Skip to content

मिठो मुस्कानले भरिपूर्ण भएको देश


रातको बाह्र बजेको बसको टिकट लिएको थिएँ । भियतनाको होचिमिङ्गबाट क्यामबोडियाको राजधानी “फेनोम फेन”सम्मको लागि । हतार हतारमा भएको थियो यो यात्रा मेरो कारण भियतनाममा भिसाको समस्याले गर्दा । “स्लिपर बस” अर्थात बसभित्र बस्ने सिटको सट्टा सुत्ने सिट भएको बस । साधारण बसको तुलनामा भाडा पनि बढी तिरेर नै यसै बसलाई छानेको थिए । यो एउटा बेग्लै तथा नयाँ अनुभव हुन गइरहेको थियो मेरो लागि ।

रातको खाना आएर तथा बाटोको लागि केही खाजा किनेर चढें बसभित्र । बस भित्र प्रवेश गर्नु अगावै लगाई राखेको जुत्तालाई फुकालेर जानुपर्ने रहेछ भित्र । एक तर्फ तल र माथि गरेर आठ वटा ओछ्यान जस्तो थियो । जम्मा गरेर सोह्र जना आरामले सुत्न मिल्ने बस थियो एकदम सफा र व्यवस्थित । बसको ओछ्यानमा गएर पर्दा लगाए पछि लाग्थ्यो कुनै कोठामा छु । मोबाइल चार्ज गर्ने, पानीको बोतल राख्ने ठाउँको त्यही अगाडि नै व्यवस्था थियो । सोह्र जनाको बसमा हामी तीन जना प्यासेन्जर मात्र थियौ (एक कोरियन महिला, एक भियतनामी र म) । पहिलो अनुभव भएकोले पनि होला बस भित्रकोहरेक कुरालाई ध्यान दिएर नियाली राखे । सफा ओछ्यान, सिरानी तथा ओड्ने कुरा पनि सफा थिए । बाह्र बजेर तीन मिनेट हुन लाग्दा बिस्तारै अगाडि बढ्न थाल्यो बस हाम्रो । जे होस आठ घन्टाको यात्रामा त्यसमा पनि जम्मा तीन जना यात्री हुँदा पनि समयमै गाडी अगाडि बढेको देख्दा अचम्म लाग्यो । ओछ्यानमै पल्टिएर होचिमिङ्ग शहर निदाउन तरखर गर्दै गरेको हेरिरहे । यात्रै यात्रामा सकिने हाम्रो जीवन । थाहा छैन भोलि कहाँ र कसरी टुङ्गिने छ आदि कुराहरू खेलाउँदै गर्दा निदाएको पत्तो नै पाएन छु मैले ।

बिहान आँखा खुल्दा त भियतनामको बोर्डरमा पाए आफूलाई । गाडीहरुको लाइन थिए भियतनाम क्रस गरेर क्यामबोडिया जानको लागि । “स्क्याम” अर्थात ठगिने डर । भियतनाम र क्यामबोडियाको बोर्डरमा पर्यटकहरुलाई सबैभन्दा समस्या भनेकै ठगिने हो । अनेक बहानामा खुल्लम खुला इमिग्रेशनका कर्मचारीहरुले पैसा माग्ने गर्छन भन्ने कुरा पहिले थाहा पाइसकेको थिए । भियतनाम र क्यामबोडियामा युएस डलर त्यहाँको लोकल पैसा सरी प्रयोग हुन्छ । त्यसैले त्यहाँको पैसा नसाटी युएस डलर अँझ एक, दुई, पाँच र दशका डलर बोकेर जाँदा पैसा सटहीमा ठगिन्न भनेर नेपालबाटै साना साना एक दुईका डलरहरू साटेर लगेको थिए । जे सुनेको थिए भयो पनि त्यही । बसका ड्राइभर देखि दलाल तथा इमिग्रेसनका कर्मचारी सबैको सेटिङ्ग हुँदो रहेछ । गाडीको ड्राइभरले पासपोर्टमा एक्जिटको स्ट्याम्प लगाउन पर्छ भनेर पासपोर्ट लेर गयो । उनीहरूसँगै पछि पछि लागे म । ड्राइभर र इमिग्रेसनमा बसेको व्यक्ति उनीहरुकै भाषामा कुरा गर्न थाले । मभन्दा पछिका सबै इमिग्रेसन क्लिएर गरे तर मलाई रोकी राखे । सोध्यो “नो नो” मात्र जवाफ आउँथ्यो । बिहानै अर्को लफडा आयो । पछि गाडीको कर्मचारी आएर भन्छ कि नेपालीलाई उता क्यामबोडिया इन्ट्रि दिँदैन । त्यसैले एक्जिटको स्ट्याम्प नलगाई दिएको रे । ताल न तुईको कुरा गरेको सुन्दा झनक्क रिस उठेको थियो तर जस्तै समस्या आएपनि नरिसाई कुरा गर्नु होइन भने अर्को लफडा हुन्छ भन्ने थाहा थियो । जसले गर्दा खुरुक्क बिस डलर झिकेर दिएपछि स्ट्याम्प लगाई दिए । बल्ल बल्ल बाहिर मात्र के निस्केको थिए, एउटा स्कुटरमा मलाई लिन तयार भएर बसेको रहेछ । कारण बुझ्दा क्यामबोडियाको इमिग्रेशनमा पनि भिसाको लागि फर्महरू भर्नुपर्ने रहेछ । जसको लागि चाँडो होस भनेर लिन आएको भन्दै स्कुटरमा चढाएर दौडाई हाल्यो । जे जे पढेको थिए कसरी ठगिन्छ भनेर त्यो भोग्दै थिए मैले । डलर दिएमा सबै काम हुन्छ भन्ने त्यही गएपछि थाहा भयो । खुलेआम इमिग्रेशनमै बसेर पैसा माग्ने । पैसा नदिई त भिसा दिँदै नदिने । सय डलरबाट मोलतोल हुँदै आफूले जति घटाउन सक्यो सक्यो । एकछिन त रमाइलो पनि लाग्यो । म जस्ता सयौंको संख्यामा थिए पर्यटकहरू । सबैको एउटै कुरा हुन्थ्यो कि “कति डलर बढी तिर्यो” भन्ने । नेपालको यातायात कार्यालयमा विचौलियाहरुले गर्ने व्यवहार जस्तै । सकेको घटाएर क्यामबोडियाको भिसा लगाएर बाहिर निस्के । बस मलाई नै कुरी राखेको थियो ।

