मेरो सृष्टीदात्री देवी स्वरूपिणी गर्छु प्रणाम अर्पित
मेरो प्रथम रोदनमा भएथ्यौ जननी सगर्व अति हर्षित
म भ्रूण थिएँ जिएँ परिधीमा तिम्रो पूज्य गर्भको
बोक्यौ पाल्यौ मेरो शरीरलाई बिर्सी पीडा दर्दको
आँशु मेरो पियौ बहायौ तिमीले छातीको अमृत नदी
लुटायौ ममता फुटाई मुटुलाई जे सक्थ्यौ सक्ने जती
पहिर्यायौ तिमीले असंख्य कवच अजेय बनोस भनी
ज्ञानदान दियौ स्वर्गामृतसरी प्रथम गुरुवर बनी
कयौं रात बस्यौ नखाई नसुती मेरो रुवाई सुनी
ताते तातेमा भविस्यपथको सफल सपना बुनी
बिस्ट्याएँ, तुर्कयाएँ, मुस्काएँ जननी म तिम्रै काखमा बसी
मुस्कायौ तर हे करुण जननी बालहठको चन्दन घसी
ख्वायौ प्यायौ अमृतबुटी सदा आफु नै भोको बसीकन
लोरी गायौ सुतायौ काखमा सदा आफु अनिंदो भैकन
तिम्रै न्यानो काखमा हुर्किएँ ठूलो भएँ पखेटा लाई उडें
मातृबात्सल्य बिर्सेर रुवाई जननी दूरदेश तर्फ गुडें
बचेरा पन्छी बनी उडे पर पर गुँड रित्तो पारिकन
सन्तान बियोगले कुँडिन गो आमाको बिशाल मन
सन्तान भुल्लिीईगए नव नभमा आनन्द र मस्तीमा
मात्रिस्तन चस्कियो घरी घरी कि छन् ती सास्तीमा ?
अक्षय, अभेद्य, अटल पुष्करिणी आमाको माया बिशाल
कृतघ्नताकी क्षमादायिनी जननी अनुपम सुन्दर मिसाल
तिम्रो पाउले जहाँ टेक्यो त्यही भइगयो प्रशान्त स्वर्गभूमी
मर्न पाऊँ त्यही भूमिमा पुन: पुन: जन्मिदै अर्को अर्को जूनी
आमा हुन् जगकी उज्यालो नभकी निस्वार्थ अटल शशी
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
तिम्रो कोखबाट जन्मौं फेरी फेरी हे ईश्वर बरदान देऊ
त्यही भूमिमा जल्न पाऊँ मरेर पुनर्जन्म त्यहीं लिऊँ
युगौं युग त्यही चक्र घुमिरहोस पवनको वेग सरी
तिम्रै गर्भमा जन्मूँ मरुँ होक्सेमा सदासर्वदा घरी घरी ।
इति
