाँच्ने समाजका त्रासदीहरू, सङ्कटहरू चिन्हित गर्नुपर्छ। धेरै जोखिमको यात्रा हो कविताको। यो जोखिम उठाउन मेहनत गरिरहेको छु। दार्जीलिङमा सम्भ्रान्तवर्गबाट निकालेर कवितालाई आम मानिसमा पुर्याउने अभियानमा लागिएको छ। ट्याटु खोपेका कविता, अलिक दबंग कविता, रफ कविताहरू, काँचो कविता हाम्रा कविता हुन्। आजका पुस्ताका कविता आफ्नो समयको एक्सरे हो। यो अभियानलाई निरन्तरता दिन मेहनत गरिँदैछ।

जीवन चलाउन पत्रकारिता गर्छु। संघर्ष त भर्खर पो शुरु हुँदैछजस्तो लाग्छ। मेरो मेहनत भनेको जीवनलाई चिन्नु, चिनेको लागेको कुरालाई आफै समीक्षा गर्नु, जीवनको सत्तासित जोडिएका सरोकारहरू केलाउनु हो र लेख्नु हो। त्यो त चलिरहेको छ अहिले पनि। यसो भनुँ न यहाँ आइपुग्न केही मेहनत गरियो होला, खास मेहनत त यहाँदेखि उता हिँड्नको निम्ति गर्नुपर्छ मैले।

३) जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नुभयो ?

केही केही बुझेंजस्तो लाग्छ। त्योभन्दा धेर चाहिं जीवन बुझ्न डल्लै छजस्तो लाग्छ। अहिले जीवन बुझेको भनेको सङ्घर्षलाई निरन्तर राख्नु, लाग्छ। जीवन प्राप्त गर्नको निम्ति जुन जुन संघर्ष मानिसले गर्नुपर्छ, त्यही त्यही मैले पनि गर्नुपर्छ, लाग्छ। सत्ताले आम मानिसको सपनाको व्यापार गरेको मन पर्दैन, त्यसको विपक्षमा उभिने भनेको यही जीवन हो, लाग्छ। मैले मेरो जीवनलाई खास परिभाषा दिनुपर्छ। मेरो जीवनको शीर्षक आफैसितको लडाइँं पनि हो। समयसितको लडाइँँ पनि हो। सत्ता र शक्तिको विरुद्धमा र मानिसको सपनाको पक्षमा उभिनु पनि हो। पहिचानको खोज र जीवनप्रेमी समाजरुपान्तरणको सपना देख्नु पनि हो। एउटै जीवनको अनेक शीर्षक छ मसित। एउटा शीर्षक चाहिं परिवारलाई मूल्य दिनु पनि हो।

४) के रहेछ त वास्तवमा जिन्दगी भनेको ?

जिन्दगी भनेको एउटा त यात्राको निरन्तरता नै हो। त्यो यात्राको बिसाउनी छैन। पुग्नुपर्ने केन्द्रको खोजी नै हो है जिन्दगी त। लडाइँँ त हो नै जिन्दगी, योद्धा पनि हो। कोहीबेला हारिदिनु पनि हो, कोहीबेला जितिदिनु पनि हो। केक्के हो हो जिन्दगी त। जिन्दगीलाई नै बुझ्न खोजिरहनु हो जिन्दगी त।

५) यहाँका प्रकाशित कृतिहरू कति छन् ? तपाईं अँझै कुनकुन विधाका कति कृतिहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?

विम्बगोष्ठी (२००८), घाउका रङहरू (लामो कविता-२००८, यही किताबलाई भारतको साहित्य अकादमी युवा पुरस्कार २०१२ दिइएको हो।) गीतको रिस (२०११) पसिनाको छाला (२०१२) आँखा बाहिर (२०१३) कविता सङ्ग्रहहरू प्रकाशित छन्। अक्टोबरमा काठमाडौंको फिनिक्सले एउटा कविता सङ्ग्रह प्रकाशित गर्दैछ। कथाहरू पनि लेखिएको छ। निबन्धहरू पनि छन्। यसका सङ्ग्रहहरू पनि प्रकाशित गरौं लागेको छ। सकियो भने एउटा उपन्यास पनि लेखूँ कि लागेको छ।
६) तपाईंलाई आफ्नो मौलिक कृतिहरू निकालेपछि कस्तो अनुभूति हुनेगर्छ ?

9 महिना गर्भमा बोकेका नानी जन्मिँदा आमाहरूलाई कस्तो लाग्छ होला? मलाई पनि त्यसतै आनन्द लागेको होजस्तो लाग्छ। समाज र जीवनको निम्ति देखिएका सपनाहरू निक्कै पर पुगेकोजस्तो लाग्छ। मैले भनिराख्नुपर्ने कुराहरू भनियो र त्यसबाट समाजले केही न केही त प्राप्त गर्छ नै भन्ने पनि लाग्छ। मानिसहरूले ती कृतिहरूमा आफूलाई र समयलाई एकसाथ पाउँछ होला, उनीहरूको हरेकप्रकारका सङ्घर्षमा ती कविताहरू कहीं न कहीँ उपयोगी हुन्छ होला भन्ने लाग्छ। यस्तो लागिरहँदा धेरै खुशी लाग्छ।

७) जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न।

सन्तुष्ट छु। जीवनका अभावहरूबाट जीवनको भाव बुझ्न पाउँछु। जीवनका हारहरूबाट जितको अर्थ चिन्न पाउँछु। जीवनका सङ्घर्षहरूबाट जीवनको महत्त्व बुझ्न पाउँछु। यो जीवन नहुनु हो भने संसारको के अर्थ? जीवन त संसारलाई हेर्ने आँखा हो। संसार देख्न पाइरहेको छु। यो संसारलाई शक्तिपिठ र राज्यसत्ताले उनीहरूको स्वार्थ र नाफाको निम्ति प्रयोग गरिरहेको देख्न पाउँछु, सारा मानिस र जीवनसत्ताको पक्षमा उभिन पाउँछु। यो जीवनबाट नै म मानिस हुन पाउँछु। जीवनले संसारलाई सजीवता दिएको छ। अर्थ दिएको छ। त्यही अर्थलाई जोगाउन कविता लेख्ने यो जीवन जुन पाएको छु, त्यो जोकोहीले पाउन सक्दैन जस्तो पनि लाग्छ। मेरो जीवनसित म सन्तुष्ट भएको प्रमाण यी कविताहरू हुन्। वास्तवमा जहाँ, जहाँ जीवनलाई असन्तुष्ट पार्ने खेल हुन्छ, त्यहाँ कविता उभिन्छ। जीवन नहुनु कविता कहाँ हुन्थ्यो? जत्तिपनि असन्तुष्टिहरू छन् मभित्र त्यसैमा सन्तुष्ट छु म।

८) जे भए पनि या नभए पनि भारतीय नेपाली साहित्यिक गतिविधिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? त्यहाँको लेखन कस्तो धारमा हिँडिरहेको पाउनु भएको छ ?

प्रयोगवादीहरू आएपछि भारतीय नेपाली साहित्यको सम्बन्ध आम मानिसहरूबाट टुटेको हो भन्ने लाग्छ। लगभग 1 करोड होलान्, भारतमा नेपाली। साहित्य भन्ने केही बुद्धिवादी र चलाकहरूको कब्जामा पर्यो। प्रयोग परिस्थिति अनुसार गरिन्छ। समय र सत्ताले जुन कठिन परिस्थिति निर्माण गर्छ अनि आवाजमाथि प्रतिबन्ध लाग्छ, तब प्रयोगले काम गर्ने हो। भारतीय नेपालीहरूले विदेशीको लाञ्छना खपिरहेको बेला, आसाम, बर्माहरूबाट नेपाली खेदिरहेको बेला, गोर्खाहरूले दुःख पाइरहेको बेला लेखकले चाहिं मानिसले नबुझ्ने साहित्य लेख्नुभनेको ती लेखक पनि एउटा सत्तासमान हुनु हो, जो आम मानिसलाई कीरा पठ्याङ्ग्रा ठान्छन्। केही सम्भ्रान्तहरूको टुँडिखेल भयो साहित्य। तर त्यो पनि भारतीय नेपाली साहित्यको इतिहास हो, यात्राको निरन्तरता हो। पटक्कै नबुझिनेदेखि लिएर सहजै बुझिनेसम्मका साहित्य यता लेखिएका छन्। कति सर्जकहरू बुद्धि देखाउँछन्, पश्चिमका कुराहरू तानतुन पारेर एउटा केही आफ्नो बनाउँछन् र देखाउँछन्, यस्तो चटक नदेखेकाहरू हो न हो..ठूलै कुरा हो भन्दै उचाल्न थाल्छन्। वास्तवमा यस्ता चटकेहरूले भारतीय नेपाली समाजलाई उचाल्ने साहित्य कति लेख्यो, त्यसबारे कसैले चिन्ता गर्न जानेका छैनन्। पश्चिमी विचारका दासीहरूले पनि नेपाली साहित्यलाई विश्व साहित्यको हारारी पुर्याउन अनेकौं दुःख गरेका छन्। तर पुगेको कहीं छैन। दार्जीलिङको कुरा गर्नु हो भने पश्चिम बङ्गाल राज्यसम्ममा पनि पुगेको छैन भारतीय नेपाली साहित्य। छुटपुट लेखकहरूले भारतीय नेपाली समाज, उनीहरूको संस्कृति, सहन सहन, आर्थसामाजिक, राजनैतिकपक्षलाई लेखनबाट उजागार गरिरहेका छन्। मैले मूल्याङ्कन गर्दा भारतीय नेपाली साहित्य बामे मात्र सर्दैछ। अहिलेसम्म जत्ति पनि भारतीय नेपाली साहित्यको पहिचान बनेको छ, त्यसमा अनेकौं पुर्खाहरूको योगदान छ। धरणीधरहरू, पारसमणिहरूदेखि लिएर इन्द्रबहादुर राईहरूसमेतको ठूलो योगदान छ। उनीहरूले कमसेकम भारतका नेपालीहरूको पनि साहित्य छ भन्ने कुरा बताइसकेका हुन्। त्यतिखेर यहाँको साहित्यलाई पहिचानको सङ्कट थियो। भाषाले संवैधानिक मान्यता पाएपछि केन्द्र र राज्यसत्ताले समेत यो साहित्यको उपस्थितिको आभास प्राप्त गर्यो।

भाषिक र जातिकरूपमा सङ्कट भोगिरहेको बेला साहित्यले भने (पश्चिमी सिकोमा) प्रयोगहरू गरिरहेको स्थिति पनि आयो। त्यसले केही उचाल्यो साहित्यलाई तर समाज फेदैमा छोडियो। अहिले साहित्यसंगसँगै त्यो छोडिएको समाजलाई पनि उचाल्नु ताक्नु पर्छ, शैलीको लेखन चलिरहेको छ। पछिल्लो पुस्तामा यो समयचेत शसक्त छ। उनीहरूले अहिले हस्तक्षेप नाममा यही लडाइँँको लेखन पनि गरिरहेको छ।

९) साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? प्रखर सार्थक या सुस्त निरर्थक ?

यौन आउँदा के हुन्छ र ? मानिसको व्यक्तिगत जीवनमा आउने सङ्कटको सभैभन्दा बलियो केन्द्र यौन पनि हो। यसमा धेरै समस्याहरू छन्। त्यसलाई साहित्यले उचित र साहित्यिक मर्यादामा अघि ल्याउनुपर्छ। तर यौनलाई सस्तोरूपले ल्याउनु त्यो लेखकको रोग हो। यौन साहित्यमा खास उद्देश्यको निम्ति आउनुपर्छ, अनि त्यो उद्देश्य खराब हुनुहुँदैन।

१०) नेपाली साहित्यको सन्दर्भमाभन्दा सम्वत् २०४६ अगाडिका साहित्यिक कृतिहरू र समकालीन नेपालीका साहित्यिक कृतिहरू गुणवत्ता र प्रभावकारिताका हिसाबले कत्तिको फरक पाउनुभएको छ त ? उल्लेख नै गर्नु पर्दाका अवस्थामा कस्तो अवस्था छ ?

फरक छ नै। अघि आख्यानमा गम्भीर मुद्दाहरूलाई गम्भीरतासित लेखिन्थे तर उनीहरूको भाषा पनि गम्भीर हुन्थ्यो। अहिले गम्भीर मुद्दालाई सहजरूपमा सहज भाषामा लेखिन्छ। पहिले गम्भीरैगम्भीर थियो, अहिले गम्भीर र सरलकोबीचमा छ लेखन। कविता अहिले सम्पूर्ण मानिसहरुको निम्ति भएको छ। बजारले साहित्यलाई उन्नत व्यवसाय मान्दैछ। अघिका कृतिहरू(राम्रा) सधैँ बाँच्ने शक्तिका छन् कति, अहिले उस्तैशक्तिका कृतिहरू थोरै छन्। गम्भीरतामा अहिले केही ह्रास देखापरे पनि राम्रा कृति आउने सम्भावनाका धेरै लेखकहरू छन्।

११) तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान÷अनाख्यान कृतिहरूमध्ये कसकसका कुनकुन कृतिहरू कुन हदसम्म मन पर्छन् ? भारतीय नेपाली साहित्यमा नामै किटेर भन्नु पर्दा केके हुन् त ? कृपया अलि विस्तारमा जाऊँ न ।
आख्यानमा नेपालको सन्दर्भमा नयनराज पाण्डेको लू धेरै मनपरेको हो। भारतको अतिक्रमणविरुद्ध निर्माण हुँदैगइरहेको सीमानाको प्रतिरोधीचेतबारे यसले धेरै कुरा खोतलेको छ। भारतको राष्ट्रिय झन्डालाई कट्टु बनाएर लाउने पात्रको मानसिकताका निर्माताहरूबारे घोत्लिन लगाउँछ। उर्गेनको घोडा, प्रेतकल्प, दुर्भिक्ष, आधाजून, कर्णाली ब्लुज, सेतो धरती, हेत्छाकुप्पा खुब मन परेको हो। कविताका र निबन्ध पनि धेरै मनपरेको छ।

यताका आख्यानको अवस्था खराब छ। पढ्नैपर्नेगरी लेखिएका आख्यान छैन नै। मत्स्येन्द्र प्रधानको ‘निलकण्ठ’ साह्रै सुन्दर कृति हुन्। दार्जीलिङ्गीय सामाजिक मनोविज्ञान र चरित्र खुब सुन्दरसित आएको छ, त्यसमा। इन्द्रबहादुर राईको ‘आज रमिता छ’ ठिकठिकै को हो त्यसको तुलनामा। पछिल्लो पुस्ताका आख्यान पढ्नैपर्ने लायक लाग्दैन। लेखिन चाहिं धेरै लेखिएका छन्। पढौंपढौं लाग्ने छैन। जबरजस्ती धेरै पढियो। न कोरियोग्राफी, न डिजाइन, न विचार न कला। कथा भन्ने सपाट शैलीका आख्यान म पढ्दिन। राम्रो आख्यान वर्तमान समयमा कसैले लेखेका छन् भने मैले पढेको छैन। कथाहरू भने इन्द्रबहादुर राईका विपना कतिपयका कतिपय राम्रो हो। अरु त झुर लाग्छ। कथाले मसित कनेक्ट नै गर्दैन। धेरै बुद्धि खियाएर पढ्यो, विचारको चुर झुर। स्टाइलमात्र पनि काम लाग्दैन। अरुमा गुप्त प्रधान, सञ्जय विष्ट, सानु लामा, उदय थुलुङ, सूरज धडकन, विन्द्या सुब्बा र अरू पनि केही राम्राहरू छन्। निबन्धमा रामलाल अधिकारी यता राम्रा हुन्। कविता चाहिं धेरै राम्रा छन्। भारतीय नेपाली साहित्यलाई धानेको नै कविताले हो। वर्तमान समयमा निस्किएका किताबहरूमा कविताले नै बढी छोएको छ। जस्तो मनप्रसाद सुब्बाको ऋतु क्यानभसमा रेखाहरू, भुइँफुट्टा शब्दहरू, केवलचन्द्र लामाको आँखेझरी र घर। राजेन्द्र भण्डारीका क्षरअक्षर, शब्दहरूको पुनर्वास, पखेटा र प्वाँख, राजा पुनियानीको अर्को लश्कर, रेमिका थापाको गाउँमा कविता, टीका भाइको पाइतालातल्तिर खुब राम्रा किताब लाग्छ। अँझ अन्य धेरै कविका धेरै राम्रा कृतिहरू पनि छन् मलाई मनपर्ने। नोर्जाङ स्याङदेनका कविताहरू खुब राम्रा लाग्छन्। विकास गोतामे, अगमसिंह गिरी, जीवन थिङहरूको कविता राम्रा लाग्छन्।

१२) यतिका मान्छे साहित्य लेख्छन् ? तपाईंले नै यति परिश्रमपूर्वक साहित्य किन लेख्नु पर्यो होला ?

होइन सबैले नै परिश्रमपूर्ण नै लेख्छन्। म पनि त्यसरी नै लेख्छु। मैले त्यसरी लेख्नुपरेको लेखनलाई प्रभावकारी, शक्तिशाली बनाउनुपर्छ भन्ने चेतले नै हो। लेखिएपछि त्यसबाट केही नयाँ, केही अलग, केही फरक र केही उपयोगी कुरा पाउन भन्ने सोचले परिश्रम गर्न लगाउँछ। जे पायो त्यही लेख्ने होइन, केही लेख्दा गम्भीरतासित र इमान्दार भएर लेख्नुपर्छ, यसको लागि परिश्रम त गर्नै पर्यो नी। कला र विचारलाई अभिव्यक्तिमा लैजाँदा यो समाजलाई प्रबुद्ध बनाउने उद्देश्यसहितको हुनुपर्छ भन्ने कुराको चेत आफूसित हुँदा मेहनत गर्नुपर्ने स्थिति आइपर्छ। खास मुद्दा र सरोकारको कुरा आएन भने कृति बाँच्दैन। मनको लहड लेख्ने, स्टाइलिस चाहिं हुने तर विचारमा दरिद्र हुने, बौद्धिकताको कुरा त गर्ने तर त्यो उसको समय र समाजको निम्ति नभएर कुनै स्वैरकल्पित टापूको निम्ति हुने, आत्मरति लेख्ने, अप्रतिबद्ध र सस्तो लेखनको विरुद्ध विचार निर्माण गर्ने, हाइरार्की तोड्ने, मठ र गढ भत्काउने, जडवादी र आइटडेडेटहरूको होहल्लाबाट लेखनलाई प्रतिबद्ध र मानिसको निम्ति बनाउने काममा लाग्नुपर्ने दायित्व आएकोले मैले मेहनत गर्नुपरेको हो।

१३) उत्तरआधुनिकता भनेको के हो ? तपाईंका विचारमा भारतीय नेपाली साहित्यमा यसको प्रयोग केकसरी भैरहेको छ ? किन साहित्यकारहरू यो वाद या विचारमा कित्ताकाट गरेर बाँडिएका होलान् ? के यो वाद विवादको गूढार्थ वर्तमान परिस्थितिमा समिचीन लाग्दछ त ?

खै के हो यो उत्तराधुनिकता। उत्तराधुनिक भनिएका किताब पढिएको छैन। पढिएकोमा कुन उत्तर कुन पश्चिम छुट्याउन सकिएको छैन। नेपाली समाजका दुःख, उनीहरूको सङ्कट, उनीहरूको बिद्रोह, उनीहरूको सपना, उनीहरूको सत्ता, मूल्यहरूलाई नै लेखिसकिएको छैन। गोविन्दराज भट्टराईको उत्तराधुनिक ऐना पढें। तिनको उत्तराधुनिक आलोचना जस्तो त यता हाम्रा डा. हर्कबहादुर छेत्रीले ख्यारख्यार लेखिदिन्छन्। केही नयाँपन छ लाग्दैन। वास्तवमा साहित्यमा आएको यो एउटा ज्ञानुशासनको कुरा होला। ठूलो कुरा होला। उति चासो लाग्दैन। कराइबस्छन् उत्तराधुनिकता र उत्तराधुनिकतावाद भन्दै। उति सुनेको छैन। उनीहरू कताकताबाट ज्ञान, विचारहरू बोकेर आउँछन्। यतैको वस्तुस्थिति, समय, सभ्यता, सरकार, समाज, संस्कार, पहिचान, सङ्कटकहरू बुझिनसक्ने थोक छ। यस्ता कुरामा विवाद गरिरहेकाहरुले पण्डित्याईँ देखाइरहेकोजस्तो पो लाग्छ। अंग्रेजीमा पोस्टमर्डनिज्म पढ्नेहरूले नेपालीमा उत्तराधुनिकता भनिरहँदा मलाई यी अनुवादकहरूले देखाएको फुइँमा साह्रै हाँस उठ्छ। जुन दिन यहींको भूगोल, इतिहास, हावापानी, समय, माटो र समाजलाई केन्द्रमा राखेर यसले रैथाने डिस्कोर्स गर्छ, केही चासो दिउँला। साहित्यको अर्थ नै छैन भन्ने कित्ताका डिस्कोर्स काम लाग्दैन मेरो समाजमा।

१४) यतिको उमेरको भैसक्नुभयो अबको समयको जीवनमा यहाँको केके अभीष्ट धोको रहेको छ त ?

छन् धोकोहरू त। छोरोलाई पढाइसक्नु छ। एउटा घर बनाउनु छ। राम्रो कृति लेख्नु छ। भर्खर त ३५ पुगेँ। गर्नु धेरै छ।

१५) स्वमूल्याङ्कनका आधारमा तपाईं सफल कि असल मानिस हो ? कृपया प्रष्ट पारिदिनुहुन्थ्यो कि ?

उति सफल लाग्दैन मलाई। के नै पो लेखिएको छ र। असफल मानिस नै हुँ म। र त सङ्घर्षरत छु। म कहिल्यै सफल बन्न चहान्न। सफल भएको दिन मेरो मृत्यु हुन्छ। लेखनको मृत्यु हुन्छ। सधैँ असफल भएँ भने केही गर्नु छ भन्ने बोध भइरन्छ। र निरन्तर हुनसक्छु।

१६) विदेशी भूमिबाट अहिले विभिन्न मानिसहरुले लेखिरहेका विभिन्न प्रकारका साहित्यलाई तपाईंको सग्लो विचारबाट कसरी मूल्याङ्कन गर्नुभएको छ ? कृपया विस्तृत रूपमा बताइदिनुहोस् न ?

उनीहरू विदेशी भूमिमा बसेर पनि आफ्नो देशलाई सम्झेर लेखिरहेका छन्। जतै बसेर लेखे पनि राम्रो चाहिं लेख्नुपर्छ। विदेशमा बसेर विदेशी भाषामा लेखुन वा नेपाली भाषामा लेखुन्, नेपाली सरोकारका, नेपालीपनका लेखन आउनुपर्छ।
विश्वका विभिन्न लेखकहरूले लेखिरहेका साहित्य यता आइपुग्दा उनीहरूको भाषा, समाज, संस्कृति, सङ्कट, सङ्घर्षहरूसित नै आइपुग्छ। उनीहरूको मूल्य र सरोकारहरू आइपुग्छन्। ती पढेर उनीहरूलाई र उनीहरूको साहित्यलाई बुझ्न सकिन्छ। विश्व र विश्वसमाज कसरी बनिएको छ भन्ने कुराको अवधारणा बनाउन सकिन्छ। मानिसका सङ्कटहरू, जीवन, युग, र विविधता बुझ्न पाइन्छ। उनीहरूलाई हामी अनुवाद मार्फत पढ्छौं। उनीहरूलाई पनि हामीले हाम्रो साहित्य पढाउनुपर्छ।

७) नेपालका जानी नजानी भएका वा गरिएका साहित्यिक गुट उपगुटहरूलाई तपाईं भारतीय नेपाली साहित्यको उच्च कोटीको दृष्टिकोणबाट कुन रूपमा मूल्यांकन गर्नुहुन्छ र कसरी ?

गुट विचारले निर्माण हुन्छ। वास्तवमा सबै गुटहरूले साहित्यको निम्ति नै काम गरिरहेका हुन्छन्। एउटा गुटले अर्को गुटलाई गरेको निषेध पनि उर्जाकोरूपमा लिएर त्यसलाई लेखनमा नै खर्च गर्ने हो भने साहित्य उठ्छ। वास्तवमा गुटहरू हुनुपर्छ। नेपालको बुटपालिस, राल्फा तथा यस्ता धेरै गुटहरूको कामबाट नै नेपाली साहित्य अघि बढेको छ। हरेक गुटले आफ्नो समयमा प्रभावहरू छोड्छ। अहिलेको सिर्जनशील अराजकताको प्रभाव होस वा रङवादीहरूको प्रभाव होस, पछिल्लो पुस्ताले त्यहाँबाट अघि बढ्ने विचार र डिस्कोर्स भेट्छ। नेपाली साहित्यले प्राप्त गर्ने सौन्दर्यहरूले यस्तै कामहरूबाट गति प्राप्त गर्छ। तेस्रो आयामको गुट, लीलाको गुट पछि सङ्क्रमण, विचलन, किनारीकरणको गुट हुँदै यता पनि हस्तक्षेपसम्म आइपुगेकै छ। वास्तवमा यसलाई गुट नभनेर एक्टिभिटीज मान्नुपर्ला। यस्तै एक्टिभिस्टहरूले जडता तोड्छ। मठ तोड्छ। हाइरार्की तोड्छ। साहित्यमा लुकाइराखेको ढोङ तोड्छ। खास कुरा अघि आउँछ। हामीचाहिं सामुहिक प्रतिबद्धताको पक्षमा छौं, लेखनमा।

१८) कागजका खोस्टामा सीमित रहेका तथाकथित समग्र भारतीय र नेपाली साहित्यिक संस्थाहरू र पुरस्कार लेनदेनमा गनाएका त्यस्ता संस्थाहरूले एउटा ऊर्जाशील लेखकलाई साहित्य लेख्नका लागि के भरथेग गर्न सक्ने स्थिति छ, भारतमा र समग्र नेपालमा अहिले ?

भारतमा त छैन। नेपालमा छ कि? थाहा छैन। तर यस्ता संस्थानहरूले लेख्नको लागि भरथेग गरेको समाचार चाहिं साह्रै सुनिएको छैन। पुरस्कार दिने काम पनि वास्तवमा लेखक मार्ने कारखाना नै हो। सही लेखकलाई पुरस्कार नदिएर त्योभित्र अन्य चलखेल भयो भने त त्यो राम्रो काम हुँदैन। यस्तो नभएका संस्था देखिएको छैन। भारतमा पुरस्कारहरू बदमान छन्। नेपालमा पनि उस्तै होला। केही मात्र मर्यादित होलान् कि?

१९) प्रकाशन गृहहरूको अहिलेको नेपाली पुस्तक व्यवसायमा भएको आक्रामक उपस्थितिले साहित्य लेखनका लागि लेखकलाई र पठनका लागि पाठकलाई कस्तो दिशानिर्देश गर्दै कतातिर लैजाँदै छन् जस्तो लाग्छ तपाईंलाई ?
नेपालमा प्रकाशन गृहहरूले लेखकहरूलाई प्रतिस्पर्धी बनाएको छ। लेखकहरू प्रतिस्पर्धी र दायित्वशील भएको राम्रो हो तर प्रकाशन गृहहरू प्रतिस्पर्धी हुँदा दायित्वमा चुक्ला कि भन्ने भय हुन्छ। बजार पक्रिनको लागि सस्तो किताबहरूको प्रकाशनमा प्रतिस्पर्धा भयो भने घाटा साहित्यलाई हुन्छ। उनीहरूलाई चाहिं नाफा। राम्रा कृतिहरू प्रकाशनमा प्रतिस्पर्धा भयो भने लेखक पाठक सबैलाई नाफा हुन्छ। भारतीय नेपाली समाजमा चाहिं यस्ता प्रकाशकहरूको उपस्थिति न्यून छ। नेपालका अहिलेका प्रकाशकहरूले आक्रमक बजार बनाएको छ। धेरै राम्रा कृतिहरू आइरहेको छ। तर लेखकहरू सबै आख्यानतिर तानिए। राम्रा आख्यान आउन छोड्यो। तर लेखक र पाठकलाई भने लेखन र पठनमा आकर्षित भने गरिरहेको छ।

२०) भारतीय नेपाली साहित्य र नेपाली साहित्यलाई विश्व साहित्यको दाँजोमा कहाँनेर पाउनुहुन्छ यहाँले ?

