छन्द – मन्दाक्रान्ता
शीर्षक:- फर्केर आऊ कसरी?
आफ्नै माटाे मलजल गरी स्वेद धारा बगाऊँ।
हाँसी हाँसी हरदिन बसी देश याे गुन्गुनाऊँ।।
फर्की आऊ र इलम गराै साेच गर्दै म आऊ।
मेराे इच्छा हरदिन हुन्छ खै कसाेरी म आऊ।।१।।
भाेका नाङ्गा गरिब निमुखा काम गर्दै यतै छन्
साहूका छन् ऋण तन भरी ब्याज बाेकी यतै छन्।।
छैनन् बाटा ऋण धन दिने देशमा छैन शान्ति।
फर्की आऊ त घर कसरी चल्छ भन्ने छ फिक्री।।२।।
हाम्रो राम्रो मुलुक जगमा भित्र खोक्रो बनाए।
देखा देखी नजर अघि नै स्वाद मानेर खाए।।
साह्राे गाह्राे जति दुख भए ता युवा ब्यस्त ऐले।
हज्जारौं छन् घर पर युवा आइ के काम ऐले।।३।।
बाेल्दामा भाे तर मुलुकमा खाेइ् कहाँ के छ काम।
सस्ता काेरा गफहरू गरी खाेइ् कहाँ मिल्छ नाम।।
इच्छा काेही किन र कहिले गर्दथ्याे जान् बिदेश।
आफ्नै माटाे घर र जननी हुन्छ प्याराे त देश।।४।।
सत्तामा छन् अबुझ मनुवा दाउ छाेप्दै बसेका।
आफ्नाे मात्रै हितचित गरी बस्दछन् ती लुटेरा।।
हाम्रो मार्का बुझिदिने छ को छन् युवा चोट खेप्दै।
छन् अर्काकाे खटन हितमा देशकाे नाम जप्दै।।५।।
हाम्रो आत्मा हरदिन घरै आसपासै छ घुम्दै।
दुख्दै आत्मा ढुकढुक सधै आँसु बग्दैछ रूदै।।
सम्झी आमा सकल सबकाे हुन्छ कालाे र नीलो।
फर्की आऊ अब घर भने देख्छु बाटा अँध्याराे।।६।।
माटाे प्याराे छ हृदयभरी याद बन्दै बसेकाे।
सम्झेकाछाै मुलुक मनमा दृश्य बन्दै घुमेकाे।।
डाँडा पाखा शिखर छहरा आँउछन् नेत्र भित्र।
भुल्ने छैनौं घर मुलुक त्याे देहकाे अन्त्य सम्म।।७।।
यादव दुलाल “गाउँले”
१६ कार्तिक २०७५
युएई
