जति हेरे नि हेरौ हेरौ लाग्ने मोरी कस्ती काली
तानी बाहूमा बेरौ बेरौ लाग्ने मोरी कस्ती काली।।१।।
नशा कस्तो रुपको उन्को भुतुक्कै भए नि म त
सितालाईझैं हरौ हरौ लाग्ने मोरी कस्ती काली।।२।।
हृदयमा राखे उन्लाई मन पराई सके मैले
उन्कै भरमा परौं परौं लाग्ने मोरी कस्ती काली।।३।।
मिनाक्षी नयन उनका मन्ध मुस्कान अझै राम्रो
उनकै निम्ती मरौं मरौं लाग्ने मोरी कस्ती काली।।४।।
बगैंचामा कस्तोसँग फूल लोभाएर फक्रिएको
बोटै मनमा सार्यौ सार्यौ लाग्ने मोरी कस्ती काली।।५।।