बस चढेर लागियो क्याबोडियाको राजधानी “फेनोम फेम”तिर । बोर्डरमा त्यति मान्छेको बस्तीहरू नदेखिएता पनि क्यासिनोको ठुला ठुला भवनहरू देख्दा अचम्म परे म । एक दुई मात्र नभएर तिस चालिसभन्दा बढीको संख्यामा क्यासिनोका भवनहरू त्यो पनि त्यस एक लास परेको ठाउँमा । “लस भेगस”मा जुवा खेल्नको लागि मात्र जाने भने जस्तै यहा पनि जुवाको लागि भनेर नै विभिन्न शहरहरुबाट आउने होलान मान्छेहरू । झन बोर्डरमै भएपछि भियतनामीहरुलाई आउन पनि सजिलो भयो । करिब आधा घन्टाको बाटोपछि एक पेट्रोल पम्प स्टेशनमा नास्ता खुवाउनको लागि गाडी रोकियो । ड्राइभर र उसको सहयोगी एक कुनामा बसेर खाना खानतिर लागे ।सँगै चढेकी कोरियन केटी गाडीमै मस्तले सुती राखेकी थिइन् । यसो फ्रेस भएर त्यहिरहेको पसल भित्र गएर हेर्दै गर्दा गाडी स्टार्ट गरेर दौडाई हाल्यो । कराउँदै बाहिर निस्कदा सम्ममा गाडी धेरै अगाडि बढिसकेको थियो । दिमागले के गर्ने भनेर सोच्न सकिरहेको थिएन । सबैलाई भने तर भाषाको समस्याले गर्दा बुझाउनै गाह्रो । बाटोमा गाडी रोक्न खोजे कसैले रोकेनन् । ब्याग, होटल रिजर्भेसनको कागज, मोबाइल सबै गाडीमै थियो । मसँग पैसा र पासपोर्टको सानो ब्याग मात्र थियो । “फेनेम फेम” पुग्नै अँझ तीन घन्टा जति लाग्थ्यो । त्यतिकैमा आँखा छेउमै खेतमा काम गरिरहेको मान्छेमा पुग्यो । इशाराको भरमा गाडी छुट्यो पैसा दिन्छु मद्दत गर्छस भने । सानो स्कुटरमा दौडाइ हाल्यो पछाडि मलाई राखेर । सानो स्कुटरले त्यत्रो ठुलो बसलाई के भेट्टाउँथ्यो होला र । अहिले ती घटनाहरू सम्झदा एक्लै हाँस्न मन लाग्छ । त्यति स्पिडमा कहिल्यै चढेको थिइन स्कुटर जुन त्यस व्यक्तिले कुदाइ राखेको थियो । मोबाइलमा सबै कुरा डाउनलोड गरेर राखेको थिई । न गाडी नं. याद भयो । बिजोग हुने भयो भनेर सोच्दै थिए । टाढैबाट उक्त बस मलाई नै लिन आउँदै गरेको देखे । उक्त बसलाई देख्दा यदि खुशी लाग्यो कि बयान नै गर्न सक्दिन । ड्राइभरले धेरै माफी माग्यो मसँग । खल्तीबाट केही डलर निकालेर स्कुटरवालालाई दिए । त्यति सहयोग गर्नु पनि ठुलो भयो त्यस बेला मलाई । भित्र आएर लामो श्वास फ्यालेर पल्टङ्ग पल्टिए । पछि थाहा भयो मसँगै चढेकी कोरियन केटीले भनेको भएर नै थाहा पाएका रहेछन् बसका मान्छेहरुले । उनलाई पनि धन्यवाद दिँदै “तिमीले भनेका सारा दिप छोएर” नारायण गोपालको गीत सुन्दै ओछ्यानबाटै बाहिरको दृश्य हेर्न थाले ।

क्यामबोडियाको सबैभन्दा ठुलो शहर, राजधानी, खुल्ला आधुनिक शैली, नाइट लाइफ, रेस्टुरेन्ट बारले प्रख्यात ठाउँ “फेनम फेम”मा उभिनु पाउदा आनन्द लागिरहेको थियो । बाटामा जे जस्तो घटना भएता पनि सुरक्षित होटल तर्फ हिँड्दै थिए म । होटलमा सामान थन्काएर क्यामबोडियाको चिसो विएर पिउँदै होटेलको स्वीमिङ्ग पुलमा डुबुल्की लगाए । गर्मीले होला सबैको हातमा क्यान विएर नै देखिन्थे । पौडिएर बारिह निस्कदा थकान केही हद सम्मलाई कम भएको थियो ।

केही समय पुलमा बिताई फ्रेस भएर निस्के पेट पूजा गर्न । “माजु कु्रएङ्ग” तातो तथा पिरो माछाको सस, केही मिक्स हरियो सागपातहरू मिक्स गरेर प्लेन राइससँग खाने परिकार । साथमा डिप फ्रइ चिकेन र चिसो विएर । भोकले रन्थनेको बेला त्यस्तो मिठो खाना पाउँदा अरु के चाहियो र थकाई पनि मरिसकेको थियो र पेट पनि टन्न । बिस्तारै लागे पहिलो हेर्नैपर्ने ठाउँतिर । “वाट फेनम” बुद्धको मन्दिर । सिँढी उक्लेर जानुपर्ने रहेछ । एउटा कुराको चाहिं त्यहाँ के देखे भने प्रत्येक मन्दिर तथा धार्मिक स्थलहरुको छेउछेउमा नागका मूर्तिहरू । नेपालमा मन्दिरतिर गरुड, हात्ति, सिंहहरुको भए जस्तै । प्रत्येक देशमा आआफ्नै मान्यता अनुसार राखिएको पाए । भियतनाममा “ड्रागन”, बैंककमा “गरुड” आकारको मूर्ति । एउटा कुरा चाहिं के लाग्यो भने ती सबै हामीहरुले सानैदेखि पुज्दै आएको जस्तै, नाग भगवान, गरुड । देश अलग भएतापनि धेरै हदसम्ममा धर्म संस्कृति समान भएको पाए मैले । एक मुठा धुप बालेर वरिपरि घुमे “वाट फेनम” मन्दिर । ठिकैको मन्दिर र वरिपरि ठुलो बगैंचा जसमा आधा घन्टा बिताएर निस्के “सेन्ट्रल मार्केट” तीर ।

