एक्लै यात्रा गर्न रुचाउने भएता पनि यस पटकको यात्रामा प्रिय मित्र सुदर्शन ढकाल पनि जाने इच्छा देखाउदा म झन रोमान्चित भएको थिए । हुन त यात्राको विषयमा कुरा चलिरहदा थप दुई साथी पनि इच्छुक देखाएको हुँदा हामी चार जना जाने निश्चित भएर विभिन्न ट्राभल एजेन्सी धाउन थाल्यौ । जाने ठाउँ र दिनको निश्चित गरेर चारै जनाको पासपोर्ट जम्मा गरी टिकेटको पक्का गर्ने दिन दुई जना साथीहरुको आआफ्नै कारणले गर्दा जान नमिल्ने कुरा त्यो पनि ट्राभल एजेन्सी को बाहिर ठोकामा पुगेपछि व्यक्त गरे । सुदर्शन र म जुन उत्साहका साथ दुई हप्ता देखि दौडधुप गरेका थियौं ती सब खेर गएको थियो । एउटा राम्रो सम्बन्ध बनिसकेको थियो ‘स्मार्ट ट्राभल एजेन्सी’ को कर्मचारीहरूसँग तर सबै कुरा पक्का गरी एक्कासि अन्तिममा आएर रद्ध गर्नु पर्दा जो कोहीलाई नराम्रो लाग्नु स्वभाविकै हो ।
दुई साथीको को समस्यालाई बुझ्दै फेरि सुदर्शन र म जुट्यौ जसरी भए पनि मार्चमै जाने भनेर चार जना भएर जहाँ जाने भनेर योजना बनाएका थियौं अब दुई जना मात्र जादा धेरै खर्च बढ्न आउने हुँदा त्यसलाई क्यान्सिल गरेर अब अर्को ठाउँ रोज्नु पर्ने बाध्यता आईपर्यो ।
धेरै दिनको दौड धुप पछि सुदर्शन ढकाल र म ‘रसिया र दुबई’ जानलाई तयार भयौ । रसियाको राजधानी मस्कोको बारेमा धेरै सुन्दै आएको र कृष्ण धाराबासी दाइको ‘रेड स्क्वाएर’ किताब पढेपछि त झन रेड स्क्वाएर घुम्ने रहर केही वर्ष देखि मनमा उब्जिरहेको हुँदा मस्को जाने कुराले मन त्यसै फुरुङ्ग भएको थियो । अर्को नेपालीहरुको रोजगारको लागि मुख्य गन्तव्यको रुपमा रहेको देश दुबई र त्यहाँ रहेका अनेकौं स्थलहरू जो संसारलाई लोभ्याउन सफल रहेको हुँदा अब दुई देशको एउटै यात्रामा समेट्न पाउने र साथमा साथ दिने साथी सुदर्शन रहेको हुँदा अँझ बढी उत्साही भएको थिए ।
असल साथीहरुमा सुदर्शन पनि एक हो मेरो । जति बाहिरी आचारण राम्रो छ त्यतिकै मन पनि सफा भएको मान्छे हो ऊ । सुदर्शन पुरै शाकाहारी तथा जाँड रक्सी नपिउने भएकाले गर्दा यसपालीको यात्रा मेरो पनि लगभग सरिफ तरिकाले अगाडि बढ्ने छ भनेर आफूलाई मनै देखि तयार पारे ।
मार्च २७का दिन दुई दाजु भाइ निस्क्यौं घरबाट अर्को यात्राको लागि । सुदर्शन साथमा भएकाले गर्दा पनि एक प्रकारको ढुक्क थिए म । साढे दश घण्टा लामो ट्रान्जिट थियो सारजा एयरपोर्टमा हाम्रो । दुई जना सल्लाह गरेर बिजनेश लाउन्ज लिएका थियौं । जसले गर्दा हामीलाई समय कटाउन सजिलो भएको थियो । त्यही लाउन्जमा बस्दा थाहा भयो कि हामीसँगै अरु थप प्रन्ध्र जना नेपालीहरू पनि हामीसँगै मस्को जाने रहेछन् भनेर । हुन त उन्नाई जना भएता पनि दुई जनालाई नेपालको इमिग्रेसनमा कागजपत्र नपुग भनेर भित्र पस्न नदिएको कुरा पछि मात्र थाहा भयो ।
लाउन्जमा बस्दा त्यति लामो समय बितेको पत्तो नै भएन । दुई दाजुभाइ कुरा गर्दै लाउन्जमा भएका परिकारहरू अलि अलि चाख्दै समयको सही सदुपयोग गर्यौं । आबुदावी र दुबई एयरपोर्टको तुलनामा सानो थियो सारजा एयरपोर्ट । प्राय इन्डियन र पाकिस्तानी प्यासेन्जरहरू बढी देखिन्थे अरु देशको तुलनामा । टिकेटमा उल्लेखित समयमै हाम्रो प्लेनले मस्कोको लागि टेक अफ गर्यो । लगभग ६ घण्टाको लामो यात्रा पछि हाम्रो प्लेनले मस्कोको भूमिमा ल्याण्ड गर्यो । मभन्दा पनि सुदर्शन बढी एक्साइटेड थियो मस्को आउन पाउँदा । तर भित्रभित्रै एक प्रकारको डर लागिरहेको थियो मलाई त्यहाँ इमिग्रेसनमा बढी नै केरकार गर्छ कि भनेर । युटयुवमाा धेरै कमेन्टस पढेकोले गर्दा पनि होला सायद बढी डराएको म । तर सुदर्शन भने ढुक्क थियो र भनिरहेको थियो कि ‘केही हुँदैन हामीसँग सब ट्राभल डकुमेन्टस छ भनेर ।’
जे सोचेको थिए भयो पनि त्यही । इमिग्रेसनकी एक महिला कर्मचारीले अर्को रुममा जानलाई भनिन् केही समय मेरो पासपोर्ट र ट्राभल डकुमेन्टस हेरिसकेपछि । उनले भने अनुसार अर्को रुममा जाँदा सुदर्शन समेत गरेर सात जना नेपालीहरू बसि राखेका रहेछन् । हामी नेपाली मुलुकका बाहेक एसियन मुलुकका अरु पनि थिए । त्यहाँ समस्या के थियो भने त्यहाँका कर्मचारीहरू कोही पनि इङ्गलिस नबुझ्ने र बोल्दैन थिए पनि । केही प्रश्न सोधी हालेको खण्डमा थाहा छैन भनेर इशाराले जवाफ दिन्थे । हामीलाई किन रोकी राखेका छन् भन्ने थाहा पाईराखेका थिएनौ । करिब अधा घण्टाको पर्खाइपछि मभन्दा तीन इन्च अग्लि महिला कर्मचारी हाम्रो माझ आएर तिमीहरुको गु्रप लिडर को हो भनेर सोधिन् । हाम्रो त कोही लिडर थिएन जसले गर्दा सबै एकछिन मुखामुख गरी नै राखेको बेला सुदर्शनले मेरो तर्फ नै इशारा गर्यो । मन नलागि नलागि गु्रप लिडर बनेर त्यही अग्लि महिलाको पछि लागरेसँगै रहेको सानो कोठामा छिरे । सबैभन्दा कमजोर इङ्गलिस मेरो होला भन्ने सोच उनीसँग कुरा गरेपछि गलत सावित भयो । लगभग इङ्गलिस बुझ्दिरहिनछिन उक्त अफिसरलेभन्दा उत्तम होला । तर पनि उनले सोधेको प्रश्नहरू दिदै गए । र पछि हामी आठै जनाको पासपोर्ट लिएर भित्र पसिन । त्यसपछि उनको अग्लो शरीरलाई देख्ने सौभाग्य मिलेन । लगभग दुई घण्टाको लामो पर्खाइमा हामीसँगै रहेका नेपालीहरू आत्तीन थालिसक्नुभएको थियो । ‘अब हामीलाई यही एयरपोर्टबाट फर्काउँछ ।’ जस्ता अड्कल लगाउन थालीसक्नुभएको थियो । लगभग साढे दुई घण्टा पछि एक कर्मचारी आएर हाम्रो पासपोर्ट फिर्ता दिँदै अगाडि जान आग्रह गर्यो । बल्ल सबैको अनुहारमा उज्यालो देखे मैले । अग्लि महिला कर्मचारीले मेरो मोबाइल मागेर केही नं. थिचेर बार कोर्ड निकालीन र टिपेर लगिन । जुन कुरा कसरी निकालीन र किन हामीलाई त्यतिका बेर रोकी राखे भन्ने प्रश्नको जवाफ कहीं कतैबाट पाउन सकिन ।
हतार हतार आआफ्ना सामान लिएर सुदर्शन र म बाहिर निस्कदा बाँकी नेपाली र रसियन महिला गाइड ‘तातानिया’ हामीलाई कुरिरहेका रहेछन् । हामीलाई देखेर उनी पनि खुशी भइन् । फटाफट डलर साटेर एयरपोर्टबाट बाहिर निस्कदा मस्कोको चिसो स्याठले हामीलाई चारै तिरबाट घेरी हाल्यो । रसियाका राष्ट्रपति भ्राल्दिमिर पुटिन जसले आफ्नो व्यक्तिबाट संसार भरिका अलग्गै नाम राख्न सफल भएको उनको देशमा उभिदा गर्व अनुभव गरे । सबै फोटो खिच्नमा व्यस्त थिए । सुदर्शन पनि कहाँ कम थियो र ऊ पनि गु्रपमा गएर सामेल भई हाल्यो । म भने चारैतिर आँखा नचाउन थाले । हिउँ बिस्तारै पग्लिदै गइरहेका थिए बाटोको छेउछेउमा । संसार भरिका राम्रा महिलाहरू मध्ये रसियाका पनि पर्ने कुरा सुनेको र टि.भिमा देख्दै आएको थिए तर प्रत्येक्ष आफ्ना अगाडि देखिरहदा, सुनेको र देखेको कुरा सत प्रतिशत सहिरहेछ जस्तो लागिरहेको थियो ।
एक छिनको फोटो सेसन पछि टुरिष्ट बसमा बसेर लाग्यौ होटल तर्फ । होटल जाँदै गर्दा हाम्रो गाइड ‘तातानिया’ले हामीहरुलाई प्रभाव पार्न फाट्टफुट्ट हिन्दी बोल्न शुरु गरिन् । ‘मेरे प्यारे मित्रो’ तथा केही पुराना हिन्दी फिल्मका गीत गाएर सुनाइन पनि । उनको दिमागमा यो लागेको रहेछ कि नेपालीहरुको भाषा पनि हिन्दी नै हो भनेर । अब हामी नेपालीहरुलाई यस्ता घटनाहरुबाट बानी पर्न थालिसकेको छ । लगभग एक घण्टा पछि होटेलमा हामी ओर्लियौं । भोलिको कार्यक्रमको तालिका सरसर्ती बताएर उनी लागिन् आफ्नो बाटो ।
बिहान रुमको पर्दा खोल्दा हिउँ परि राखेको थियो बाहिर । पुरै सेतै हिउँले हामीलाई स्वागत गर्यो । नास्ता खाएर होटलको लबिमा सबै जम्मा भयौं । हिउँ पहिलो पटक देखेका हाम्रा गु्रपका केही साथीहरू बाहिर गएर हिउँसँग रमाउँदै त्यसलाई क्यामेरामा कैद गर्न थालेँ । मस्कोको पहिलो गन्तव्य थियो ‘रेड स्क्वाएर’ ।
इटालियन आर्किटेक्टको डिजाइनमा बनेको रातो ठुलो पर्खाल । २०औं शताब्दीमा मुख्य यो आर्मीहरुको परेड र पदशनीको लागि बढी प्रख्यात रहेछ भने त्योभन्दा पहिला रेड स्क्याएर वरिपरि ठुलो बजार लाग्ने रहेछ । हाम्रो हाट बजार लागे जस्तै । अर्की महिला गाइड ‘लेतिना’ को भनाईलाई लिने हो भने अँझै पनि त्यहाँ विभिन्न अवसरमा ठुलो सैन शक्तिको प्रदर्शन हुने गर्छ रे । वल्र्ड हेरिटेज भित्र पर्ने रेड स्क्वाएर अँझै पनि व्यवस्थित थियो । एकछिन् रेड स्क्याएरमा सुरक्षामा खटिएका सुरक्षा गार्डको अदली बदली गर्दाको क्षण तथा रसियाको लागि ज्यानको बलिदान दिएका नेताहरुको शव गाडीएको स्थानलाई हेर्दै रेड स्क्वाएरलाई छिचोल्दै भित्र प्रवेश गर्यौ । भित्र प्रवेश गर्नसाथ मेरो आँखा छेउमा लस्करै मिलाएर राखिएका तोपहरुमा गएर ठोकिन्छन् । विश्व युद्धताका प्रयोग भएका ती तोपहरुलाई व्यवस्थित तरिकाले राखिएको थियो । अब मेरो नजर संसारलाई हल्लाउने शक्तिशाली व्यक्ति भ्राल्दिमिर पुटिनको कार्यालयमा पुग्छ । सोभियत युनियन ताका भ्राल्दिमिर लेलिनको निवासको रुपमा रहेको उक्त भवन अहिले आएर राष्ट्रपतिको कार्यालयको रुपमा रहेको उनले बताइन । ठुलो सेतो रङ्गको भवन । नजिक जान अनुमति नभएता पनि परैबाट हेर्यौं । उक्त भवनको केही पर हेलिप्याड थिए । ‘लेतिना’ले भने अनुसार राष्ट्रपति आउने जाने समयमा जनताले बाटोमा ट्राफिक जामको सास्ति भोग्न नपरोस भनेर हरेक दिन कार्यालय हेलिकप्टरबाट आउने जाने गर्छन रे ।
अबको पालो थियो क्रेमलिनको । क्रेमलिन तर्फ जाँदै गर्दा छेउमै राखिएको संसारकै ठुलो तोप (टिसार क्याननोन) र संसारकै ठुलो घण्टी (टिसार बेल)लाई हेर्ने मौका मिल्यो । त्यस ठुलो घण्टीको एक चोक्टा भाँचिएर खसेता पनि त्यस टुक्रालाई समेत व्यवस्थित तरिकाले राखिएको थियो । जसले गर्दा त्यस ठुलो विशाल घण्टीको महत्व झन बढी भएको थियो । हामी जस्तै सयोंको संख्यामा पर्यटकहरू झुम्मिरहेका थिए त्यस तोप र घण्टीलाई हेर्नका लागि । क्रेमलिन एक प्रकारको फोरटिफाइड भवन थियो । बाहिरबाट हेर्दा साधारण देखिएतापनि भित्र प्रवेश गरेपछि त्यहाँ भित्ताहरुमा कोरिएका जिसस तथा अन्य थुप्रै कलाकृति देख्दा आँखा तिरमिराएका थिए मेरा । भित्र तस्विर खिच्न निषेध गरिएकोले गर्दा हेरेर मात्रै चित्त बुझाउनु परेको थियो ।
बिस्तारै क्रेमलिनबाट बाहिर निस्केर लाग्यौ रसियाको सबैभन्दा भव्य र महङ्गो सामान पाउने सपिङ्ग मलतर्फ । ‘गम डिपार्टमेन्ट स्टोर’ रेड स्क्वाएर अगाडि पट्टिरहेको ठुलो महल । जहाँ संसार भरिका ब्राण्डेड सामानहरू बेच्न राखिएका थिए । अन्य देशहरुको ठुला ठुला सपिङ्ग महल घुमेता पनि यस ‘गम’ महल मलाई सुन्दर र छुट्टै लाग्यो । ‘लेतिना’ले भनिन् कि यस महलमा मस्कोको ७०% जनता हेर्नका लागि मात्र यहा आउँछन् र त्यस महलमा किन्ने भनेकै आइस क्रिम हो भनेर उनले आइस क्रिम बेच्न राखेको ठाउँ तर्फ लगिन ।
‘किलोमीटर जिरो’ पोइन्टमा गएर सबैजनाले पालैपालो फोटो खिच्यौ । पित्तलको प्लेट बिछाइएको उक्त विन्दुबाट मस्कोको दुरि नापिएको रहेछ । ‘आइबेरिएन च्यापल’ को ठिक अगाडि पट्टिरहेको ‘किलोमीटर जिरो’ जहाँबाट ‘रेड स्क्वायर’, ‘हिस्टोरिकल म्युजियम’ र ‘सिटी डुमा’ हिँडेर पुग्न सकिन्थ्यो ।
त्यस्तै अर्को मलाई अनौठो लागेको के थियो भने अरु देशमा विभिन्न सार्वजनिक स्थानमा ‘रेस्टरुम’ को व्यवस्था हुने तथा विभिन्न महलहरुमा जाँदा रेस्टरुम युज गरेको पैसा नलाग्ने हुन्थ्यो । तर मस्को बसाईको क्रममा जुन स्थानमा रेस्टरुम प्रयोग गरे पनि शुल्क तिर्नुपर्थ्यो । त्यो पनि नेपाली १०० रुपैंया पर्थ्यो । हाँसो लाग्दो घटना के हुन्थ्यो भने सुदर्शनलाई होटलबाट बाहिर निस्कने वित्तिकै ‘पि’ को लागि ठाउँ खोज्न थाल्थ्यो ।
हिउँ पर्ने क्रम जारी नै थियो । १ डिग्रीको तापक्रममा हामी डुलिरहेका थियौं । चिसो हावाले पनि हामीलाई जिस्काइरहेता पनि हामी दुई दाजुभाइ रमाइलो गर्दै अगाडि बढ्यौं । सानोमा ‘सिनड्रेला’ को कथा पढ्दा चित्रहरू कोरिएका दरवार ठिक आँखा अगाडि पाउँदा लागिरहेको थियो कि म सानो बेलामा पुगेछु भनेर । रङ्गीचङ्गी लामा लामा टुप्पोमा गोला गोला आकारका भवन जसलाई आफ्नै आँखाले हेर्ने रहर पुरा भइरहदा जुन खुशी मनमा उथुलपुथुल भइरहेको थियो त्यसलाई व्यक्त गर्न गाह्रो भइरहेको थियो । ‘सेन्ट बेसिल्स क्याथड्रल’ जुन रसियाको पहिचान थियो । मुख्य यो चर्च भएतापनि अहिले म्युजियम रहेको उनले बताइन । भित्र प्रवेश गरेर हेर्ने समय नभ्याएता पनि बाहिर बसेर चारैतिर घुमि घुमिरहर पुरा गरे । १५६१मा बनेको ‘सेन्ट बेसिल्स क्याथड्रल’ ग्रेट बेल टावर नबनून्जेलसम्म मस्कोको सबैभन्दा अग्लो भवनको रुपमा रहेको रहेछ । साना ठुला गरेर आठ भवन रहेको र आगोको मुस्लोको आकारमा बनाइएको रहेछ । ‘रेड स्वायर’ र ‘क्रेमलिन’ जस्तै ‘सेन्ट बेसिल्स क्याथड्रल’ पनि विश्व सम्पदा सुचिमा परेको रहेछ । हामी सबैजनाले जति नै प्रश्न गरेतापनि मिठो मुस्कानका साथ हरेक प्रश्नको उत्तर दिन्थिन लेतिनाले । दुई छोरीको आमा । इतिहासको बारेमा अध्ययन गर्न रुचि भएकै कारण उनी यस पेशामा लागेकि बताइन् । हामीलाई एयरपोर्टमा लिन आएकी गाइड ‘तातानिया’भन्दा राम्रो र प्रष्ट बोल्ने रहेछिन् इङ्गलिस पनि र रसियाको मात्र नभएर विदेशको बारेमा पनि धेरै ज्ञान रहेछ उनलाई । कुरैको प्रसंगमा मैले किताब लेखेको छु भन्ने थाहा पाएपछि खुशी भएर इङ्गलिसमा लेखेको हो भने जसरी पनि मलाई पठाउनु भनेर आग्रह गरिन् ।
गाडीको झ्यालबाटै मस्कोको शहरलाई हेर्दै र सकेको क्यामेरामा कैद गर्दै अगाडि लाग्यौ । सडकहरुमा एक से एक महङ्गा गाडीहरू (रोल्स रोएस, बुगटी, विएमडब्लु, लाम बगेनी, बेन्टली, जुगर, आउडी तथा पोचै) देखिएतापनि सबै महिला फाहोर देखिन्थे । मेरो मनको जिज्ञासालाई हटाउनलाई उनले नै भनिन् कि, ‘धेरै समय हिउँ पर्ने र सडकहरू प्राय हिउँले नै ढाकेको हुँदा गाडीहरू जति सफा गरेतापनि तुरुन्तै फोहोर भई जानेले गर्दा हामीलाई देख्दा फोहोर लागेको रहेछ ।
धेरै देशको भ्रमण गरेता पनि ‘मस्को’ को जस्तो ट्राफिक नियम कडा अरु कतै लागेन । हामी होटेल फर्केर नास्ता खानलाई सुदर्शन र म बाहिर निस्केको थियौं । होटलको ठिक पारी पट्टी थुप्रै रेस्टुरेन्टहरू भएतापनि रोड क्रस गरेर जानुपर्ने थियो । यता उती हेर्दै पनि बाटो काट्ने ठाउँ कतै नदेख्दा र एकजना रसियनले फटाफट हाम्रो अगाडि बाटो काटेर गएको देखेपछि हामी पनि त्यसैको अनुसरण गरेर बाटो मात्र के काटेको थियौ । गाडी भित्र बसिरहेको पुलिसले हामीलाई रोकी हाल्यो । सुदर्शनलाई त केही भनेन तर मलाई चाहिं उसैको गाडी भित्र लगेर पासपोर्ट मागेर लेक्चर दिन थाली हाल्यो । मोबाइलको इङ्गलिस ट्रान्सलेटरको माध्यमबाट ऊ रसियन बोल्दै मलाई जरिवानातिर भनेर दुई पन्ना लामो कागज थमाई हाल्यो । जति अनुरोध गर्दा पनि नमानेपछि उक्त कागज बाकेर गाडीबाट बाहिर निस्के । अलिक पर सुदर्शन मलाई कुरिरहेको थियो । भोलि बिहान बैंकमा गएर पैसा तिर्नुपर्ने कुरा उसलाई बताएर हामी दुई दाजुभाइ यताउती घुम्न थाल्यौ । मस्कोको तेस्रो दिन अलिक चाडो उठे । सुदर्शन मस्त निद्रामा नै थियो । पर्दा खोलेर हेर्दा अघिल्लो दिन जस्तो हिउँ नपरेता पनि आकाश धुम्म थियो । एकछिन् त्यही झ्यालमा बसेर बाहिरको दृश्यहरू हेरिरहे ।
नास्ता खाईवरी समयमै निस्क्यौ हामी मस्कोलाई थप खोतल्न । हाम्रा गु्रपका केही साथीहरू होटलमै बस्नुभयो तेस्रो दिन । ठाउँ ठाउँमा रहेका मनमोहक स्मारक तथा मूर्तिहरुले अँझ बढी सुन्दरता थपी राखेको थियो मस्कोलाई । साना ठुला गरेर धेरै देखेता पनि विशेष महत्व बोकेका मूर्तिहरुको बारेमा ‘लेतिनाले’ बताउँदै गइन । ‘पिटर द ग्रेट’, ९८ मीटर अग्लो स्मारक जो स्टील, पित्तल र तामाद्वारा बनेको जुन मोस्कोभा नदीको बीचमा थियो । संसारको आठौं अग्लो मूर्ति तथा संसारकै नराम्रो मूर्तिमा पनि पर्ने रहेछ उक्त स्मारक । त्यस्तै अर्को थियो ‘वर्कर र कोलखोज हुमन स्कप्चर’ ७८ फिट अग्लो, स्टीलद्वारा निर्मित दुई पुरुष र महिला जसका हातमा हतौडा र हसिया बोकेको थियो । जुन रसिया जनताको प्रतिनिधित्व गरेको रहेछ । अर्को थियो ‘युरि गाग्रिन’ जो अन्तरिक्षमा जाने पहिलो व्यक्तिको ४२.५ मीटर अग्लो टाइटानियमद्वारा बनेको सुन्दर मूर्ति । टाढैबाट झट्ट आँखा पर्ने खालको मूर्ति थियो । त्यस्तै ‘लेलिन’, दोस्तोएभिस्कि तथा थुप्रै मूर्तिका बारेमा बताउँदै हाम्रो गाडी ‘भीडिनेक’ को पार्किङमा गएर रोकियो ।
‘भीडिनेक’ अर्थात व्यापारिक मेला गर्ने स्थल र पार्कको रुपमा चिनिएको ठाउँ । १९३५मा खोलिएको उक्त ठाउँमा सोभियत युनियन ताका देश विदेशबाट बोलाएर विभिन्न मेला तथा सम्मेलन गर्ने गरिएकोले पनि यसको चर्चा बढी चलेको रहेछ । मुख्य द्वारमा विशाल प्रवेशद्वार थियो । जसमाथि ‘वर्कर र कोलखोम स्कप्चर’ को मूर्ति राखिएको थियो । भित्र पसेर केही अगाडि बढेपछि विश्वलाई हल्लाउन सफल व्यक्ति ‘भ्लादिमिर लेलिन’ को ८ मीटर अग्लो मूर्तिसामु उभिन पुगे म । उक्त मूर्तिको पछाडि सेतो र ठुलो भव्य ‘एक्जीविसन सेन्टर’ थियो । हामी अब बिस्तारै एक एक गरेर हेर्दै अगाडि बढ्यौ । त्यहाँ भित्र रहेका ‘प्याभिलियोन’लाई हेर्दै २ घण्टा जति बिताएर ‘भीडिनेक’ पार्क नजिकै रहेको ‘स्पेस म्युजियम’मा पुग्यौं ।
यस ‘स्पेस म्युजियम’ को बारेमा धेरै सुनेता पनि आफ्नै आँखाले हेर्न पाउनुको मज्जा भिन्दै थियो । ‘स्पेस’, ‘रकेट’, ‘स्याटलाइट’ तथा त्यहाँ जाँदा प्रयोग गरिने हरेक वस्तु तथा खाने सामानहरुको नमुना राखिएको थियो । एक दुई घण्टा त्यहाँ हामी दुई दाजुभाइ कुरा गर्दै हरेक सामानहरुलाई एक एक गरेर केलाउँदै गयौ । हामीसँग गएका अन्य व्यक्तिहरुलाई कति रमाइलो भईराखेको थियो थाहा भएन तर सुदर्शन र म त्यहाँ रमाइरहेको थियौं ।
‘त्रित्याकोभ आर्ट ग्यालरी’ जहा रसियाको फाइन आर्टको बारेमा एक से एक उदाहरण त्यहाँ प्रस्तुत गरिएको थियो । १८५६मा शुरु गरिएको उक्त म्युजियममा प्रवेश गर्न ज्याकेट तथा ठुलो लुगाहरुलाई खोलेर मात्र भित्र प्रवेश गराइने रहेछ । ठुलो स्वरमा नबोल्नु भनेर हामी सबैलाई एयरफोन दिइएको थियो । गाइडले बोलेको प्रष्टै एयरफोनबाट सुनिने भएकोले धेरै हल्ला पनि नहुने रहेछ । शान्त तरिकाले हामी त्यहाँ रहेका बहुमूल्य आर्टहरुलाई हेरिरयौं । आर्ट सम्बन्धी बढी रुची भएर पनि होला त्यहाँ भएका आर्टहरुमा आफूलाई डुबाएर ध्यान मग्न गराएको थिए । त्यति धेरै र व्यवस्थित तरिकाले राखिएका थिए । समय दिएर हेर्ने हो भने एक दिनले समेत नपुग थियो । हामी मध्ये केही त्यहाँबाट जानलाई बढी जोड गर्नु थाल्नुभएकोले गर्दा पनि आफ्नो रहरलाई भित्रै दबाएर बाहिर निस्क्यौं ।
टाढैबाट भएपनि ‘वल्र्ड कप’ भएको स्टुडियम हेर्ने इच्छा लेतिनालाई भनेकोले गर्दा उनले अलिक परै गाडीबाट हामीलाई ओरालेर देखाई दिइन् । केही समय स्टुडियम हेर्नलाई बिताएर होटेल तर्फ फक्र्यौ हामी । बाटामा फर्कदा लेतिनाले रसियन केही शब्दहरू हामीलाई सिकाइन् । जस्तैः ‘दोबरे उत्रो भनेको गुड मनिङ्ग’, ‘ब्लागोदारियु’ भनेको ‘थ्याङक्यु’, ‘उभिदिमस्या भनेको फेरि भेटौंला’ आदि । उनले नेपाली र हामीले रसियन सिक्दै जिस्कदै त्यस दिनलाई बिट मार्यौं ।
संसारकै सबैभन्दा सुन्दर कला कृतिले भरिएको भूमिगत रेल स्टेशन ‘मस्को मेट्टो’ । १९३५मा जम्मा ११ कि.मि. को १३ स्टेशनबाट शुरु गरेको, हाल आएर संसारकै व्यस्त मेट्रो स्टेशनमा भित्र पर्ने रहेछ । युटयुबमा खुब हेरेको थिए र जापानमा रहँदा यस स्टेशनको बारेमा धेरै सुनेको भएकोले गर्दा पनि बढी एक्साइटेड थिए म । नेपालबाटै सुदर्शनलाई जसरी पनि ‘मेट्रो’ चाहिं घुम्न पर्छ भनेर भनेको मैले । सायद आफ्नै आँखाले देखिरहँदा पक्कै पनि खुशी भएको हुनुपर्छ ऊ पनि । कुनै भव्य आर्ट ग्यालरीमा घुमेको अनुभव भइरहेको थियो मलाई । चारैतिर रसियन कला संस्कृति झल्किने सफा टे«न स्टेसन । प्रत्येक स्टेशनमा झर्दा छुट्टै पहिचान बोकेको थियो त्यस स्टेशनले । कहीं युद्धका सिपाहीका मूर्ति त कहीं आमाले दुध पिलाइरहेको त कहीं पहिलो पटक अन्तरिक्षमा जान सफल कुकुरका कलात्मक मूर्तिहरू । सबै स्टेशनलाई कुनै ठोस लगाउन नसकिने खालका थिए । हाम्रो समयको अभावले थोरै स्टेशन घुम्ने सौभाग्य नमिलेता पनि जति घुम्यौ त्यो अँझै मेरो आँखामा घुमिरहेको छ । कहीं कतै फोहोर भन्ने थिएन । मान्छे आउने जाने क्रम जारिरहेता पनि त्यस्तो हल्ली खल्ली भन्ने केही थिएन । विदेशीहरू यही ‘मेट्रो’ को कलालाई हेर्नको लागि नै यहाँ आउने गरेका रहेछन् ।
आफ्नो कला संस्कृतिलाई जोगाउन पुरै देश लागि परेको हुन्छ । तर खोई हाम्रो देशमा ? सम्झिदा दिक्क लागेर आउछ ।
हामी मध्ये कसैले ‘नेपाल एम्बेसी’ हेर्ने रहर गरेकोले गर्दा लाग्यौ नेपाली एम्बेसी तर्फ । केही मिनेटको हिँडाई पछि पुग्यौ त्यहाँ । आइतबार परेकोले बन्द भएतापनि बाहिरबाटै नेपालको झण्डा फरफराएको देख्दा फुरुङ्ग भएर फक्र्यौ त्यहाँबाट ।
‘अरबट स्ट्रिट’ नेपालको वसन्तपुर जस्तै देखिन त्यस बाटोमा सजाएर राखिएको सामानहरू नियाल्दै हिँडिरह्यौं । त्यसै हामी हिडिरहँदा कता कता सुनेको जस्तो धुन मेरो कानमा झट्ट पर्न गयो । हामी दुई त्यतैतिर गयौं जहाँबाट त्यो मिठो धुन आइरहेको थियो ।
निधारमा लामो चन्दनको टीका, सेतो धोती लगाएका पुरुष र विभिन्न रङ्गका सारी लगाएर ‘हरे रामा हरे कृष्ण’का भजन गाउँदै नाचिरहेका मान्छेहरुको अगाडि पुग्यौं । नेपालमा पनि कहिलेकाहीं गीताको किताब बोकेर हिँडेका रसियनहरू देख्ने गरेको मैले । हामीसँगै नेपालबाट जानु भएको ‘नारायण बाबा’ले भन्नुभयो कि रसियनमा दिन प्रति दिन हिन्दू धर्ममा विश्वास गर्ने मान्छेहरुको संख्या बढ्दै छ भनेर । एउटी सानी नानीले नरिवलको प्रसाद हामीलाई दिँदै उनीहरूसँगै भजनमा नाच्न आग्रह गरिन् । हाम्रै गु्रपका मोहन गिरी दाइको श्रीमतीले चाहिं केही समय उनीहरुलाई नाच्नमा साथ दिनु भयो ।
‘नारायण बाबा’ पुरै पहेलो लुगा, लामा कपाल तथा निधारमा लामो टीका । सबै घर गृहस्थि त्यागेर नारायणथानस्थित आफ्नै आश्रममा बस्नु हुने रहेछ । विभिन्न देशहरुमा भ्रमण गरिसक्नुभएको उनीसँग ज्ञानगुणका कुरा श्रवण गर्न पाउँदा यात्रा रमाइलो लागेको थियो । मोहन गिरी र बस्नेत दाइ तथा उहाँहरुका श्रीमती अनि थप तीन जना गरेर हामी नौ जना दुबई आएका थियौं । सबै जनासँग घुलमिल हुँदै जाँदा सबै एउटै परिवार जस्तो लाग्न थालेको थियो । सबै जना आआफ्नै स्वभावका भएकाले गर्दा पनि होला । उहाँहरुबाट धेरै अनुभव बटुल्ने मौका मिलेको थियो ।
‘सेन्ट पिटरवक्स’ तथा ‘भोड्का म्युजियम’ जाने धोको चाहिं अधुरो नै रह्यो हामी दुईको । तर पाँच दिने छोटो मस्को बसाईको क्रममा नजिकबाट जे जति जान्ने मौका मिल्यो त्यसलाई आत्मा साथ गर्दै पाँच दिन सम्ममा पाएको न्यानो मायाको लागि सबैलाई धन्यवाद दिँदै दुबईको लागि एयरपोर्टतिर लाग्यौ । यस यात्रा सुखद हुनुमा सुदर्शनको साथको पनि अहम भूमिका रहेको ठानेको छु ।
पाँच दिनमा अनेकौं राम्रा घट्नाहरू घटे जसको बारेमा छुट्टै तरिकाबाट लेख्नुपर्छ भन्ने लागेर यसमा उल्लेख गरिन् । हामीसँगसँग जानु भएका सम्पूर्णलाई धन्यवाद भन्न पर्छ । उहाँहरुबाट धेरै कुरा जान्ने बुझ्ने मौका पाएको छु मैले यात्राको क्रममा रमाइलो गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसैले जिस्कदै हँसी मजाक गर्दै हामी सबैजना मस्कोलाई बाई भन्दै बादललाई चिर्दै नयाँ गन्तव्य तर्फ लाग्यौं ।
समाप्त !
अर्जुन थापा
धुम्बाराही, काठमाण्डौ
