हामी देश विकासको चरणमा सारै पछौटे भयौं
अर्काको घरमा गएर उसका मात्रै भरौटे भयौं
हाम्रा पूर्वजका बनेर नमुना यो देशमै बढ्नु छ
टेक्तै पौरख पाइला सगरको माथा छिटै चढ्नु छ ।।१।।
गैन्ती झम्पल हात हात सबले बोकेर आई जुटौं
हामी देश र देशभक्तजनको सम्मानमा लौ उठौं
यौटा साँघु बनाई उच्च युगको यात्रा छिटै गर्नु छ
बाँझै छन् सब खेत खेत गहिरो जोतेर क्यै छर्नु छ ।।२।।
मैले अम्मरसिंहका पदहरू पछ्याउनै पाइनँ
जानाजान हुँदै गए त्रुटिहरू सच्याउनै पाइनँ
चाहन्थें अँझ उच्च नागरिकका उत्कृष्टताका दिन
मैले आत्मीय भाव यो मुलुकमा बीच्छ्याउनै पाइनँ ।।३।।
हाम्रा हात वलिष्ट छन् र अँझ छन् हाम्रा कडा पाखुरा
हाम्रा पाउ हिण्डेर नाघ्न सजिलै सक्छन् उचा टाकुरा
उब्जाऊँ यस देशकै जमिनमा ऊर्जा हजारौं गुना
यस्तो आत्मीय भावको सृजन होस् कोही नहोस् पाहुना ।।४।।
यो वाचा मुटुमा लिएर गहिरो खोलो अँझै तर्नु छ
हाम्रो जन्म यतै भयो अनि बढ्यौं यो देशमै मर्नु छ
खाल्टा छन् अँझसम्म यो मुलुकमा खाल्टाहरू भर्नु छ
आस्था मूल्य र मान्यता जति सबै यो देशमै छर्नु छ ।।५।।
मैले फूल बनेर उम्रनु पर्यो डाँडा र पाखातिर
मैले श्वेद बनेर बग्नु छ अँझै यो देशका खातिर ।।
मैले अमृत साथ ओर्लन अँझै बाँकी छ छाँगातिर
मैले फुल्न अँझै छ शेष रुखका नौलाख हाँगातिर ।।६।।
समाप्त
