Skip to content

मेराे सम्झना


२०२१ वा बाइस सालतिरको कुरा हो । हिंउदको बेलामा सेउले पाठशालामा गाउँका समकक्षीहरू पढ्न जान्थे, म भने घरमा पितामाताबाट यसअघि नै अक्षरहरू चिनी निकै माथिका कुराहरू पढलेख गर्ने भइसकेको थिएँ । रुद्री चण्डी र अरु अरु धार्मिक कुराहरू निकै पढिसकेको थिएँ ।

म यसरी घरमै पढेर अलिक माथिल्लो तहको भइसकेको भए पनि सबै साथीहरुले पढ्ने पाठशालामा जान नपाएकोमा दिक्क मान्दोरहेछु क्यारे । अरु अरु साथीहरुका हातमा चित्रसहितको ‘ठूलो वर्णमाला’ को किताब देखेर मलाई लोभ लाग्थ्यो । आमाले कसरी हो मलाई पनि सचित्र ठूलो वर्णमाला किनेर हो वा कसरी हो ल्याइदिनु भयो । अङ्ग्रेजीका धेरै कुराहरू गणित र साधारण जीवनका उपयोगी कुराहरू त्यस ठूलो वर्णमालामा थिए भन्ने लागेको छ अहिले । एक प्रकारको शिशु कक्षादेखि कक्षा आठ नौ दससम्मका लागि कामलाग्दा पाठ्य सामग्रीहरुसँग काम लाग्ने कुराहरू यसमा थिए । आज भोलि पनि बजारमा कताकता देखिन्छ त्यो किताब, आज त्यो कस्तो छ थाहा छैन ।

आमाले ल्याइदिएपछि मलाई यो किताब सक्न कुनै भद्रो हेर्नु परेन । कति बेला सबै पढिसकियो थाहा छैन । यसको सुरुवात अआइई देखि क्षत्रज्ञकै रुपमा थियो । वर्ण, मात्रा, नाम, सर्वनाम लगायतका कुराहरू यसमा क्रमिक रुपमा आएका थिए होला जस्तो लाग्छ । अनि गणितका कुराहरू पहाडा, नीतिका कुराहरू पनि थिए । रामरी पढेका खण्डमा अङ्ग्रेजी पनि यस पुस्तकले केही सिकाउँथ्यो । अहिले अरु सबै ता बिर्सिसकियो तर त्यस पुस्तकका हरेक पाताको तल पुछारमा लेखिएको वर्णपरिचयात्मक कविता भने अहिले पनि कण्ठ छ । त्यो कविताको लेखक को थियो होला, मलाई जान्न पनि उत्सुकता छ । म अदेखि ज्ञसम्मका अक्षरलाई आधार बनाएर लेखिएका ती कविता अब यहाँ प्रस्तुत गर्ने अनुमति माग्छु । अ अक्षरको चिनारीसँग अमलाको फलेको रुख देखिन्थ्यो । अचेका किताबमा ए फर एप्पल भनेको ठाउँमा स्याउ देखाएजस्तो ।

कसैसँग उक्त ठूलो वर्णमाला पुस्तक छ भने भीडाएर हेरे हुन्छ : अलिकति तलमाथि भयो भने मेरो स्मृतिको र उक्त पुस्तककै मान्नु हुन पनि अनुरोध छ । अक्षर चिनाउने कविता यस्ता थिए :

अमला रुखमा हेर फलेको
आँप उडाऊ आज गलेको ।
इमली अमिलो हुन्छ नखाऊ
ईश्वरको महिमा गुण गाऊ ।

उल्लु हुँहुँ गर्छ कराई
ऊखु मिठो लाग्छ मलाई ।
ऋषिजी बस्छन् ध्यान लगाई
लृ कौवाले लग्यो उडाई ।

एक्कामा चढी जाऊ डिल्ली
ऐनामा मुख हेर्दछ बिल्ली ।
ओखलीमा सब कुट्छन् धान
औषधी वैद्य बनाउँछन् जान ।
अम्बा अमृत तुल्य छ मिठो
अ: यो केटो कस्तो ढिटो ।

कमलको फूल भ्रमराले खायो
खटिया माथि बस्यो खरायो ।
गदाहा माथि छ धोबी चढेको
घडी हेर लौ तीन बजेको ।

ङ्याङ ङ्याङ ङुङ ङुङ बच्चा गर्छन्
चरा बारीमा चारो चर्छन् ।
छडी गुरुजी हातमा लिन्छन्
जहाज जङ्गी जलमा चल्छन् ।

झन्डा फर फर गर्दछ हेर
ञ…ञ बालक रुन्छ कनेर ।
टपरीमा सब खान्छन् भात
ठगले ल्यायो थैली हात ।

डमडम डमरु बज्दछ हाम्रो
ढकनामाथि फूल छ राम्रो ।
ण ण विणा सुन्दर स्वर
तवल तन्हिक तन्हिक जोर ।

थलियामा सब राख्छन् मिठाई
दही ग्वालाले बेच्छन् आई ।
धनुषधारीले हान्दछ तीर
नगरा ढोक्तछ जोध्धा वीर ।

पहलमानहेरु कुस्ती खेल्छन्
फल पाकेपछि भैंमा झर्छन् ।
बखरी बनमा दुबो चर्छ
भन्टा खाए बैगुन गर्छ ।

मह मौरीले जम्मा गर्छन्
यम पापीको सातो हर्छन् ।
रथमा राज भएका राजा
लड्डू लड्काको हो खाजा ।

वकिल हिंडेका अड्डा जान
शरिफा पाक्यो जान्छु म खान ।
षडमुख चले चढी मुजुर
सधवाका शिरमा हेर सिंधुर ।

हरिणीका छन् ठूला आँखा
क्षत्रीय रणका बिघ्न चनाखा
त्रास देखाउँछ राक्षस हेर
ज्ञानी बस्छन् जङ्गल नेर ।।

यति भएपछि मैले सरस्वती स्तोत्र र प्रभुप्रार्थना पनि रटेको रहेछु सायद त्यो स्तोत्र र प्रार्थना किताबको अन्तमा दिएको हुनु पर्ने हो । कतातिर छापिएका थिए थाहा भने छैन । सरस्वती स्तोत्र यस्तो थियो :

सेता कमल्का फूलमा बसेकी
कमल् स्वरुपै पहिरन् भएकी
पुस्तक् वीणा सोर असल गराई
सरस्वती वाणी दिनोस् मलाई ।।

अनि प्रभुप्रार्थना यस्तो थियो :

प्रभु छन् सबका सुख शान्ति दिने
प्रभु छन् सबका सब भार लिने
प्रभु छन् जगमा जलमा थलमा
प्रभु छन् नभमा पृथिवीतलमा

नभमा ग्रह चन्द्र र सूर्यहरू
जगमा पशुपन्छी र वृक्षहरू
फलफूल लता जल जो जति छन्
बुझ यी प्रभुकै रचना सब हुन्

तनले मनले धनले जनले
प्रभुको स्तुति नित्य गरौं सबले
सुखशान्ति दिनन् प्रभुले तब पो
जति पाप छ भष्म गरी सबको ।
धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *