छ देश प्याराे मनमा सजाऊँ।
म देश भन्दै यसमा रमाऊँ।।
लेखेर नाैला कबिता म बस्दा ।।
नेपाल हाँसोस् र फुलाेस् म लेख्दा।१।।
——————
खाेला र नाला हरिया पहाड।
हिमाल अग्ला चुचुरा म देखूँ ।।
डाडा र पाखा अनि ताल छाँगा।
सचित्र सङ्ला कबिता म लेखूँ।।२।।
—————–
म भन्न पाऊँ अब देश लम्काेस्।
हत्या र हिंसा अपराध भागाेस्।।
काला र मैला सब हुन् बिनाश।
राेजेर बाटा अब हाेस् बिकास।।३।।
—————–
म हेर्न पाऊँ सब छन् सफेद।
नेपाल साझा घर हाेस् अभेद।।
समस्त याैटै परिवार एक।।
बिचार अर्काे नबनून् अनेक।।४।।
—————–
म देख्न पाऊँ पथ ती उज्याला।
गन्तव्य चाँडाे अब हुन् निराला।।
याे देशका खातिर उठ् सारा।
बनेर याेद्धा तब हट्छ बाधा।।५।।
—————-
छन् भेष हाम्रा अलगै सबैका।
छन् धेर संस्कार कयौं लुकेका।।
अापस्तमा छन् सहजै मिलेका।
अात्मीयता जाेडि सबै बसेका।।६।।
—————–
कला र साहित्य फुलाेस् सदा झैँ।
नयाँ र राम्रा कबिता सधैं झैँ।।
म पढ्न पाऊँ मन भित्रबाट।
म रम्न पाऊँ मन भित्रबाट।।७।।
—————-
नेपाल भन्दै शिर याे उँचाे हाेस्।
संकाेच सारा मनदेखि भागाेस्।
रास्ट्रियता कायम हाेस् म देखूँ।
नेपाल भन्दै तन याे म त्यागूँ।।८।।
—————
छन्द:-उपजाति
रचनाकार:-यादव दुलाल “गाउँले”
इटहरी उपमहानगरपालिका
हाल युएई