भाषालाई केन्द्रमा राखेर भन्ने हो भने नेपाली भाषाको साहित्य लगाएर नै विश्व साहित्य बनिन्छ। नेपाली छोडेर बनिँदैन। तर जबसम्म नेपाली साहित्य अनुवाद भएर विश्वभरि पुग्दैन तबसम्म नेपाली साहित्यको उचाईँ नाप्नु सकिन्न। दाँजो नाप्न सकिन्न। यस अर्थमा नेपाली साहित्यको दाँजो विश्वका अन्य साहित्यसित हुनेकिसिमको लेखन भइसकेको छैन। नेपाली साहित्य त्यहाँसम्म पुगेकै छैन। पुग्यो भने मलाई विश्वास छ, नेपासी साहित्यको उचाईँ धेरै अग्लो छ।

२१) भारतीय नेपाली साहित्य र नेपाली साहित्यलाई अनुवाद गर्न किन सरकारी र गैरसरकारी स्तरबाट उदासिनता देखाइएको होला त ?

साहित्य बुझ्ने सरकार नआएसम्म यस्तै हो। सरकारी स्तर उदासीन हुनुमा ठिक मानिस नपुगेर पनि हुनसक्छ। ठिक मानिस पुगेर पनि सरकारी उदासीनताको कारण पङ्गु बन्ने कारणले पनि होला। कुन कृति अनुवाद गर्नु? त्यसको प्रभाव के होला, कसरी त्यसलाई विश्वमा पुर्याउनुभन्ने कुरा गम्भीर कुरा हो। जागिरेहरूले यस्तो काम गर्दैनन्। निकाय त छ तर काम गर्नै नसक्ने। गैरसरकारी स्तरको पनि अवस्था उस्तै हो। विभिन्न भाषाका राम्रा प्रकाशनसम्म पुर्याउने माध्यमको कमि छ। राम्रो कृतिको अनुवाद गरेर ती प्रकाशनगृहमा पुर्याए राम्रो बजार पाउन सक्ने हो। तर गर्ने कसले र? यो उदासीनतामा इच्छाशक्ति र योजनाको अभाव कारक लाग्छ।

२२) तपाईंको स्वमृत्यु चिन्तन खासमा कस्तो खालको रहेको छ ? मजाले बताउनुहोस् न।

मेरा केही सानातिना सपनाहरू छन्। त्यसका दुस्मननै मृत्यु हो। त्यो पुरा यदि भएन भने त्यो मृत्युको कारण नै हुनेछ। मृत्यु सबैभन्दा शक्तिशाली हुन्छ। म व्यक्तिगतरूपमा यसलाई जित्ने कोसिस गरिरहनेछु।

२३) भारतीय नेपाली साहित्यकारहरुको आर्थिक अवस्थाका बारेमा बेलाबेलामा पत्रपत्रिकामा आउने लल्लरीबिल्लरीलाई यहाँ कस्तो रुपमा हेर्नुहुन्छ ?

सबै भारतीय नेपासी साहित्यकारहरुको अवस्था खराब छैनन्। ती पत्रपत्रिकामा कस्ता लल्लरीबिल्लरी आउने गरेका छन्, त्यो मलाई थाहा छैन। दुवैतिरका भारतीय नेपाली र नेपाली, साहित्यकारहरूको अवस्था उस्तै उस्तै हो। साहित्यकारहरुको आर्थिकपक्ष खराब पनि हुनसक्छ, राम्रो पनि। यसमा भन्नुपर्ने खास कुरा केही छैन।

२४) भारतीय र समग्र नेपाली साहित्यको विश्वव्यापीकरणले नेपाली साहित्यलाई समूल नाफा या घाटा के भइरहेको छ त ?

निश्चितरूपमा नाफा नै हुने हो। नेपाली साहित्य विश्वव्यापी बन्यो भने विश्वभरि नेपाली मानिस पनि पुग्नेछन्। नेपाली मानिससित उसको देश, भाषा, संस्कृति पनि पुग्नेछ। विश्वलाई भन्नेछ, विश्व साहित्य बनिन नेपाली साहित्यको पनि यस्तो योगदान छ।

२५) नेपाली भाषामा लेख्ने साहित्यकारहरुको विदेश पलायनलाई कुन रुपमा हेर्नुहुन्छ ? सकारात्मक या नकारात्मक ?

सरकारले सम्बोधन गर्न नसकेका क्षेत्रहरू अनेक छन्। तर लेखकहरू पलायन हुनुमा धेरै कारणहरू हुनसक्छ। सत्ता पनि दायी हुनसक्छ। आर्थिकसमस्याको कारण पलायन भएको हो भने त्यसमा सरकारको व्यवस्थापनमा दोष लाग्छ। लेखकीयरूपमा पलायित हो भने त्यो घाटाको कुरा होइन। ऊ देशबाट पलायित भएको होला तर उसको लेखन पलायित हुँदैन। स्पेसको खोजी लेखकको खास चरित्र हो। जतै गए पनि ऊ लेखनमा छ भने त्यो सबैको निम्ति राम्रो खबर हो।

२६) लेखक महोदय पुरस्कारले एउटा लेखक बाँधिन्छ या मर्छ भनिन्छ नि के यो विचार शाश्वत हो त ? यहाँको आस्थागत विचारमा के यो विचार ठिक छ त ? अलि विस्तारमै जाऊँ न ।

त्यो त लेखकको चेतमा भरपर्छ। पुरस्कार पाएर मर्ने लेखक उत्तरदायी र इमान्दार होइनन्। अवसरवादी हुन्। पुरस्कारैले बाँधिने लेखक पनि उही कित्ताका हुन्। पुरस्कार राम्रो काम सकार्न दिइने हो। राम्रो काम बिगार्न होइन। यसको हेक्का त लेखकमा नै हुनुपर्यो। पुरस्कार पाएर धेरै मरेका र बाँधिएका घटना देखेर नै यो विचार आयो होला। तर साँचो लेखक न त मर्छ न त बाँधिन्छ। जो मर्दैन र बाँधिदैन ऊ नै असली लेखक पनि हो।

२७) पारिवारिक सहयोग कस्तो छ यहाँको परिवारमा लेखनका सन्दर्भमा ? सहयोग या असहयोग ?

परिवारको सहयोग छ। मेरो लेखन राम्रो होस, कुनै बाधा नहोस भनेर सबै सतर्क रहन्छन्। विशेष गरी श्रीमती भक्ति। तिनको सहयोग बिना मेरो लेखन अघि बढ्दैन।

२८) कहिलेकाहीँ सोचेजस्तो शाश्वत साहित्य लेख्न पाएकोमा खुसी या कहिलेकाहीँ सोचेजस्तो लेख्न नपाएकोमा तपाईंलाई दुःख लाग्ने गरेको छैन ?

शाश्वत भन्ने कुरा हुँदैन भन्ने पक्षमा छु म। राम्रो लेख्न सकेको बोध अहिलेसम्म भएको छैन। राम्रो लेख्न नपाएको चुकचुक त छँदैछ। त्यो चुकचुक छ र नै निरन्तर पनि छु।

२९) यो लेखन वास्तवमा इलुइजन जस्तो लाग्दैन यहाँलाई ? बाँचुन्जेल रामरौस र चर्चापरिचर्चा र मरेपछिका दुईचार दिन पछि सबैले बिर्सने ? बलेँसीको पानीफोका जस्तो ?

लेखन भ्रम त होइन नै। यो त दायित्वपूर्ण कार्य हो। लेखन रामरौस पनि होइन। विलास होइन लेखन। चर्चा परिचर्चा चाहिं चाहिन्छ, आफू अभेको भुइँ कत्तिको बलियो भनेर जान्ने ठाउँ चर्चा परिचर्चा नै हो। मैले धेरै दिवंगत लेखकहरूलाई अँझसम्म पढ्दै आइरहेको छु। राम्रो कृति र लेखक कहिल्यै मर्दैनन्। जिम्मेवारपूर्ण लेखन र आफ्नो समयलाई लेख्न जान्नेहरू वास्तवमा मर्दैनन्। मर्ने वित्तिकै भुलियो भने त्यो लेखकको स्तर नाप्ने घटना पनि हो त्यो मृत्यु। सधैँ बाँच्ने, सम्झना गर्ने, पढ्ने लेख्न नसक्नेहरू मर्छन्।

३०) अन्त्यमा, नयाँ छिमलका लेखकहरूलाई के जीवन्त र उम्दो सल्लाह दिन चाहनुहुन्छ ?

मेरो नानी बामे सर्थ्यो। सधैँ धिप्री छुन खोज्ने। नानीले धिप्री छोइदेला र हात जल्ला भनेर सबैमा त्रास। सबै सतर्क। मैले नानीलाई धिब्री छुनमा रोकिन। उसको हात पोल्यो। चिच्याएर रोयो। घरकाहरू सबै ममाथि खनिएँ। मैले भने, आजुदेखि नानीले कहिल्यै धिब्री छुँदैन। उसले छोए पोल्छ बन्ने कुरा जानिसक्यो।

नयाँ छिमलका लेखकहरूलाई पनि यही सुत्र अप्नाउँछु। उसैलाई थाहा हुनुपर्छ, लेखन, दायित्व र जिम्मेवारीबोध। लेख्न र पढ्नमा यसैकारण गम्भीरता चाहिन्छ।

।। समाप्त ।।
मनोज बोगटी
जन्मः १ जुन १९७९
पिताः स्व. कमल बोगटी
माताः मिना बोगटी
जन्मस्थान-५३ ब्लक, दलगाउँ, दार्जीलिङ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *