Skip to content


बालक च्याँ च्याँ गर्दै रुञ्चे स्वरमा रुँदै
आश बनेर सूर्य किरण जस्तो
सबको मन मनमा वास बस्न सक्ने
हिरामोतीभन्दा बहुमूल्य
घर, खेत सबको हुन्छ
संसारमा यही प्यारो
मान सम्मान सबै यही
आमाको व्यथामा पनि सुख
बुबाको खुशी
टोल गाउँ शहरमा छोरो जन्मिएकोमा
उत्साहको लहर जताततै छाउँछ
बधाई दिनेहरूको भीड घरमा हुन्छ
निम्तो कहिले हो भोजको ?
प्रश्न गर्नेहरू धेरै हुन्छन्
एक छाक आफूले नखाइ
अरूको खुसीमा
घरमा छोरो जन्मेको भोज चल्छ ।

नभन्दै दिनहरू बित्छ
सानो बालक भूईमा लडिबुडी खेल्दै
बामे सर्दै थरथराउँदै दुई पाइला टेकेर
जब हिँड्न सिक्छ
तोते बोलीमा आमा शब्द उच्चारण गर्छ
आफन्त अँझै खुसीमा गद् गद् हुन्छन्
अब यिनले देशमा केही गर्ने छन्
परिवारमा आश बोकेर जन्मिएको छोरोले
आउँने दिनहरूमा नयाँ सृजनाहरूको रचना गरेर
आफ्नोलागि, परिवारकोलागि र देशकोलागि
नयाँ नयाँ कुराहरूको सृजना गर्ने छ
सपनाहरूको खेती हुन्छ ।

त्यो सबको आश बालक म थिएँ
आशहरूको सम्मान गर्न सकें या सकिन
विहानै उठेर सबको आशा बटुल्दै
स्कुलपछिको पढाइ सकाएर कलेज लाग्थें
मुर्दावाद र जिन्दावादका नारा
स्कुल, कलेज र सडकहरूमा चलिरहेको हुन्थ्यो
देश बनाउने सपना बोक्नेहरू
सबै आफ्नोलागि नारा जुलुस गरिरहेका हुन्थ्यो
कोही आफ्नो स्वार्थमा बाँच्न नि नपाउने
जसरी नदी आफ्नै तालमा बग्थे
पानीले नाइँ भन्न नपाउने
उस्तै म पनि अरूको पछि लागें
के गर्छु भन्दै थिएँ कता अनि कहाँ पुगें
सूर्य उदाएर फेरि अस्ताएछ
चन्द्र मुस्कुराउँदै ताराहरूसँग फुर्ति गर्छ
ऊ नै शक्तिशाली
म मौन रहें बोल्न सकिन ।

सबको आशा थिएँ म केही गर्न नपाउदै
म मरेछु कि खै ?
जन्मेर केही गर्न नसक्नु पीडा हुँदाहुँदै
के भएछ आगोमा जल्दै थिएँ
जो जसले जे जे गर्नुपर्ने गरेछ्न्
मर्दा गर्नुपर्ने सबै काम सकाएछ्न्
अब नाम मात्रै रहने भो
हिजो जन्मेको उसको मृत्युमा आँसु बगाउने देखें
सपना रहेछ आँखा खोली
चारैतिर नजर लगाएँ बाँचेको रहेछु म
मरेको सपना देख्ने अनि कसैको वास्ता नगर्ने ?
लाख सपनाहरू थिए यसैले
आफैलाई चिमोट्टी हेरें
ए… म त जीउँदै रहेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *