उज्यालो नबन्दै यहाँ नित्य आऊँ
र आई यहाँ एक गाना सुनाऊँ
नखाई अघाऊँ र खाई अघाऊँ
सुधा एक प्याला चियाको उघाऊँ ।।
अँध्यारै यता अन्तुमा सूर्य आई
चिसो याममा झन् चिसोले नुहाई
लुकी हेर्दछन् लोभिँदै नित्य घाम
सधैंकी तिमी अप्सरा हौ इलाम ।।
यहाँ ज्येष्ठको श्रेष्ठको मान हुन्छ
यहाँ नित्य सद् ज्ञानको गान हुन्छ
तिमीलाई देख्ता सधैं हे इलाम
मलाई भने स्वर्गकै हुन्छ भान ।।
जहाँ ईश आएर खोल्छन् कपाट
र मन्दाकिनी झर्दछिन् स्वर्गबाट
अँधेरै जहाँबाट झुल्कन्छ घाम
तिमी लाग्दछ्यौ स्वर्ग झैं हे इलाम ।।
कहाँ नित्य त्यो ईशको गान हुन्छ
कहाँ मृत्यु जित्ने सुधा पान हुन्छ
यिनै रीतका प्रश्नमा प्रश्न गर्दा
यहाँ प्रश्न तिम्रो समाधान हुन्छ ।।
