
बाल्यकालको दशैँ
दशैँ अायोभन्थे घर डहर बाटो सव तिरै।
सफाई गर्नै पर्छ भनिकन गाऊँ घर तिरै।
सवै जुट्ने गर्थे सकल नर नारी अघि सरी।
कुटो कोदालो साथ सव जन अल्छी त नगरी ।
कमेरोले भित्तो तलतिर त सेतो गरिकनै।
खनी रातो माँटो सवघर लिपी सुन्दर छ नै ।
सवैको पेटी आँगन डिल डिलै फूल तुलसी ।
सुनिन्छन् भुन् भुन् नै भमर पनि नाँच्दै छ पुतली।
पहेँलै बेलौती पनि छ लटरम्मै रुख भरी ।
झँटारोले हानी वरपर झरेका फल टिपी।
सवै केटा केटी खुशि खुशि रमाई तिनिहरू ।
चबाँएरै खाँदै कति कति नि मीठा दिनहरू ।
दशैँको बेलामा कमिज सुरु वालै त सुजिले।
सिएको राम्रो कोट पनि त लगाई नि खुशिले।
चढी घोँडा काठी जगर नि समाई बल गरी ।
गइन्थ्यो मामाको घर सरर चाँडै अघि सरी ।
गनिन्थ्यो पाएको धन मनमनै भो कति भनी ।
छ पाँचै पैसे ढ्याक डबल त गोँजी कन भरी ।
थिएनन् खर्चै गर्न पसल कतै किन्न चिज नै ।
रहन्थिन् लक्ष्मी जी अचल तव आफ्नै घर सबै ।
निधारैमा राता कनक अक्षता कान जमरा।
गलामा मालानै मगमग सुगन्धित जमरा ।
लगाई हिन्दै ढल्कि वरपर ढल्केर पथमा ।
हिनिन्न्थ्यो बाल्यै काल समय त भागेछ नि कता ।
