Skip to content


एक्कै छिन् त सुन्दा पनि भएँ झसँग
मेरा बाले कल गरेछन् तिम्रा बासँग

हाम्रो बीचमा त्यस्तो कैल्यै हुन्न लफडा
बाहरूको किन हुन्छ कल झगडा
नबुझेर ट्वाल्ल परेँ भएँ खङ्ग्रङ्ग
के दुश्मनी रै’छ र हो तिम्रा बासँग ?

कसले कुन्नि कहिले कहाँ कस्तो बिगार गरे ?
सधैं मिल्ने मान्छे आज किन त्यसै लरे ?
आफ्नो भने मन त्यसै भयो भरङ्ग
मेरा बाले निहुँ खोजे रे तिम्रा बासँग

सँगै हाँस्दै, गफ गर्दै हिँडिरा’छन् अहिले
सुन्दै छु म चिया पिउन पसल गा’छन् अहिले
कहिले लर्ने कहिले मिल्ने परे म दङ्ग
मेरा बालाइसँगै देखेँ तिम्रा बासँग

बाहरूको कुरा के हो उत्तर खोजियो
`कल’ भनेको `फोन गर्नु हो’ भन्ने बुझियो
रमाएँ म, मक्ख परेँ, भएँ फुरुङ्ग
मेरा बाले कल गरेछन् तिम्रा बासँग ।

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *