नेपालीहरुको विदेश भ्रमणमा सबैभन्दा बढी रोजाइमा पर्ने देश हो बैङ्कक । झन “थाई लियोन एयर”ले सिधा बैङ्कक उडान भर्न थालेपछि बैङ्कक जानेको सङ्ख्या अँझ बढ्न गएको छ । कारण हवाई भाडा अरुको तुलनामा सस्तो छ “थाई लियोन” को । मुक्तिनाथको दर्शन गर्न जाँदा लाग्ने खर्च र बैङ्कक जाँदाको खर्च लगभग उस्तै पर्न जान्छ ।
अगष्ट एक तारिकका दिनबाट उडान सुरु गरेको “थाई लियोन एयर”ले र त्यही पहिलो उडानबाटै बैङ्कक पुगेको थिए म । नेपालबाट बैङ्कक जाने सबै उडान “सुवर्णभूमि” एयरपोर्टमा अवतरण गर्ने गर्थ्यो भने पहिलो पटक हामी सवार “थाई लियोन एयर”ले “डोङ्ग मियोङ” एयरपोर्टमा अवतरण गरेको थियो । बैङ्कक दश दिन बसेतापनि लगभग घुमाई नगन्य रुपमा भयो मेरो । होटल र एयरपोर्ट आउँदै जाँदै नै धेरै समय खेर गयो । कारण बैङ्कक अतिरिक्त चार अन्य देशको भ्रमण बैङ्कक एयरपोर्ट तथा रेल स्टेशनबाट भएको थियो । जसले गर्दा घुम्नलाई समय अधकल्चो हुन गयो । बैङ्कको “फुकेट” र “पताया” जान समय निकाल्न नसकेता पनि भएको समय पुरा पुर बैङ्कक शहरमा नै बिताए ।
जापानबाट नेपाल आउँदा ट्रानजिट प्राय बैङ्ककको “सुवर्ण भूमि” एयरपोर्टमै पर्ने गर्थ्यो र एयरपोर्ट भित्रैबाट बैङ्ककलाई हेर्ने गरेको मैले यसपटक एयरपोर्टबाट बाहिर निस्कदा पुरानो बैङ्कक घुम्ने बाचा पुरा भयो भन्ने खुशी थियो मनमा । त्यहाँ थाई मान्छेहरुले आआफ्नै भाषामा कुरा गरेको सुन्दा, जापानमा मेरा थाई साथीहरू कुरा गरेको सम्झना भयो । म पढ्ने कलेजमा थुप्रै थाई विद्यार्थीहरू थिए । हामीहरू समय मिलाएर थाई खाना खान जान्थ्यौ थाई र नेपाली खाना मलाई प्राय उस्तै लाग्ने गर्थ्यो । मेरा क्लासमा चार जना थाई साथी भएतापनि “कन्निका” मेरो मिल्ने साथी थिइन । खाना बनाउन उनको सोख भएकोले गर्दा पनि घरबाट मिठो मिठो खाना पकाएर ल्याएर लञ्च ब्रेकमा खुल्याउथिइन् । थाईमा राजालाई भगवान सरह सम्मान गर्ने तथा बुद्ध धर्मको धेरै कुरा सुनाउथिन् । उनको र मेरो के शर्त भएको थियो भने एक दिन उनले उनको भाषा मलाई सिकाउने र अर्को दिन मैले उनलाई ।
ती पुराना यादहरू सम्झिदै गर्दा एयरपोर्टबाट होटल आएको पत्तो नै पाइनछु मैले । कुन होटलमा बस्ने, कुन खाना मिठो, कहाँ कहाँ घुम्ने र कुन कुन साधनबाट घुम्दा सस्तो पर्छ आदिको लामो आइटेनेरी नै बनाएर पठाई दिएकी थिइन् उनले । भियतनाममा “किम”ले गर्दा धेरै नै सहयोग पुगेको थियो मलाई भने अब त झन पुरा नै डिटेल आफूसँग थियो । जसले गर्दा झन ढुक्क थिए ।
“खावोसान रोड”मा मेरो पहिलो रात थियो । बैङ्ककमा “ब्याक प्याकर्स” को लागि बढी लोकप्रिय ठाउँ थियो “खावोसान रोड” । बसबाट उत्रदा लगभग झमक्क रात परिसकेको थियो । तर विदेशीहरू जताततै देखिन्थे हातमा वियरका बोतल बोकेका त कोही नाच्दै हिँडेका त कोही…..। आफैले सञ्चालन गरेका एक फ्रेञ्च नागरिक जसले कन्निकाको साथीसँग विवाह गरेका रहेछन् । उनकै होस्टेलमा पहिलो रात बिताए ।
सायद उनको श्रीमतीको तर्फबाट आएकोले पनि होला बिहान मिठो फ्रेञ्च खानाले स्वागत गरियो मलाई । विदेशमा कसैले आफ्नै सम्झेर माया गर्दाको आनन्द बेग्लै हुन्छ । बिहानको नास्ता खाएर निस्के “ग्राण्ड प्यालेस” तर्फ । बैङ्ककम क्याब, टुक टुक, मोटरबाइक, ट्रेन, बस र डुङ्गा मध्ये मलाई डुङ्गा सबैभन्दा आनन्द लाग्यो सवारी साधनमा । थोरै पैसामा बैङ्ककलाई नजिकबाट नियाल्न सकिने । दश मिनेट डुङ्गाको यात्रा तथा केही समय हिँडेपछि टाढैबाट देखियो “ग्राण्ड प्यालेस”लाई । बिहानको साँढे आठ बजेदेखि दिउँसोको साँढे तीन बजेसम्म खुल्ने रहेछ उक्त दरवार सर्वसाधारणको लागि । विभिन्न भाग भाग गरेर छुट्याइएको रहेछ । जसमध्ये “वाट फ्रा”, “इमरल्याण्ड बुद्ध”, “लेजेण्डस”, “पगोडा” र “दरवार” । पहिलो प्रवेशद्धारबाट भित्र छिरेपछि देखापर्ने “वाट फ्रा” । बिस्तारै अगाडि बढ्दै जाँदा “किन्नारा” को सुनौलो मूर्ति र चम्किरहेको “लेगेन्स”का मूर्तिहरू । जसलाई भगवान विष्णु तथा इन्द्रको रुपमा पनि हेर्ने गरेका रहेछन् । श्रीलङ्काबाट तीन सय वर्ष अगाडि भित्राइएको रहेछ उक्त “इमरल्याण्ड बुद्ध” को आकृति । श्रीलङ्काको पगोडा ढाँचामा बनाइएको अर्को ठुलो सुनौलो पगोडा जसलाई देख्दा सुनकै हो कि जस्तो भान भएको थियो मलाई । र त्यसको ठिक अगाडिरहेको ठुलो “मनडुप” । सुनौलो रङ्ग तथा ससाना काँचका टुक्राहरू भित्ता तथा पिलर भरि छापेकोले गर्दा सूर्यको किरण पर्दा टलटल चम्किरहेको हुन्थे । एकपछि अर्को गर्दै, “हरमिट मूर्ति”, ‘ऐट टावर’, ‘हात्तीको मूर्ति’, तथा सयौं सङ्ख्यामा रहेका अदभुत मूर्तिहरू हेर्दा लाग्थ्यो कि कथामा सुनेको इन्द्रको दरवारमा छु जस्तो । हजारौङ्को सङ्ख्यामा पर्यटकहरू थिए । हिँड्नलाई समेत गाह्रो भएको थियो त्यहाँ । तर पनि सबै व्यवस्थित तथा सफा देखिन्थे हरेक वस्तुहरू । ‘जाइण्ट डेमोन’, ‘किनोर’, ‘गरुड’ तथा ‘नाग’का मूर्ति देख्दा हाम्रै आफ्नै भगवानका मूर्ति हो जस्तो भएको थियो ।
अब अर्को भागमा थियो ‘ग्राण्ड प्यालेस’ । १८८२मा निर्मित ‘चक्रि माहा प्रसाट’ दरवार जो कि अँझै पनि ठुला चाडपर्वहरुमा प्रयोग गरिने रहेछ राजपरिवारहरुले । हुन त अहिले राजपरिवारका कोही नबसेता पनि त्यहाँको भव्यता हेर्दा आँखा तिरमिराउथ्यो । नयाँ राजाहरू फेरीय पिच्छे नयाँ दरवार बनाइएको हुँदा त्यहाँ अरु त्यतिकै ठुला र भव्य दरवार थिए । त्यही भित्र “इमरल्याण्ड म्युजियम” पनि त्यतिकै सुन्दर थियो । म्युजियमको बाहिरी भागमा विभिन्न तोपहरू लस्करै राखिएको थियो भने भित्री भागमा कला कृतिहरू जस्तै कैलाश, बुद्ध तथा शिवका तस्विरहरू राखिएका थिए । करिब तीन चार घण्टा सबै हेर्नमा बिताएर निस्के बाहिर । पैसा तिरेर पनि मनलाई आनन्द लागेको थियो त्यहाँ मलाई । मान्छेहरू त्यतिकै मरिहत्ते गर्ने होइन रहेछ बैङ्कक घुम्नलाई भन्ने बुझे मैले ।
बाहिर निस्कदा पेटले खाना खोजिसकेको थियो । “तोम याम” मेरो सन्धै मिठो लाग्ने थाई नुडल । हल्का तथा सागपात मिसाइएको भएर पनि फाइदा बढी दिने तोम याम । साथमा फ्राई स्कुइड । सम्झिदा अहिले नै मुखबाट पानी चुइन्छ । पेट पूजा गरिसकेपछि लागियो अर्को गन्तव्य ‘रिक्लाइनिङ्ग बुद्ध’ अर्थात पल्टिएर रहेको बुद्ध । धेरै सुनेको र टि.भि. हरुमा हेरेको बैङ्ककको रिक्लाइनिङ्ग बुद्ध । सुनौलो रङ्गको ठुलो बुद्धको मूर्ति आफ्नो अगाडि पाउदा मनमा छुट्टै आनन्द भईराखेको थियो । “बुद्ध म शरणं गच्छामी । धर्म शरणं गच्छामी । सघं शरणं गच्छामी ।” मनमनै जप्दै केही समय बिताए उनै बुद्धलाई हेर्दै । सयौङ्को सङ्ख्यामा पर्यटकहरू फोटो खिच्नलाई तछाड मछाड गर्दै थिए । वरपर रहेका अरु साना ठुला मूर्ति तथा मन्दिरलाई हेरेर बाहिर निस्के ।
बैङ्कक पुग्नुभन्दा पहिला मेरो दिमागमा बैङ्ककमा मुख्य तया वेश्यावृद्धि लागि प्रख्यात र त्यसैका लागि बढी पर्यटकहरू जाने भन्ने जुन भ्रम थियो । त्यहाँ पुगेपछि कति गलत रहेछु भन्ने छर्लङ्ग भयो । जहा जाऊ त्यही उतिकै सङ्ख्यामा पर्यटकहरू । अनि किन नहोस देशको नाम संसारभरी प्रख्यात । मुख्य मुख्य पर्यटकस्थल भनेकै बुद्धको मूर्ति तथा मन्दिर थियो । तर त्यही बुद्ध भगवानको जन्म भएको देश नेपालमा खोई हामीले पर्यटक तान्न सकेको । “बुद्ध भारतमा नभएर नेपालमा जन्मेको हो ।” भन्दैमा सकिने भयौ हामी । प्राकृतिक हिसाबले धनी देश । मन्दिरै मन्दिर भएको देश । के छैन हाम्रो देशमा ? तर ठुला ठुला भाषणमै सीमित भयौ हामी ।
“लुम्पिनी पार्क” भित्र खुल्ला जिम क्लब । सुन्दर पार्क भित्र खुल्ला आकाशमा रहेको जिम क्लब । त्यस जिम क्लबको नाम धेरै सुनेको थिए नेपाल छदै । जिममा इण्ट्रेस्ट भएको र जिम क्लबका साथीहरू बैङ्कक गएको बेला त्यहाँ गएर वर्क आउट गरिसकेको अनुभव सुनाएकाले पनि आतुर थिए त्यहाँ जानलाई । एकपटक गरेको बिस भाट तिरे पुग्ने रहेछ । पैन्तिस वर्ष पुरानो जिम क्लब र अँझै त्यतिकै मान्छेहरू थिए त्यहाँ गर्ने । सामानहरू खुल्ला आकाश मुनिरहेकोले गर्दा पुराना देखिएता पनि त्यसरी खुल्ला रुपमा डम्बेलहरू उचाल्दा छुट्टै अनुभव भएको थियो मलाई । केही समय त्यहाँ बिताएर निस्के फेरि पार्क घुम्नलाई । “लुम्पिनी पार्क” घुमिरहदा मलाई टोक्यो को योयोगी पार्कको झझल्को दिलाइरह्यो । धेरै कुरा मिल्दा जुल्दा थिए ती दुई बीच । जस्तै ः “बाइक राइडिङ” गर्ने व्यवस्था आदि ।
पार्कबाट केही मिनेटमा हिँडेर पुगिने “चाटुचाट मार्केट” जो स्वदेशी तथा विदेशीहरुको लागि लोकप्रिय बजार थियो । हप्तामा दुई दिन शनिबार र आइतबार मात्र खुल्ने विशाल ठुलो बजार । जहाँ सस्तो तथा हरेक सामानहरू पाइने । पहिलो पटक देखे त्यति ठुलो बजार त्यो पनि एकै ठाउँमा । अचम्म त के लाग्यो भने त्यहीका रैथाने नेपालीहरुका पनि थुपै्र पसलहरू थिए । नेपाली त्यति राम्ररी बोल्न नजानेता पनि जति बोले मेरो लागि ठुलो कुरा थियो । “थाई आइस टि” को चुस्कि लिँदै घुमिरहे पुरै तीन घण्टा लगाएर । बाहिर निस्कदा झमक्क साँझ परिसकेको थियो भने खुट्टा गलिसकेको थियो । बैङ्कक आएर खुट्टाको मसाज गरेन भने त तरकारीमा नून नहाले सरह हुन्छ नै । छेउमै रहेको “फुट मसाज”मा गएर मज्जाले खुट्टाको मसाज गराए र टुक टुक चडेर लागे होटल तीर ।
बिहानीले स्वागत गरिसकेको थियो । तर राती अलिक बढी नै पिएकोले होला सायद ओछ्यान छोड्न मन मानिरहेको थिएन । घडी हेरे बिहानको नौ बजिसकेको थियो । घुम्नु कतै थिएन । किनकि चाँडो एयरपोर्ट पुग्नु थियो भियतनाम जानलाई । त्यसैले आरामले नुहाएर ‘हर्वल ड्रिङ्क’ पिउँदै निस्के होटलबाट । चाहिने सामान मात्र बोकेर बाँकी त्यही होटलमा छाडेर निस्केको थिए ।
दश दिने भियतनाम र क्यामबोडियाको भ्रमण सक्काएर फेरि एकपल्ट बैङ्ककको भूमिमा थिए म । दोस्रो पटक बैङ्ककमा आफूलाई केही सहज महसुस गरे ।
“वाट अरुण” अर्को मूख्य स्थान जहा पर्यटहरुको लागि आकर्षणको केन्द्रविन्दु थियो । १९१७मा पुनः निर्माण गरिएको पकोडा सैलेको सेतो स्तुपा । हिन्दू भगवान ‘अरुणा” को नामबाट राखिएको उक्त “वाट अरुण” जो बिहानको पहिलो सूर्यको किरण यसमा पर्न साथ चम्किने दृश्य हेर्न लायक थियो । अर्को साँझपख वरिपरि जडान गरिएको बत्तीका प्रकाशले त्यसको सौन्दर्य झन डबल भई जान्थ्यो । डुङ्गामा बसेर चिसो विएर पिउँदै ‘वाट अरुण’लाई हेर्दा यस्तो अनुभव हुन्थ्यो कि कुनै स्वर्ग लोकमा छु । साँच्चिकै बैङ्कक वेश्यावृत्तिको लागि मात्र नभएर मठमन्दिरहरुकै लागि प्रख्यात रहेको भन्ने अनुभव गरे मैले ।
“नाम नाङ्ग नाम पेउअङ फ्रोल्टिङ्ग मार्केट” अर्थात खोलामा तैरिएको डुङ्गाहरुमा राखिएको बजार । सुन्दा जति एक्साइटेड थिए त्यहाँ पुगेपछि त्यसको डबल एक्साइटेड भए । बिहानको नास्ता खाने गरी पुगेको थिए त्यहाँ । म बसेको होटलबाट अलिक टाढा भएतापनि त्यहाँको वातावरण देखेपछि नखाएको भए ठुलो कुरा देख्न र अनुभव गर्न छुट्ने रहेछ जस्तो भयो । सयौङ्को सङ्ख्यामा साना डुङ्गाहरू माथि बेच्न राखिएका सामानहरू । तरकारी, फलफूल तथा होटलहरू । सानो डुङ्गामा चडेर आफ्नै आँखा अगाडि बनाएको ‘प्याड क्रा पावो गाई’ अर्थात कुखुराको मासु, अण्डा र भात जो देख्दा जति मिठो देखिन्थ्यो खादा झन मिठो थियो । प्राय जापानमा ‘कन्निका’सँग कलेजको ब्रेक हुँदा गएर खाने खाना मध्ये एक पर्थ्यो यो मेरो । त्यही बेलादेखि यसको स्वाद मुखमा झुण्डिरहेको थियो मलाई । बुढी आमाले डुङ्गामा बसेर बनाउदै र डुङ्गा पनि चलाउँदै गरेको दृश्य मेरो लागि अनौठो थियो । मान्छेहरू ताजा तरकारी किन्नको लागि पनि बिहानको समय बढी आउने रहेछन् । तैरिरहेको डुङ्गा माथि त्यसरी सामानहरुको किनबेच भइरहेको देख्दा अचम्म पनि लाग्यो । साच्चिकै बैङ्कक अनौठो देश लाग्यो । विदेशीहरू पनि त्यतिकै देखिन्थे र म जस्तै अचम्म मानेर त्यहाको दृश्यहरुलाई क्यामेरामा कैद गर्दै थिए ।
‘भिक्ट्रि मनुमेण्ट’ १९४१मा फ्रेञ्चहरुसँग लडाइँमा जित हासिल गरेको उपलक्ष्यमा बनाइएको स्मारक । सडकको बीच भागमा बनाइएको स्मारक जसमा पाँच मूर्तिहरू (आर्मी, नेभी, एर फ्रोस, पुलिस र मान्छे) स्थापना गरिएको थियो । सडकको बीचमा भएकोले गर्दा पनि नजिक गएर हेर्न नसकेता पनि आकाशे पुलबाटै क्यामेरामा केही तस्वीर लिएर अर्को गन्तव्यतिर लागे ।
“कुकिङ क्लास” तीन घण्टे थाई परिकार बनाउने क्लास । ‘कन्निका’ले जसरी पनि थाई कुकिङ क्लास लिनु रमाइलो हुन्छ । तिमीलाई खाना बनाउन मन लाग्ने भएकोले गर्दा पनि इण्टे«स्टिङ हुन्छ भनेर दुई तीन पटक नै म्यासेज गरेकी थिइन मलाई । पहिलो चरणमा थाई खानाको बारेमा छोटो परिचय दिएपछि तीन प्रकारको खाना बनाउन सिकाए । म लगायत अरु आठ जना विदेशीहरू थियो । प्रत्येक दिन खानाको परिकार फरक फरक हुने रहेछ । त्यस दिन चाहिं ‘खावो प्याड (भुटेको भुजा)”, सोम तुम (मेवाको सलाद)’, र ‘प्याड थाइ (फ्राइड नुडल्स)’ हाम्रो भागमा परेको थियो । खाना बनाउन सौख भएकोले गर्दा तथा ‘कन्निका’सँग प्राय खाने गरेको खानाले गर्दा पनि अँझ बढी चाख दिएर सिके । करिब तीन घण्टा सबै मिलेर बनायौ रसँगै बसेर सबैले बनाएको खाना पालै पिलो चाख्यौ पनि । स्कटल्याण्डबाट आएकी महिलाले बनाएको खाना हामी मध्ये सबैभन्दा मिठो भएको भनेर घोषणा पनि गरिन् हामीलाई थाई खाना बनाउन सिकाउने गुरुले । बाहिर निस्कदा झमक्क रात परिसकेको थियो ।
बिहान ढिलै उठें । बेलुकाको ८ः३० को ट्रेन टिकट थियो लावोस जानलाई । आज नजिकै मात्र यता उता घुम्ने योजना थियो र त्यतैबाट ‘हौ लोम पोङ्ग’ ट्रेन स्टेशन जाने योजना बनाएको थिए । ११ बजेतिर होटलबाट निस्केर लागे ‘डेमोक्रेसी मनुमेण्ट’तिर । यो स्मारक पनि सडकको बीचमा थियो । चार स्तम्भको बीचमा बाकस जस्तो थियो । सबैको आआफ्नै अर्थ रहेछन् । चार स्तम्भको अर्थ स्वतन्त्रतताको लागि लडेका सेनाको प्रतिक । बाकसको अर्थ थाइको स्वतन्त्रताको चित्र । छेउ छेउमा नागका मुखबाट पानी निक्लिरहेको थियो । चार स्तम्भको मुनि पट्टी कुदिएका सैनिकका तथा मान्छेहरुका आकृतिहरू । पहेँलो रङ्गले पोतिएका थिए ती सबै । क्यामेराले दृश्यहरू लिदै गर्दा त्यहीको लोकल मान्छे आएर भनिन कि अँझ बेलुका यहा बत्ती बलेपछि झन राम्रो देखिन्छ भनेर । त्यहाँ केही समय बिताएर छेउमै रहेको ‘म्याक डोनल’ भित्र छिरे । जापानमा सात वर्ष ‘म्याक डोनल’मा काम गरेर पनि होला ‘म्याक डोनल’ देख्ने बित्तिकै छुट्टै माया लागेर आउँछ । समय पनि प्रशस्त भएकाले आरामले समय लिएर ‘वर्गर’ खाए ।
बैङ्कको सबैभन्दा ठुलो र पुरानो ट्रेन स्टेशन ‘हौ लोम पोङ्ग’ । १९१६ देखि सुरु गरिएको उक्त स्टेशनको जति बाहिर रुप सुन्दर देखिन्थ्यो त्योभन्दा भव्य तथा सफा थियो भित्र रुप । एकदिनमा दुई लाख जनाले ओहोर दोहोर गर्ने उक्त स्टेशन इटालिएन आर्किटेक्ट द्धारा डिजाइन गरिएको रहेछ । २००४ देखि भूमिगत ट्रेन एम.आर.टिसँग जोडिएपछि झन व्यस्त हुन पुगेको रहेछ । सयौङ्को सङ्ख्यामा विदेशीहरू थिए ट्रेनको प्रतिक्षामा । ट्रेनको टिकट लिने सिलसिलामा मसँगै लावोस जाने विदेशीहरुसँग चिनापरिचय हुन पुग्यो । बोलाकिला खालका थिए । सबैसँगै गएर रातीको लागि चाहिने खाना किनेर हातमा चिसो क्यान बिएर पिउँदै घुम्न थाल्यौ । नेपाल घुमिसकेका रहेछन् उनीहरुले जसले गर्दा अँझ नजिक हुन पुग्यौ हामी । बिस्तारै ट्रेन चड्ने समय हुँदै गएकोले चाँडै फर्कने बाचाका साथ टे«न भित्र प्रवेश गरे ।
‘लावोस’ देशको भ्रमण सक्काएर फेरि एकपल्ट बैङ्ककम टेक्न पाउँदा आनन्द लागिरहेको थियो । कुनै बाधा अड्चन विना लावोसबाट सकुशल फर्केको थिए । बस चढेर सोझै लागे होटल तर्फ । होटलमा उनीहरू दुवै मेरै प्रतिक्षामा थिए । हल्का फ्रेस भएर हामी तिनै जना निक्ल्यौ ‘खावोसान रोड’ तर्फ । उनीहरुको मनपर्ने रेस्टुरेण्टमा लेर गए मलाई । ‘सि फुड’ को लागि लोकप्रिय रहेछ । शान्त वातावरणमा हल्का गीतको धुनमा बसेर गफ गर्दै खाना खान थाल्यौ हामी । ‘जाइण्ट लोभस्टर तोम याम’, ‘स्कुइड’, ‘स्रिम्प’, मुसेल्स’ र ‘सालमोन माछा’ खाँदै बिएर पिउँदै उनका मिठा कुरासँग समय बितेको थाहै पाइन । जापानमा हुँदा लोभस्टर धेरै खाए तर लोभस्टर तोम याम जति मिठो पहिला भएको थिएन । रातको एक बजिसकेको थियो । बिस्तारै हिँड्दै आयौं होटलसम्म । वियरको चुस्कि लगाउँदै रातको समयमा शान्त बैङ्ककको बाटो हिँड्न पाउनुको मज्जा छुट्टै थियो । दिउँसोभन्दा रातको समय आनन्द लाग्छ मलाई । बाटोमा आउँदै गर्दा उनले मलाई यो बताइन कि ‘कन्निका र तिमी धेरै मिल्ने साथिरहेछौ । तिम्रो धेरै कुरा गर्थी मसँग । तिमीलाई भन्न नसकेकी मात्र हो । तिमीलाई धेरै मन पराउँथी कन्निकाले ।’
उनको कुरा सुनेर अचम्म लाग्यो मलाई । कन्निका र म दुई वर्ष एउटै कलेजमा एउटै क्लास र सीट पनि हाम्रो सङ्गसँगै हुने गर्थ्यो । लञ्च ब्रेकमा पनिसँगै खान जान्थ्यौ । हामी दुःख सुखका कुराहरू एक अर्कालाई सुनाउने गर्थ्यौं तर उनले मलाई मन पराउँछिन भन्ने कतैबाट पनि शङ्का गरिन । हामी एक असल साथी थियौ र छौ भन्ने लागको थियो । तर यत्रो वर्ष पछि कन्निकाको देशमा त्यो पनि उनको साथीको मुखबाट सुन्दा बल्ल थाहा पाए कि सात वर्ष अगाडि कन्निकाले गरेको व्यवहारमा साथीभन्दा प्रेमिलाई गर्ने माया बढिरहेछ भनेर । होटलमा आएर ती पुराना कुरा खेलिरह्यो ।
बिहान आँखा खुल्दा दश बजिसकेको थियो । छ बजेको फ्लाइट थियो म्यानमारको योङगुनको लागि । कहीं कतै नगई पुरै आराम गरेर एयरपोर्ट जाने निर्णय गरे । होटलसँगै रहेको ‘मसाज’मा गएर फुल मसाज गराए । पुरै एक घण्टा लगाएर मसाज गरेर फर्कदा पुरै शरीर हलुका भएको अनुभव भइरहेको थियो । जापानमा पनि धेरै मसाज गराए तर त्यहाँ र बैङ्ककमा एउटै मात्र फरक थियो कि उनीहरुले प्रयोग गर्ने तेल । नत्र एकै प्रकारको लाग्यो मलाई । हुन त थाई मसाज भनेपछि जापानमा पनि धेरै भेटिन्छन् तर जापनिजहरू पनि मसाज राम्रो गर्छन् भन्ने मलाई लाग्छ । मसाज सक्काएर होटलमा फर्केर एकछिन् सुतेर लागे अर्को एउटा देशको भ्रमण तर्फ ।
तेस्रो पटक बैङ्ककमा आफूलाई पाउदा आफ्नै देशमा छु भन्ने भान भएको थियो । सञ्जोग पनि त्यस्तै पर्न गएको थियो । जुन देशमा गए पनि बैङ्ककमै फर्कनु परेको थियो मलाई । आउने जाने गरेकोले पनि होला आफूलाई धेरै घुलमिल भएको अनुभव भएको थियो । सिङ्गो दुई दिन समय थियो बैङ्ककमा मसँग । बैङ्कक पुगेर त्यो पनि त्यति लामो समय बैङ्ककमा रहदा पनि ‘फुकेट’ र ‘पतया’ जानलाई समय जुरेन । कारण समय नै त्यस्तै अधकल्चो भयो । फुकेटमा भएको ‘पाताङ्गे बीच’ र ‘पाङ नागा बे’मा पुग्ने ठुलो धोको रहेता पनि अधुरो नै रह्यो । होटलमा पुगेर दुई दिनलाई कसरी रमाइलो बनाउने भनेर इण्टरनेटमा खोज्न थाले ।
‘जीम थोम्प्सोन हाउस’ म्युजियम बैङ्ककको परिचित टुरिस्ट गन्तव्य मध्ये एक हो । १९५९मा निर्मित भवन । अमेरिकन नागरिक जीम थोम्प्सोन नाममा रहेको उक्त म्युजियम । उनले बैङ्ककमा थाइ कपडा देखि बुद्धका कलालाई सुरक्षित राख्नलाई धेरै सेवा पुर्याएका रहेछन् । १९६७मा उनी बेपत्ता भएपछि उनको घरलाई म्युजियमको रुपमा स्थापना गरिएको रहेछ । अहिले त्यस भवन वरिपरि अरु ससाना भवनहरू जसमा रेस्टुरेण्ट देखि सिल्कबाट निर्मित कपडाहरू सजाएर बेच्न राखिएका थिए । शान्त वातावरणमा मुख्य ‘थोम्प्सोन’ म्युजियम घुम्नलाई आनन्द लाग्यो मलाई । हाम्रो देश नेपालमा पनि ‘लक्ष्मी प्रसाद देवकोटा’ र ‘नारायण गोपाल’का घरहरुलाई म्युजियम बनाउने भनेर भनेको पनि वर्षौं बितिसक्यो । यदि बनाउने हो भने ती पनि टुरिस्टहरुका लागि मुख्य केन्द्र बन्न सक्छन् ।
‘चाइना टाउन’ चाइनिजहरुको बाहुल्यता रहेका पसलहरू । चाइनिज सामानहरू प्रशस्त देखिन्थे । तर खानाको परिकार भने चाहिं थाईकै बढी थियो । खाना थाई भएतापनि खाने भाडा तथा बस्ने मेच तथा टेबल भने चाइनिज तरिकाको थियो । प्राय चाइनिजहरू गोलो मार्वलले बनेका टेबलमा राखेर खाना खाएको देखेको छु । खाने बोउलहरू पनि चाइनिज डिजाइनका नै हुने गर्छन । ‘सुकि रुआम मिट हियाङ्ग’ र ‘खावो मान गाई’ खाना मगाएर चिसो वियरको चुस्कि लगाउँदै खानाको आनन्द लिए । मासुको परिकार मलाई मिठो लाग्छ । यही मासुको कुरामा मलाई मेरो साथीको सम्झना आउने गर्छ । साथीलाई पनि मासु मिठो लाग्ने तर त्यसको गलत अर्थ निकालेर उनको श्रीमतीले जहा गएता पनि लोग्नेको मजाक बनाउथिन् । ‘मेरो श्रीमानलाई त जहाँ गए पनि मासु नभई भात खादैनन् । मासु पकेको छ भने मात्र ससुराली जान्छु भन्छ लोग्ने तर मेरो माइतीमा सबै जना कस्तो धर्मकर्म गर्ने छन् । त्यसैले माइती लानै छोडे श्रीमानलाई ।’ भनेर भन्दै हिँड्थिइन् । अँझ पछि पछि त आफ्नै सासू ससुरालाई घरमा आएर “तपाईङ्को छोराले धेरै मासु खाएर मेरा आफन्तहरुको अगाडि कत्रो बेइजत गरे ।” भनेर भन्न थालिन भनेर साथीले मसँग गुनासो गर्थ्यो ।
‘खावोसान रोड’ जहाँ म आफूलाई साँझ पख हराई दिन्थे । सयौङ्को सङ्ख्यामा रमाइलो गर्दै हिँडेका (ब्याक प्याकर्स) हरुको माझमा आफूलाई हातमा बियरको बोतल लिदै रुमलिन पाउदा छुटै आनन्द लाग्थ्यो । बैङ्कक बसाईको अन्तिम साँझ भएकोले गर्दा पनि झन प्रत्येक पललाई नगुमाईकन भए भरको सम्झनाहरू समेट्न चाहन्थे । रातको एक बजेसम्म आफूलाई त्यही भीडका माझ राखी राखे । भोलि यो समय नेपालमा हुन्छु भन्ने सोच्दै मन नलागि नलागि होटल तर्फ बढे ।
कन्निकाको साथीले आफ्नै हातले नास्ता बनाएर बिहानीको स्वागत गरिन् । उनी र उनका श्रीमान भएर एयरपोर्टसम्म छोड्न आए । बाटोमा पनि धेरै पटक ‘मिल्छ भने अरु केही दिन बस्नलाई’ आग्रह गरिन् । कहिलेकाहीं सोच्दै नसोचेको कुराहरू भई दिन्छ । बैङ्कक आउनु पूर्व ‘कन्निका’ को सार्थीबाट यति धेरै माया पाउँछु भन्ने सोचेको थिइन । तर बैङ्ककमा बस्दा जति माया उनी र उनको श्रीमानबाट पाए त्यसलाई मनमा राख्दै बैङ्कक यात्रालाई समाप्ति गर्दै एयरपोर्ट भित्र प्रवेश गरे ।
समाप्त !
अर्जुन थापा
धुम्बाराही, काठमाण्डौ
