Skip to content

द्रौपति अर्थात देश

द्रोणचार्य माथी बदला लिन
जब गरियो पुत्राकामेस्ठी यज्ञ
त्यही यज्ञकुण्डबाट जन्मिएकी हुँ म
म अर्थात द्रौपती !

खोइ कहाँबाट सुरु गरौ
सुनाउँन मेरो काहानी ?
कसरी बताउँ मेरो
जिवनको उकाली ओराली ?
कहिले कुन्तीले आदेश दिइन
मलाई बाडी खान पाच पाण्डवलाई
र म बनाइएँ – पन्चामी !
जब मती भ्रस्ट भयो युधिस्ठिरको
हानिएँ म जुवामा
फगत एक मुठ्ठी कौडाले गर्‍यो मेरो लीलामी !
दुर्योधन आदेश दिन्छन मलाई नङ्याउन दुशासनलाई
र भरी राजसभामा हुन्छ – मेरो चिरहरण !
कहिले पर्छु जयद्रथको अपहरणमा
त कहिले चिथोरिन्छु किचकको कामुक नजरबाट !

जसरी मैले भोगे कैयौ आरोह-अवरोह
सयौ हण्डर र घामपानी
त्यसरी नै प्रताडित छ मेरो देश ।
मेरो रक्षा गर्नु पर्ने युधिस्ठिरले
जसरी मलाई हाने’थे जुवामा
त्यसरी नै जुवा हान्दै छन देशलाई
यो देशका रखवालाहरु !
जसरी परे’थेँ अपरहरणमा जयद्रथको
त्यसरी नै अपहरणमा पर्दैछ यो देशको स्वाभिमान !
जसरी परेको थियो किचकको गिद्धे नजरमा मेरो जवानिमा
त्यसरी नै गिद्धे नजर पर्दैछ यो देशको अस्मिता माथी !
जसरी भए’थ्यो मेरो चिरहरण
त्यसरी नै हुँदै छ हरण मेरो देशको माटो !

मलाई राम्ररी थाहा छ
जब जब समयको कठघरामा
पान्डवहरु निरिह बनेर उभिन्छन
कसरी बढ्छ दुशासनहरुको आत्मबल !
कसरी हुन्छ द्रौपतिको इज्जतको चिरहरण !
र कसरी चुपचाप हेरी रहन्छन तमासा
समाजका भिस्म पितामहहरु !

म द्रौपती अर्थात यो देश
म यो देश अर्थात द्रौपती
यो समय यस्तो कृष्णको पर्खाइमा छु
जसले बचाउन सकोस यो देशलाई
मलाई झै नाङ्गो हुनबाट भरी राजसभामा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *