Skip to content

प्रेमपत्र

  • by


झिनो सम्झना पनि बन्न सक्दैन मेरालागि
र म हरेक साँझ निर्ममतापूर्वक च्यात्छु प्रेमपत्रहरू
नागबेली बाटाहरु बीच
बालुवामाथिको यात्रामा छौं हामी
धमिराको देवलजस्तो वा
बालुवाको घरजस्तो छ तिम्रो सपना
सम्झिदा वा बिर्सिँदा पनि खसिरहन्छ आँसु बनेर,
तम्तम्याइँदो गरी कतै दुखेजस्तो हुन्छ तिम्रो मन
नुनिलो आँसु सँगै मलाई सम्झेर रुन्छ्यौ तिमी
तर झिनो सम्झनापनि बन्न सक्दैन तिम्रो रुवाइ मेरा लागि
र म हरेक साँझ निर्ममतापूर्वक च्यात्छु प्रेमपत्रहरु
मक्किसकेको पुरानो ऐतिहासिक मन्दिरजस्तो छु म
जहा अडेस लागेर बसेका छौं एक अर्काको
कमजोर कुममा
र कल्पिरहेछौं जीवनका केही अव्यक्त सपनाहरु
नभने जसरी भनिरहेछौं आफ्नो जीवन कथा ,
र सत्य देखेको भ्रममा बाँचिरहेछौँ,
तर अदृश्य पर्दाले छेकेको छ धेरै सत्यहरु
भ्रमिलो विश्वासमा हिँडेका छन् सबै सोचाईहरू
तर हामी देखेको सबै सत्य ठानेर
जमेको पानीमा
आफ्नो अस्पष्ट अनुहार हेर्ने प्रयास गरिरहेछौ
यस्तै सबै सबै बिर्सिएका सम्झना सम्झिन्छु
र म हरेक साँझ निर्ममतापूर्वक च्यात्छु प्रेमपत्रहरू

अब नसोध मसँग
किन सम्झना बन्न सक्दैन तिम्रो लागि मेरो सम्झना ?
म बषौंदेखि यही प्रश्न सोधिरहेछु
मलाई चटक्कै विर्सने मान्छेसँग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *