आतङ्क बेइमानी यो संविधानमा छन्
संस्कारका अनेकौं ठेली चिहानमा छन् ।
तिर्खा छ भोग गर्ने उन्मत्त छन् हजारौं
हाम्रा दिदी र बैनी सर्वत्र घानमा छन् ।।
धारा दफाहरुमा भिन्नै छ लेखिएको
भित्री अदृश्य धारा यस्का विधानमा छन् ।।
सत्रौं हजार मार्दै ल्यायौं विधान किन्तु
सर्वत्र देश चुस्ने यस्कै मुहानमा छन् ।।
खोज्दै विधान जस्ले सर्वस्व नै गुमायो
त्यस्ता सिपाही आफ्ना थोत्रे मतानमा छन् ।।
उत्सर्ग जिन्दगानी गर्ने छ भोक भोकै
छट्टू रजाइँ गर्दै यो देश खानमा छन् ।।
ज्यामी मिली हजारौं दर्बार जो बनाए
त्यस्ता हजार ज्यामी त्यस्कै रछानमा छन् ।।
बहर बहारको अभ्यास
