Skip to content

खुशीरामहरु


जीवन फुंग उडिरहेछ -निर्जीवन
कलंकीको धुलोसित

र मनैमन मेरा प्रिय खुशीरामहरु उडिरहेछन्

विना आँसुले रोइरहेछु
यो दशैंको लाश उठाउने
अनुक्रमहरुमा
र म
अभिशप्त छु:
मैले पिउँदै नपिएको बिष लागेर

म सम्झीरहेछु ए प्रिय दरौंदी !
प्रिय ख़ुशी!
पखालेछ हगि यो असमयले आफूलाई
खुशीरामहरुको नाममा मुख धोएर !

अझै म एकोहोरो सोचिरहेछु
र मन प्वाट्ट फुटेर
जताततै
मेरा प्रिय खुशीरामहरु पोखिइरहेछन्

म मेरा प्रिय खुशीरामहरुमा बाँडिएर
टुक्रा टुक्रा छु

भोलि यो असमयको पर्दा उठ्न नपाउँदै
जमरा र टीकामा बग्ने छ :
असमय
र म मेरा खुशीरामहरुको मायामा बगिरहेको हुनेछु

बरै म!
अघोषित मायामा पग्लिरहेछु
मेरा प्रिय खुशीरामहरुको

Leave a Reply

Your email address will not be published. Required fields are marked *