Skip to content

क्लिष्ट कविता, सरल व्यक्तित्व

  • by


टक्क इस्त्री लगाएको कालो सुट, पोलिस गरेको टलक्क टल्कने कालो जुत्ता, सुन्दर ढंगले बनाएको कालो कपाल, पातलो कालो फ्रेम भएको चस्मा, सेतो सर्ट, घाँटीमा धर्के टाई र दाइने हातमा सल्किरहेको चुरोट, अंग्रेजी मात्र बोल्न मन पराउने, यस्तो थियो कवि मोहन कोइरालाका कविताहरू पढेर उहाँलाई नभेट्दै मैले आफ्नो मनमा बनाएको उहाँको तस्बिर ।
सायद म काठमाडौँमा टी एस इलियटको अर्को रूप हेर्न चाहन्थेँ ।
तर, काठमाडौँ भित्रिएको दुई-तीन महिनापछि नयाँसडकको पीपलबोटबाट भूगोलपार्क हुँदै जुद्धशमशेरको सालिकलाई दाहिने पारेर पश्चिम दिशातिर अघि बढिरहेको एउटा समूहको एक जना व्यक्तिलाई औँल्याएर, अलि टाढाबाट कसैले कवि मोहन कोइरालालाई चिनेको छ ? उहाँ नै हो मोहन कोइराला भन्दा म छक्कै परेको थिएँ ।
मैले सोचेको तस्बिर र उहाँमा कहीँकतै समानता थिएन ।
जुन व्यक्तिलाई औँल्याएर मलाई मोहन कोइराला भनेर देखाइयो, उहाँले त दौरा-सुरुवाल र कोट लगाउनुभएको थियो । टाउकामा टोपी थियो । एकदम पक्का नेपाली भेषभूषा । एकदमै साधारण, एकदमै स्वाभाविक लाग्ने नेपाली नागरकि । सबभन्दा पहिले कसले मलाई उहाँसँग सोझो परचिय गराइदियो, अहिले मलाई सम्झना छैन । तर, सबभन्दा पहिले उहाँसँग मेरो परचिय नयाँसडकको पीपलबोटमुनि नै भएको हुनुपर्छ । -म भर्खरभर्खर काठमाडौँ भित्रिँदा क्या जम्मा हुन्थे कवि लेखकहरू, नयाँसडकको पीपलको बोटमुनि !) मीठो नेपाली । एकदमै सरल पाराको । मायालु र विनम्र बोली । उहाँ मैले सोचेभन्दा एकदमै-एकदमै फरक हुनुहुन्थ्यो ।
उहाँसँग एकपल्ट परचिय भयो तर बिर्सनुभयो उहाँले मलाई । फेर िपरचिय भयो । फेर िपनि बिर्सनुभयो । फेर िपरचिय भयो । यसरी परचिय दोहोर्‍याउँदै-तेहेर्‍याउँदै अघि बढ्नुपथ्र्यो मोहन कोइराला दाइसँग । धेरैपल्टको भेटघाटपछि बल्लबल्ल उहाँले चिनिनेसम्म हुन पुगेँ म ।
उहाँ गाउँबाट भर्खरभर्खरै सहर पसेको विनम्र तर भुलक्कड स्वभावको एउटा व्यक्तिजस्तै हुनुहुन्थ्यो ।
रूपरेखा, मुकुट, हिमानी, कविता वा अन्य कुनै प्रकाशनहरूमा जब म उहाँका कविताहरू पढ्थेँ, चकित हुन्थेँ । ती कविताहरू मैले भेट्ने मोहन कोइरालाले नै लेखेका हुन् भनेर विश्वास गर्न गाह्रो हुन्थ्यो मलाई । मलाई उहाँको लेखकीय व्यक्तित्व र मानवीय व्यक्तित्व एकदमै नमिल्दो गरी जोडिएर बसेजस्तो लाग्थ्यो । आधुनिक कवितामा तहल्का मच्चाउने प्रतिभाशाली कवि र दिनदिनको व्यवहारमा देखिने एकदमै साधारण व्यक्ति मेरालागि अलग-अलग थिए ।
यस्तो पनि हुँदोरहेछ ।
पछि धेरै गोष्ठीहरूमा बरोबर भेट्दा, उहाँका कविताहरू उहाँकै मुखबाट सुन्दा, उहाँसँग घनिष्ट भएर, मीठो मानेर कुराकानी गर्दा, बल्ल-बल्ल मेरो मनमा एउटै मोहन कोइरालाको छवि बस्न थाल्यो ।
लामो संगतको उठबसपछि म के निर्णयमा पुगेँ भने उहाँ लेखनमा एकदमै प्रतिभाशाली तर व्यवहारमा भने पत्याइनसक्नुको एकदमै सरल र लुपुक्क मिल्ने स्वभावको मायालु व्यक्ति हुनुहुन्थ्यो ।
म जुनबेला काठमाडौँ उत्रिएँ, त्यसबेला नेपाली कवितालाई मोहन कोइरालाले नेतृत्व गर्नुभएको थियो । यसमा कुनै शंकै थिएन । रूपरेखाले उहाँलाई अत्यन्त सुन्दर वातावरण दिएको थियो । म उहाँको शैलीको कवि थिइनँ । मलाई त गोपालप्रसाद रमिाल, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, विजय मल्ल, भूपी शेरचन, वासु शशी, तुलसी दिवसजस्ता कविहरूको पंक्तिमा राखिदिनु वेश हुन्थ्यो । मेरालागि यी कविका कविताहरू बुझिने र मनछुने खालका हुन्थे । मोहन कोइरालाका कविताहरू त साह्रै क्लिष्ट लाग्थे मलाई त्यसबेला । अरूले राम्रा छन् भनेर प्रशंसा गर्ने हुनाले मात्र पढ्थेँ म उहाँका कविताहरू ।
तर, के हो के हो एउटा लहर चलेको थियो मोहन कोइरालाका कविताहरूको, जसको प्रभाव त्यतिबेला धेरै कविहरूमा परेको थियो । निरंकुश जहानियाँ एकतन्त्री पञ्चायती काल थियो । भनी नसक्नु पीडा थियो । -एकतन्त्री शासन जुनसुकै नामको भए पनि निरंकुश नै हुँदोरहेछ ! ) पीडालाई व्यक्त गर्न मन लाग्थ्यो तर पीडा व्यक्त गर्दा मारमा परनिे खतरा हुन्थ्यो । ठाडो मारबाट जोगिन कल्लाई चाहना हुँदैन र ? त्यसैले त्यसबेला मोहन कोइराला दाइको शैलीले कविता लेख्नु एक किसिमको रहरलाग्दो काम थियो ।
पछिपछि त मलाई कस्तो बानी पर्न थाल्यो भने म काजु र किसकिसजस्ता सरल र मीठा कविताहरू मात्र नपढेर हाडे ओखरजस्ता फुटाइनसक्नुका कविताहरू पनि पढ्न चाहन्थेँ । त्यसैले मलाई मीठा लाग्थे त्यतिबेलाका मोहन कोइरालाका कविताहरू । साना आकारका कविता हुन् वा लामा आकारका कविताहरू हुन्, ती कविताहरूले मलाई साह्रै छुन्थे । लेक कविता पढेर म लेकैमा पुग्थेँ । हरफ-हरफहरू भूमि र परविेशमा बदलिन्थे, झ्वाम्म छोप्थ्यो कविताले मलाई ।
मैले पनि उहाँको लेखनबाट प्रभावित भएर बेलाबेलामा आफ्नो प्रकारले क्लिष्टतालाई अँगालेको छु । मन पर्छ कहिलेकाहीँ मलाई यसो गर्न । तर, मोहन कोइराला क्लिष्ट कविता मात्र लेख्ने क्लिष्ट कवि हुनुहुन्छ भनेर सोच्नुचाहिँ एकदमै गलत हो । उहाँ विभिन्न किसिमले कविताका बान्कीहरू पस्किने मानवीय पीडाका गायक हुनुहुन्छ, उहाँलाई यसो भन्नुचाहिँ राम्रो हुन्छ मेरो बुझाइमा ।
एउटा सत्य म नलुकाईकन प्रकट गर्न चाहन्छु । धेरै जना हुनुहुन्छ होला मोहन कोइरालाका कविताहरू पढेर मोहन कोइरालालाई मन पराउने तर मचाहिँ त्यसको ठीकविपरीत ध्रुवमा परेछु । मैले व्यक्ति मोहन कोइराला मन परेपछि उहाँका कविताहरू बिघ्नै मन पराउन थालेको हुँ । म यो कुरा नढाँटी भन्न चाहन्छु । कवि मोहन कोइराला साँच्चै नै मायालु र महान् हृदय भएको व्यक्ति हुनुहुन्थ्यो । हुन त मायालु हृदय नभएको मानिस महान् कवि हुन्छ नै कसरी !
कवि मोहन कोइरालासँग, दाजु मोहन कोइरालासँग काठमाडौँमा हुने विभिन्न कविगोष्ठीहरूमा सँगै भाग लिएको मात्र होइन, काठमाडौँबाहिर पनि साहित्य सम्मेलनहरूमा भाग लिन गएको छु म, धेरैपटक । एउटा अग्रजको रूपमा, संरक्षकका रूपमा न्यानो माया पाएको छु यस्तो बेला मैले उहाँबाट ।
काठमाडौँबाहिर जाँदा, हिँडडुल गर्दा प्रायः उहाँ सर्ट-पाइन्ट लगाउनुहुन्थ्यो । मीठो लाग्थ्यो मलाई उहाँलाई अर्कै भेषभूषामा हेर्दा ।
एउटा समय थियो, उहाँ यातायात संस्थानमा काम गर्नुहुन्थ्यो र मचाहिँ नेपाल राष्ट्र ब्यांकको ब्यांकिङ् कार्यालयमा काम गर्थें । मेरो कार्यालय त्यतिबेला बहादुर भवनमा थियो । आफ्नो अफिसको कामले मोहन कोइराला दाजु बरोबर मेरो अफिसमा आइरहनुहुन्थ्यो । म पनि कवि भएको हुनाले मसँग एकदमै मिल्ने त्यो कार्यालयका मेरा १६-१७ जना साथीहरू कवि साहित्यकार भनेपछि हुरुक्कै हुन्थे । त्यसैले कुनै कवि अथवा लेखक मलाई भेट्न आएपछि मेरा साथीहरूले मलाई मेरो कामबाट छुट्टी दिन्थे ।
पहिला म मोहन कोइराला दाइको काम गरििदन्थेँ, त्यसपछि हामी कार्यालयभित्रकै क्याफ्टेरयिामा बसेर चियानास्ता खाँदै, गफ गर्दै मज्जाको मीठो समय बिताउँथ्यौँ ।
यहाँ म दाजु मोहन कोइरालाभित्र लुकेर बसेको कवि मोहन कोइरालाई एकदम नजिकबाट भेट्थेँ । उहाँसँग कुरा गर्थें । भन्नुहुन्थ्यो, “तपाईं यहाँ हुनुहुन्छ भनेर सोचेपछि मलाई यहाँ आउन एकदम मजा लाग्छ ।” कहिलेकाहीँ उहाँले बोलाएर म उहाँको अफिसमा जान्थेँ । बिघ्नै राम्रो गर्नुहुन्थ्यो मलाई । मैले मेरो साथमा कुनै साथीलाई लाँदा त्यो साथी कवि वा लेखक नभएर साधारण व्यक्ति भए पनि मोहन दाइले समान व्यवहार गर्नुहुन्थ्यो । कस्तो महान् कवि ! कस्तो महान् मानिस !
कवि मोहन कोइराला दाजु कविता लेख्दा आफूलाई जसरी लेख्न मन पर्‍यो, त्यसरी कविता लेख्नुहुन्थ्यो । लामो, एकदमै लामो संगतपछि मैले के अनुभव गरेँ भने उहाँ अरूलाई यस्तो कविता लेख्नुपर्छ, उस्तो कविता लेख्नुपर्छ भनेर कहिल्यै आग्रह गर्नुहुन्नथ्यो । कवितामा यस्तो विचार राख्नुपर्छ, उस्तो विचार राख्नुपर्छ भनेर कहिल्यै आग्रह गर्नुहुन्नथ्यो ।
म उहाँको समकालीन नभएर पनि मलाई यस्तो अनुभव भएको हो कि ? उहाँले मबाट कहिल्यै केही आग्रह गर्नभएन, खालि माया गर्नुभयो, तपाईंको लेखन राम्रो छ, लेख्नूस् भनेर प्रेरति मात्र गर्नुभयो, बस् ।
नेपालीमा गद्यकविता लेख्नेहरूको पंक्ति खडा गर्दा म सधँै उहाँसँग उभिएको हुन्थेँ अथवा यो कुरालाई अझ यसरी भनौँ, उहाँले मलाई सधँै आफूसँग उभ्याउनुहुन्थ्यो । उहाँको त्यस मायाले म एकदम आह्लादित हुन्थेँ ।
एउटा कुराको मलाई एकदमै लोभ लाग्थ्यो, म पनि मोहन कोइराला दाजुजस्तै कवि बन्न सकूँ अनि मलाई पनि उत्तम कँुवर दाइजस्तै सम्पादकले माया गरोस् । उत्तम कुँवर दाइले मोहन कोइराला दाइलाई गरेको माया र आदर किन हो किन मलाई असाध्यै मीठो लाग्थ्यो ।
एकातिर छन्दमा कविता लेख्ने, लेख्न मन गर्ने कविवर माधव घिमिरे र अर्कातिर गद्यमा कविता लेख्ने, लेख्न मन गर्ने कवि मोहन कोइरालाजस्ता कविहरूको उपस्थिति मलाई एकदमै मीठो लाग्थ्यो नेपाली साहित्यमा ।
“मञ्जुल भाइ ! गद्यकविता लेख्दा माइसपको विज्ञापन लेखेजस्तो भयो भनेर खिसी गर्थे हाम्रा अग्रज कविहरू । साह्रै अप्ठ्यारा दिनहरू थिए मैले गद्यकविता लेख्दाका दिनहरू, साह्रै अप्ठ्यारा ।” मोहन कोइराला दाइ मुसुक्क हाँसेर मलाई आफूले भोग्नुपरेको पीडा सुनाउनुहुन्थ्यो ।
“तर, कस्तो होगि मञ्जुल भाइ ! आज गद्यकविता नै गद्यकविता छ जताततै ।” नबोलेको मोहन कोइराला दाइको मौनताले चाहिँ यसो भनेजस्तो लाग्थ्यो ।
तर, यो पछिल्लो भनाइ मेरो मनको कल्पना मात्र हो मोहन कोइराला दाइले शब्दले मलाई कहिल्यै यस्तो भन्नुभएन । तर, उहाँको शान्त, सन्तुष्ट र मौन शब्दले चाहिँ मलाई सधँै यस्तो भन्यो । जरुर भन्यो । यसो भन्नुमा दुःखपछिको सन्तोष भन्दा सफलता प्राप्त गरेको घमण्ड व्यक्त हुन्छ भने त्यो घमण्डका लागि मोहन कोइराला दाइले होइन मैले क्षमा माग्नुपर्छ नेपाली कविताका स्रष्टा र पाठकहरूसँग । किनभने, मोहन कोइराला दाइको सान्निध्यमा कल्पना गरेको यो एकदमै मेरो सोचाइ हो ।
मोहन कोइराला दाजुसँग म एकदमै मिल्थेँ । एउटा अन्तरंग क्षणमा उहाँले मलाई भन्नुभयो, “मञ्जुल भाइ ! एउटा कुराले त म पनि कम्युनिस्ट नै हुँ ।”
अनि उहाँ मुसुक्क हाँस्नुभयो, हाम्रै गाउँको कार्की साइँलो हाँसेझैँ । अचम्म मानेर मैले सोधेँ, “कसरी ?”
“मलाई पनि लेख्दा गरबि-दुःखीकै बारेमा लेख्न मन लाग्छ ।”
वास्तवमा मोहन कोइराला दाइलाई नबुझिने कविता लेख्ने बुर्जुवा कवि भनेर गाली गर्न मन गर्नेहरू धेरै छन् तर गरबि-दुःखीका पीडाहरू लेख्ने कविका रूपमा माया गरेर उहाँका कविताहरूको गहन अध्ययन गर्ने पाठकहरूको धेरै अभाव छ नेपाली साहित्यमा ।
म मोहन कोइराला दाइलाई जीवनको अग्रगति चाहने क्रान्तिकारी कविका रूपमा प्रस्तुत गर्न चाहन्छु किनभने उहाँ हुनुहुन्छ नै त्यस्तै । म उहाँलाई कुनै गुट विशेषको कविका रूपमा प्रस्तुत गर्न चाहन्नँ । यसमा कसैको मन दुख्छ भने क्षमा पाऊँ ।

नेपाल साप्ताहिक ३३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *