सिंहको हुङ्कारले
सुँगुरको डकारले
भरौटेहरुको जयजयकारले
अनि भेडाहरुको चित्कारले
आक्रान्त अनि भयभित मेरो देश
दुखिरहेछ, आर्तनाद गरिरहेछ
मेरो राष्ट्रिय झन्डा पनि
अल्छी मानी मानी फहराइरहेछ
मेरी आमाका नशा नदीहरु पनि
वेगहीन भएर बगिरहेछन्
मेरो गीरिराज सगरमाथा पनि
निश्तेज ओठले मुस्कुराइरहेछ
शान्तीका ज्योति बुद्ध पनि
आशान्त नयनहरुले मेरी आमालाई चिहाइरहेछन्
बेसहारा मेरी आमा दर्दनाक पीडा
अनि दर्दनाक चिन्ताले
छटपटाइरहिछिन्,नयनझरी बहाइरहिछिन्
हामी भेडा जनता
दायाँ बायाँ नहेरी अगाडि मात्रै दौडिरहेछौं
चटके सिंहले आदेश दिंदा मात्र
नसोची खाल्टोमा हाम फाल्छौँ
घिचुवा सुँगुरले थुतुनो बाउँदा मात्रै पनि
आफ्नो गाँस काटेर
उसको मुखमा ब्यञ्जन ठोसिदिन्छौं
भरौटेहरुको चिप्लोवाणी सुन्दा मात्रै पनि
सम्रिद्दिको दिवास्वप्न देख्न थाल्छौं
हामी सिंहका अन्धभक्त
सुँगुरद्वारा शाशीत
अनि भरौटेहरुको अचानो
सिंह गुफाबाट सडकमा निस्कदा मात्रै पनि
हाम्रो भेडीबथान जयजयकारको लागि त्यतै ओइरिन्छ
सुँगुरले हाब्रो बाएर चूँ चूँ गर्दा पनि
हामी सहर्ष आश्वासित हुन्छौं
समृध्दी र सुरक्षा प्रति निश्चिंत हुन्छौं
अनि भरौटेहरुको उपस्थितिले मात्रै पनि
हामी गौरवान्तित हुन्छौं
किनकी हामी भेडा हौं
हामी चिन्दैनौं शकुनिको पाशालाई
बुझ्दैनौँ चिप्ला पाल्सी भाषालाई
अनि पाल्छौँ तुहिएको आशालाई
हामी गिद्दको थुतुनोमा अमृत कोचिदिन्छौं
सर्पको जिब्रोमा भरोसा ठोसिदिन्छौं
अनि बाँदरको हातमा पसीना बेचिदिन्छौं
हामी लिङ्ग छुट्टिएका नपुंसक हौं
किनकि हामी आमालाई बलात्कार हुँदा मुकदर्शक बन्छौं
हामी चेतनशील बुद्दू , मुर्ख सूरबीर र सशस्त्र निहथ्था हौं
हामी बिवेकशील लाछी , गतिशील बेगती र चक्षुधारी अन्धा हौं
कुल्चौं पैंतालामुनि बन चपाउने ब्वांसाहरुलाई
गाडौँ चिहानमा नदी पिउने गिद्दहरुलाई
जलाऔं चितामा आमाको अस्मिता बेच्ने नरपिशाचहरुलाई
नसहौं दण्डहीनता, अत्याचार र भ्रस्टाचार
मेटाऔं दुराचार ,बलात्कार र कुबिचार
बनाऔं आमालाई सुन्दर, शान्त र बिशाल
बोलौं देशभक्तहरु हो मुक्तकन्ठले जय जय नेपाल
इति