सबैभन्दा पुरानो र सुन्दर बजार । ठुलो छानो भएको घर जसको चार हात छन् । फ्रेन्चले शासन गरेको बेला फ्रेन्च आर्किटेक्टको डिजाइनमा निर्मित भवन । १९३७मा पहिलो उद्घाटन गर्दा एशियाको नै ठुलो मार्केटकोरुपमा परिचित यस मार्केट भित्र विभिन्न हजारौं ससाना पसलका स्टलहरू थिए । पर्यटकहरुको लागि पनि आकर्षक स्थल थियो यो । लत्ता कपडा देखि गरगहना तथा क्यामबोडियाको संस्कृति झल्किने सर सामानहरुले भरि भराउ थियो । जति ठुलो तथा भव्य भएतापनि सफाईमा चाहिं खोट लगाउने बाटो पाए मैले । जे होस एक दुई घन्टा समय बितेको चाहिं पत्तो पाइन्न त्यहाँ पसेपछि चाहिं ।

क्यामबोडिया पनि स्ट्रिट फुडको लागि प्रख्यात नै मानिन्छ । ससाना ठेला गाडामा बेच्न राखेका हजारौं परिकारहरू । बिहान, दिउँसो तथा रातीको खानाहरू धेरै जसो यस्तैबाट किनेर खाने गरेको देखे त्यहाका मान्छेहरुले । हाम्रो नेपालमा कम्तीमा बिहान र बेलुकाको खाना आआफ्नै घरमा खाने गरेका छौं । जुन मेरो विचारमा धेरै राम्रो हो जस्तो मलाई लाग्छ । सडक छेउछेउमा खोलिएका रेस्टुरेन्ट तथा बारहरू र नजिकै बग्दै गरेको सुन्दर नदी । साँझको बेला त्यहाका लोकलहरू संगसँगै बसेर मिठो गफ गर्दै मिठो खाना खादाको क्षणको के कुरा गरु । “सोमलोर खोरको” अर्थात पोर्कको मासु र हरियो सागपात हालेर बनाइएको सुप र डिप फ्राई चिकेन अनि भात सम्झिदा अँझै मुखबाट पानी झर्छ ।

बिहानको नास्ता होटलमै खाएर निस्के “रोयल प्यालेस” तर्फ । मुख्य आकर्षकको केन्द्रविन्दु थियो रोयल प्यालेस फेनोम फेनमा । लगभग एक घन्टा लगाएर घुमे भित्र । दरवार भित्र फोटो तथा भिडियो खिच्न निषेध रहेछ । “सिल्भर पगोडा” आकारमा बनेका दरवारहरू जुन बैंककको रोयल प्लालेससँग धेरै हदसम्म मिल्न जान्थ्यो । १७४८७० स्क्याएर मीटर क्षेत्रफलमा फैलिएको उक्त प्यालेसमा अँझै पनि शाही विवाह तथा चाड पर्वहरू यही दरवारबाटै गरिने गरिएको रहेछ । सर्वसाधारणलाई बिहानको आठ बजेबाट बेलुकाको पाँच बजेसम्म मात्र प्रवेश गराइने रहेछ । त्यसभित्रको व्यवस्था तथा हरेक वस्तुहरुलाई देख्दा लाग्थ्यो कि नयाँ हुन सबै । हुन त अरु देशका रोयल प्यालेस देखि हरेक पर्यटक स्थलहरू त्यस्तै व्यवस्थित भएको देखेको छु । तर हाम्रो देश यस कुरामा चाहिं पछि परेको जस्तो लाग्छ । वर्षेनी करोडौ पैसा प्रवेश शुल्क वापत उठ्छ र पनि दिन प्रति दिन खस्कदो व्यवस्था तथा रहेका संरचनाहरुको राम्ररी स्याहार संभार गर्न नसक्नेले मान्छेहरुको आकर्षक दिनानु दिन खस्कदै गएको छ । राम्रो गर्न सके हामी पनि कोहीभन्दा कम हुने थिएनौ तर विडम्बना ।

“पोङ तिआ त्रे प्रो” अर्थात हासको अण्डालाई तारेर बनाइएको परिकार । साथमा हरियो सागसँग भात खाँदाको आनन्दको के कुरा गर्नु । थोरै पैसामा पनि पेट मात्र नभएर मन समेत अघाएको भान भएको थियो मलाई ।

अबको पालो थियो “नेशनल म्युजियम” को । रोयल प्यालेशबाट हिँडेर नै पुग्न सकिने उक्त म्युजियम बाहिरबाट साधारण भवन देखिएता पनि भित्र पसेपछि ठिक उल्टो अनुभव भएको थियो मलाई । आफूलाई आर्टतिर बढी चाख भएर पनि होला यस्ता ठाउँमा जान बढी रमाइलो लाग्छ । “रोयल युनिभर्सिटी अफ फाइन आर्ट” को रेखदेखमा संचालन भइरहेको रहेछ । जसमा क्यामबोडियाको संस्कृतिहरू झल्किने कला कृतिहरुलाई राम्ररी राखिएको थियो । अँझ अर्को चाखलाग्दो के देखे भने ेि शिव लिङ्ग, गणेश, गरुड तथा विष्णुका मूर्तिलाई पनि व्यवस्थित तरिकाले राखिएको थियो । जब जब विदेशमा हाम्रा देवी देवताका मूर्तिहरू देख्छु । एक प्रकारको छुट्टै आनन्द लाग्ने गर्छ मलाई ।

चर्को घाम त्यसमा छन्टौं पैदल हिँड्नुको अनुभव “फेनम फेन”मा खुब बटुले । घाममा हिडे पनि त्यहाको लोकल तोफुलाई आइसमा पिनेर अदुवाको रससँग मिसाएर बनाएको जुस पिउँदा गर्मी एकैछिनमा चट हुने । अँझ नरिवलको आइसक्रिम खाँदै हिँड्दा गर्मीको पीडा धेरै कम भएको अनुभव भएको थियो । बसेको होटल नजिकै रहेको प्रख्यात “ब्राउन कफि एण्ड बेकरी”मा गएर पाम सुगर हालेर बनाएको ब्राउन कफी पिउनुको अनुभव छुट्टै थियो । पुरै ब्राउन कलर लगाएको तथा एनटीग सजावट रहेको उक्त बेकरीमा बढी युवाहरुको जमघट हुने रहेछ ।

“इन्डिपेन्डेन्स मनुमेन्ट” १९५३मा फ्रान्स शासकबाट मुक्त भएको उपलक्ष्यमा बनाइएको स्मारक जो १९५८मा तयार भएको थियो । लोटस फुलको आकारमा देखिने स्मारक चौबाटोको बीचमा अवस्थित ३७ मीटर उचाइरहेको थियो । भित्र प्रवेश गर्न नपाएता पनि नजिकैबाट प्रष्टै देख्न मिल्ने रहेछ । छेउछेउमा पानीका फोहोराहरुले र ठुलो क्यामबोडियाको झण्डाले अँझ बढी आकर्षक गराइएको थियो । विदेशीहरू उक्त स्मारक अगाडि उभिएर तस्विर खिचाउनमा व्यस्थ देखिन्थे ।

जति दिन फेनम फेनमा बसे मलाई सबैभन्दा बढी मन परेको भनेकै “रिभर फ्रन्ट” हो । शान्त रुपमा बग्दै गरेको नदीको छेउमा बनाएका रिभर फ्रन्ट । झन रबरका रुखहरु, बोट विरुवाहरुले त सुनमा सुगन्ध छरिदिएको थियो । साँझ पर्दै जाँदा त्यहाँका रेस्टुरेन्ट तथा बारहरुमा चहल पहल बढ्दै जाँदाको दृश्यहरू हेर्दै हिँड्नुको मज्जा नै बेग्लै । रेस्टुरेन्टबाटै देखिने सुन्दर नदीलाई हेर्दै चिसो “अंकुर” विएर पिउँदा प्रत्येक नसा नसामा शीतल भएको अनुभव हुने । मलाई मनपर्ने सूर्य अस्ताएको हेर्न पाउँदा त झनै बेग्लै आनन्द । केराले बनेको चिप्स र चिसो विएर । त्यहाँको नाइट लाइफ लाग्थ्यो कुनै युरोपतिर छु भनेर । लगभग साँझमा विदेशीहरू बाहेक त्यहाँको लोकल मान्छे नगन्य रुपमा देखिने । खाना, बस्न तथा घुम्नलाई अरु देशको तुलनामा एकदमै कम खर्च लाग्ने । अँझ सजिलो त के थियो भने बाटोमा बेच्न राखेको पसल देखि हरेक ठाउँमा ग्क् म चल्ने । ब्त्ः मेशिनबाट पनि पैसा निकाल्दा त्यहाँको पैसा वा ग्क् म निकाल्ने छनौट सुविधा भएको देख्दा अचम्म लागेको थियो । त्यहाँका धेरै लोकल मान्छेहरुलाई सोधे किन त्यहाँको आफ्नै पैसाभन्दा पनि ग्क् डलर बढी प्रयोग भएकोभन्दा हरेकको आफ्नै प्रतिक्रिया दिन्थे । जे भएतापनि हामी जस्तो विदेशी पर्यटकहरुको लागि भने सजिलो भएको थियो ।

“सामलोर माफु खोउर खादम” अर्थात गंगटा (क्यारब) को सुप त्यो पनि मेवासँग । पाउरोटी चोपेर खाँदा जति खाए पनि नपुगे जस्तो हुने । हुन त त्यहाँ पनि किरा, सर्पहरु, साङ्गलोहरू मिठो मानेर खाएको देखे । अनुभवको लागि भएतापनि विदेशीहरुले पनि ती खाइरहेका पाए । समग्रमा भन्नु पर्दा मलाई बैंकक, भियतनाम, लावोस र क्यामबोडियाको खानामा धेरै नै मिल्दो जुल्दो पाए । प्रत्येक देशमा जाँदा त्यहाका खानाको स्वाद लिदा लिदै मेरो शरीरको तौल यसरी बढेको थियो कि लगाएर गएको लुगाहरू नै सानो भएको थियो फर्कदा । मासुले बनेको परिकार आफूलाई बढी रुची हुने हुँदा पनि बढी त्यही खाइयो । सायद त्यसैले गर्दा पनि तौल बढ्नलाई मद्दत गर्यो ।

अब कुरा गरौं “स्क्याम” अर्थात ठगीको । भिसामा कसरी ठग्न खोजेको भनेर त शुरुमै लेखिसके त्यस बाहेक “कोइन कलेक्सन” गर्ने भनेर, अनाथ बच्चाहरुको लागि, बुढाबुढीहरुको लागि भन्ने बहानामा पैसा मागेर हैरान नै पार्ने । जुन साँचो नभएर पैसा ठग्ने बहाना मात्र रहेछ । पहिलो दिन त होला भनेर केही डलर दिएको थिए तर पछि थाहा पाए कि ती सब पैसा ठग्ने चाल रहेछ भन्ने ।

जे होस केही दिनको लागि भए पनि क्यामबोडियामा बस्न पाएकोमा आफूलाई भाग्यमानी नै सम्झे । तर “सिम रिप”मा गएर “अंकुर वाट” हेर्ने सपना चाहिं समयको अभावले अधुरो नै रह्यो । त्यस्तै “बेयोन मन्दिर”, “किलिङ्ग फिल्डस” आदि ठाउँमा जान नपाएता पनि फेनम फेनमा पाएको न्यानो मायालाई आत्मा साथ गर्दै एयरपोर्टतिर लागे । टुरिष्टहरुलाई धेरै प्राथमिकता दिएको पाएँ ।

बिहानको फ्लाइट भएकोले चाँडै होटलबाट निस्के र मन नलागी नलागी पनि आफूलाई एयरपोर्टतिर डोर्याएँ ।

समाप्त !

अर्जुन थापा
धुम्बाराही, काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *