दसैँ भन्ने बित्तिकै म बाल्यकालीन सम्झनामा पुगिहाल्छु। ऊ बेलामा दसैँ अग्र्यानिक हुन्थे अचेल ब्रोइलर हुन थालेका छन्। म तराईमा जन्मेको मानिस हूँ। दसैँको तयारीका लागि गृहस्थीहरू भदैया धान काटेर बजारमा लगी बेच्ने गर्थे। सनपाटको खेती ऊ बेलाको तराईमा उधूमै हुन्थे। सनपाटलाई सडक छेउका पानीले भरिएका खाल्डाखुल्डीमा पानीभित्र छोपेर माटाले थिचिन्थ्यो। त्यो सोर श्राद्धका बेला त्यो सनपाट पानीबाहिर निकालेर धुने बेला हुन्थ्यो। किसानहरू त्यसलाई बेचेर पैसा पाउँथे। अनि सुरू हुन्थ्यो दसैँका खिच्रिङ्मिच्रिङ् किनमेलहरू। मारबाडीका पसलमा दसैँका लुगा किनिने र बालीघरे दमाईलाई सिउन दिइने चलन थियो। थानका लुगाबाट आउने मिठो बास्ना, चिउराका हरक, पाकेका केराका सुस्वादु रौनक र कोठेबारीमा साँचिएको घाँसले दसैँलाई एकातिरबाट आमन्त्रण गर्दथ्यो भने अर्कोतिर दसैँका आगमनमा घरघरमा आएर दमाईले बजाउने सनाई र तराई तिरका चमारेहरूले बजाइने ढोलकले दसैँको सूचना दिएको भान हुने।
गाउँभरिका वासिन्दाहरू मिलेर लिङ्गे पिङ्को लठारो बाट्ने त्यसका लागि पैसा र सनपाट उठाउने चलन हुन्थ्यो। जागिरेहरू नयाँ कट्कडिया नोट साट्न बैँकतिर दुगुर्थे भने गृहलक्ष्मीहरू चुन र गेरुले घर पोत्न व्यस्त। जतिजति दसैँ घर करेँसामा आउँथ्यो उतिउति बाहिर गएर विभिन्न पेसा र व्यवसायमा लागेका मानिसहरू घर फिर्थे। नयाँ स्थान, विषय र रुचिका गफ सुरू हुन्थे। हामी मन लगाएर सुन्ने गर्दथ्यौँ।
हामी केटाकेटीहरूको काम भने ससाना काम आमाबालाई सघाउने हुन्थ्यो। दसी चराउने र तिनीहरूलाई डाले घाँस दिने काम हाम्रो भागमा आउनाले स्कुल र टिउसनलाई छोट्याएर हामी पनि घरका काममा लाग्थ्यौँ। दाउरा चिर्ने मानिसलाई सघाउने, दाउरा बटुलबाटुल पारिदिने, आमा र फूपूहरूलाई ढिकीमा सघाउने काम हुन्थ्यो। साँझ बिहान पिङ्मा झुत्ती खेल्थे नानी केटाकेटीहरू। घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म स्कुल बिदा हुन्थ्यो।
दसैँ केटाकेटी उमेर र आफूले टार्नु पुर्याउनु नपर्ने बेलामा उधूमै रमाइलो हुन्छ। जबजब मानिस व्यवहारमा फँस्दै जान्छ अनि उसलाई दसैँ एकप्रकारले बोझ हुँदै जान्छ। मैले चार वर्षदेखि करिब १० वर्षसम्म भोगेका दसैँका खिस्साहरू लेख्ने हो भने एउटा राम्रो बाल उपन्यास तयार हुन्छ। त्यो पनि म सोचिरहेको छु।
अहिलेको दसैँ पूरै हाइटेक भैसक्यो। घरभरि जहान परिवारहरू जम्मा भए पनि मानिसहरू कोही कसैसँग बोल्दैनन्। पूराका पूरा सबै मोबाइलमा झुम्मिरहेका हुन्छन्। अहिले विदेश जाने बाध्यता भएकाले परिवारका सबै सदस्यहरू एकै ठाउँमा छैनन्। घरदेश र परदेशमा मानिसहरू विभाजन भएकाले सबैका आआफ्ना बाध्यताहरू हुन्छन्। अहिले दसैँ फूलपातीदेखि मात्र लाग्छ। ऊ बेलामा दसैँ आउनुभन्दा एक महिना अघिदेखि नै दसैँको सबै प्रकारको तयारी हुन्थ्यो। अहिले ‘कुखुरो काट्यो दसैँ, झोला बोक्यो बसैँ’ भन्ने उखान चरितार्थ भएको समय छ।
विगत र वर्तमानको दसैँको तुलना गर्दा म एक प्रकारले ‘नोस्टाल्जिक’ हुने गर्नु। मलाई मेरो बालापनको दसैँ अब झनै सम्झनामा रमाइलो लाग्छ। हामीले कम खर्चमा सबै परिवारका सदस्यहरूलाई भरपूर आनन्द हुने गरी दसैँ मनाउनु पर्छ भन्ने मेरो मान्यता छ।
।।समाप्त।।
पेशल आचार्य
