ठटाल साहिंलोको शेखपछि घरमा ठटाल्नी साहिँली नितान्त एक्ली भई । बिहेपश्चात छोरी डल्ली पनि दुई वर्ष अघि नै आफ्नो पोईको घर गईहाली ।छोराहरू मसिने र टोड्के पनि सासूबुहारी घरमा मिल्न नसकेर आ–आफ्ना स्वास्नीहरू लिएर घरबाट छुट्टिएर गइहाले ।बचराहरू गुँड छोडेर दुरदेशतिर उडे पनि साहिँला–साहिँली जेनतेन बालीमा लुगा सिलाएर दुखसुख आफ्नो गुजारा चलाइरहेका थिए । साहिँलो सिलाईबुनाईको अतिरिक्त गाउँमा बिरामीको जोखाना हेर्ने र ढ्याङ्रो ठोकर भूतप्रेत भगाउने धामीको काम पनि गर्द्थियो । तर दैवको लीलाको अगाडि कस्को के लाग्दो रहेछ र? दमले ग्रसित साहिंलोले आफ्नी जीवनसंगिनी साहिँलीलाई एक्लै छोडेर यो लोकबाट बिदा लियो । खसमको मृत्युपश्चात व्यथा, पीडा र एक्लोपनाको भुँवरीमा रुमलिदै साहिँलीले जीवनका कठिन मोडहरू पार गर्दै थिई । एक्ली साहिँलीलाई न छोराबुहारीले हेरे न छोरीज्वाइँले हेरविचार गरे । आँसुको आहालमा पौडी खेल्दै र बनीबुतो गरेर आफ्नो सास धान्दै साहिँली आफ्नो बाँकी जीवनको यात्रा तय गरिरहेकी थिई ।
सिमसिम वर्षासँगै औंशीको हिउँदे चिसो रातमा पानी चुहिने खरको झुप्रोमुनी एक्ली विधवा आइमाई खाटरूपी बाँसे मचानमाथि धुस्नो सिरक ओडेर लगलग काम्दै निदाउने प्रयास गरिरहेकी थिई । बाहिरबाट आएको चिसो सिरेटो र बाछिटा झुप्रोका भित्ताका प्वालहरुबाट भित्रतिर छिर्दै ताण्डव देखाइरहेका थिए । अगेनोको छेउमै साहिँलाको लुगा सिलाउने हाते कल, गज–ढ्याङ्रो,उसको कालो कोट र उसले बिहेबटुलोमा बजाउने नरसिंघा राखिएको थियो । साँघुरो कोठामा काला भाँडाकुँडा र लत्ताकपडा यत्रतत्र छरपस्ट देखिन्थे । सन्तान भएर पनि सहारा नपाएकी साहिँली असाध्यै बेसहारा थिई । फाटेको मैलो गुन्यू लगाएकी र लट्टा परेको कपाल भएकी विधवा साहिँली पिलपिल गर्ने टुकीको मधुरो रोशनीमा ज्यादै डरलाग्दी र कारुणिक देखिन्थी ।
हिजो साँझ साहिँलीका माथ्लाघरे छिमेकी वाग्ले जेठोको लैनो गाई गोठैमा मरेछ । भोलि बिहान वाग्ले जेठो सहित वल्लाघरे–पल्लाघरे छिमेकीहरू साहिँलीको आँगनमा भेला भए ।
“ए साहिँली ! बाहिर मुन्टी । अर्काको सग्लो गाई बोक्सी लगाई मारेर घरभित्र लुक्छेस ? आफ्नो पोईलाई त टोकिस टोकिस,अब केही नपाएर अर्काको चौपायामाथि जाइलाग्न थालिस बोक्सी ! पोहोर साल तेरो धामी भनाउँदो बोक्सो बुढोले रिसिवी साँध्न मेरी नातिनीलाई डंकिनी मन्स्याएर सातदिन थला पारेको मैले बिर्सेको छु र ?’’ वाग्ले जेठो साहिँलीको घरको ढोका ढकढक्याउँदै ठूल्ठूलो आवाजमा कुर्लन थाल्यो ।
जेठाका मतियार छिमेकीहरुले पनि उसको कुरामा हँमा हँ मिलाउँदै मुखमा आएजती बक्बकाएर साहिँलीलाई असभ्य भाषामा गाली गर्नथाले ।एकाबिहानै आफ्नो आँगनमा गाउँलेको अप्रत्यासित जमघट र होहल्लाले रातको अन्तिम प्रहरमा मात्रै निदाएकी साहिँलीको तन्द्रा भंग हुन्छ । ऊ आँखा मिच्दै र छरिएको जगल्टा सम्हाल्दै ढोका बाहिर निस्कन्छे।
“तँ बोक्सीले केही टोक्न नपाएर मेरो गाई टोकिस डंकिनी !” वाग्लेनी जेठी साहिँलीतिर जाइ लागेर उसको जगल्टो लुच्छ्दै फत्फताउन थालिन्।
वाग्लेनीलाई साथ दिँदै अरु छिमेकी आइमाईहरुले पनि साहिँलीलाई लछारपछार पार्दै उसको मुखमा गोबर कोच्याउन थाले । पीडा र दर्दको मारले बिचरी लाचार र गरीव बेसहारा साहिँली डाको छोडेर रुन थाली । छिमेकीहरुको कुटाई र अमानवीय क्रियाकलापले गर्दा जब हिलो आँगनमा साहिँली इन्तु न चिन्तु भएर लडी, गाउँलेहरुको रिस शान्त भयो र उनीहरू आ–आफ्नो घरतिर लागे । निर्दोष साहिँलीलाई समाजले आधारहीन अपराधको भारी बोकायो । एउटी गरीब, बेसहारा र उपेक्षित विधवा नारीमाथि समाजले सामजिक बहिस्कार गर्यो ।आमामाथि भएको सामाजिक अत्याचारको समाचार साहिँलीका छोरा–बुहारी र छोरी–ज्वाइँले पनि सुने तर एक्ली आमालाई सहारा र स्याहार गर्नु त परै जाओस साहिँलीका कुसन्तानहरुले उसलाई वास्ता पनि गरेनन् । आफू आधा पेट खाएर आफ्ना भुराभुरी हुर्काउने आमाबाबुलाई आफ्नो असक्त बुढेसकालमा सन्तानले हेरविचार गर्लान भन्ने आशा हुन्छ तर अभागी साहिँलीको कर्ममा त्यो लेखिएको रहेनछ । अर्कातिर होचाकी जोई सबैकी भाउजू भने झैँ गरीब, बेसहारा, विधवा र उपेक्षित आइमाईलाई समाजले पनि बोक्सीको उपमा दिएर अमानवीय अत्याचार गर्न पछि पर्दैन । कुरीतिले ग्रस्त समाज अत्याचार गर्दा पनि मुकदर्शक बन्छ । समयको घोडा दगुर्दै गयो । असह्य पीडाको भारी बोक्दै जिउँदो लास बनेकी साहिँलीका दिनचर्याहरू कहिले काल आउला र शान्ति प्राप्त होला ? भनेर बित्दै गयो। साहिँलीको झुप्रो छेउमै छिमेकीको रुपमा सुनचाँदीको काम गर्ने शहरतिरका सुनवार थरीका परिवारले घर बनाए । हुनेखाने र शिक्षित झैँ देखिने सुनवार परिवार उनीहरुको नयाँ घरमा बसाइँ सरे । कानो गोरुलाई औंशी न पूर्णे भने झैँ जो आए पनि सामाजिक अत्याचारले बिक्षिप्त बनेकी साहिँलीले नयाँ छिमेकीको केही चासो राखिन ।
एकदिन ज्वरोले थलिएर साहिँली ओच्छ्यान परी । इन्तु न चिन्तु भएर थलिंन्दा पनि आफ्नो कोखबाट जन्मिएका तीन तीन जना सन्तान मध्ये कोहीको पनि सहारा बिचरीले पाइन । कठै बिचरी ज्वरो र भोकप्यासले तड्पिदै रुन थाली । उसका रोदनका हृदय बिदारक क्रन्दनहरू झुप्रोका भित्ते प्वालहरू चिर्दै नयाँ छिमेकीको कानसम्म पुग्यो ।
“को हुनुहुन्छ हँ घरमा ?” एउटा जवान केटो साहिंलीको घरको दैलो ढक्ढकाउँदै घरभित्र पस्यो।
एउटी बुढी आमा रुँदै गरेको देखेर त्यो केटो किंकर्तव्यमुढ भयो । उसले ती बुढी आमाको निधार छोयो। उनीलाई धेरै ज्वरो आएको रहेछ । “ आमा ! घरमा अरु कोही हुनुहुन्न ?“ केटोले साहिँलीतिर प्रश्न तेर्सायो । साहिँली निरुत्तर भई । साहिँली केटोको अनुहारतिर हेर्दै भक्कनिएर डाको छोडेर रुन थाली । त्यहाँको दर्दनाक परिस्थिति देखेर केटोको आँखामा आँशुहरू टलपल् भरिए । उसले असक्त साहिँलीलाई जुरुक्कै बोक्यो र आफ्नो घरतिर लग्यो। समाज र आफ्नै सन्तानबाट अपहेलित साहिँली मानव परमो धर्म भन्ने उक्ती चरिथार्त भएकाले असल छिमेकीको स्याहार–सुसारले गर्दा एक हप्तापछि पूर्ण बिशेक भएर तङ्री । छिमेकीद्वारा गरिएको आफ्नो उपकारको पुरस्कार स्वरुप आँखाबाट बलिन्द्र आँशुको धारा बहाउँदै साहिँली आफ्नै झुप्रोमा फर्की ।
एक साँझ रोदनमिश्रित भावमा अतित कल्पिएर साहिँली पिँढीमा बसेर सूर्यको अस्ताचल द्रृश्य निहलिरहेकी थिई । सूर्यदेव पश्चिम दिशामा सवारी गर्न लागेका थिए । रक्तिम पश्चिम क्षितिज सिन्दुरी साँझसँग लुकामारी खेल्दै थियो। उसले बनमा जवानीमा साहिँलासँगै इत्रिदै घाँस दाउरा गरेको सम्झी ।साँझपख साँहिलासँगै जंगलबाट दाउराको भारी बोकेर घर फर्केको अतित सम्झी । जंगलबाट बाबुआमा कहिले फर्केलान भनेर भुराभुरीहरू पर्खिरहेका हुन्थे। घरमा भारी बिसाउने बितिकै आफ्ना लालाबालाहरू टोड्के, मसिने र डल्लीले “आमा भोक लाग्यो, ढिडो पकाऊ” भन्दै घरी बाबुको ढाडमाथि चड्दै घरी आफ्नो काखमा खेल्दै गर्ने उनीहरुको बालक्रीडाहरू सम्झी । वर्षादेवको आगमनको सूचना स्वरुप आकाश बिजुली बाल्दै गर्जन थाल्यो । साहिँलीको अतितको मिठो स्वप्न भंग भयो। ऊ डराउँदै घरभित्र पसी । भोकालाई मिठो खाना खाएको सपनाले आनन्द दिन्छ चाहे किन त्यसले भोकै सुत्नु नपरोस ? एक्ली साहिँली रातमा वर्षातको चुहिने छानो र बाँसका प्वाले भित्ताहरुबाट छिरेका निशुल्क मेघको प्रकाशको बीचमा बिस्तरामाथि पल्टिएर बुइगलतिर हेरी टोलाइरहेकी थिई । उसको भतभती पोलेको वर्तमानको अप्राप्य खुशीहरुलाई भुतका कहिले नफर्कने पलहरुले डरलाग्दो कालरात्रिमा पनि शीतलता दिइरहेका थिए।आखिर लाचारलाई वर्तमानलेभन्दा पनि सपनाले परमानन्द दिन्छ। अतित कल्पदा कल्पदै साहिँली रातको अन्तिम प्रहरमा भुसुक्कै निदाइ। भोलि बिहान जब साहिँलीको निद्रा खुल्यो,उसले आफ्नो आँगनमा मान्छेहरुले हल्लीखल्ली गरेको सुनी र ऊ घर बाहिर निस्की ।
“तेरिमा पोइ टोकुई राँड ! अस्ति वाग्लेको गाई र अहिले मेरो छोरालाई पिसाच मन्स्याएर बिरामी पारिस् ? बिचरा मेरो नानी अस्ति देखी हैजाले इन्तु न चिन्तु छ । भुजेल धामीले जोखाना हेरेको उसलाई बोक्सीले मन्सेको छ रे । यो तेरै काम हो बोक्सी,” साँहिलीलाई भुत्ल्याएर लछारपछार पार्दै तल्लाघरे बरालनी कान्छी कराउन थालिन् ।
अरुसँगै आएका बिस एक्काइसजना छिमेकीहरू पनि साहिँलीलाई तथानाम गाली गर्दै उमाथि जाइलाग्न थाले । एका बिहानै पल्लाघरमा हल्लीखल्ली सुनेर अस्ति साहिँली बिरामी पर्दा हेर्न आउने क्रान्ति नामक नवयुवक पनि त्यहाँ आयो।
“हे वीसौं शताब्दीका आदिम मानवहरू हो! अन्धविश्वासको पनि सीमा हुन्छ नि । एउटी सर्वहारा नारीलाई आधारहीन झुटा लान्छना लगाएर सामुहिक कुटपिट गर्न तपाईंहरुलाई लाज लाग्दैन ? हिम्मत र प्रमाण भए यी आमालाई बोक्सी प्रमाणित गरेर देखाउनुहोस् ।” अरुको चंगूलबाट छुटाएर साहिँलीलाई अंगालो हाल्दै क्रान्ति पड्कन थाल्यो ।
क्रान्तिको कुरा सुनेर गाउँलेहरू उमाथि जाइलाग्न थाले तर निडर र बलियो क्रान्तिले प्रतिकार गरेर उनीहरुलाई सहजै तह लगायो । गाउँलेहरू कालो अनुहार बनाउँदै आफ्नो घरतिर लागे र क्रान्तिले साहिँलीलाई पुन आफ्नो घरमा लग्यो। भोलिपल्ट क्रान्तिले प्रहरीमा मुद्दा दाएर गर्यो। प्रहरी आए र साहिँलीलाई कुटपिट गर्ने गाउँलेहरुलाई एकरात चौकीमा थुनेर भोलिपल्ट अदालतमा बुझाए । अदालतले कानूनसम्बत निर्णय गरेर साहिँलीलाई क्षतिपुर्ती दिलाई दोषी गाउँलेलाई पाँच वर्षको कारावासको सजाय दिलायो । आजकल साहिँली छोराको नयाँ अवतार क्रान्तिको घरमै बस्छिन र क्रान्तिले साहिँलीलाई आमा समान माया गर्छ । धेरै वर्ष बित्यो फेरि कहिले पनि त्यो गाउँमा बोक्सीले कसैलाई दुख दिएको सुनिएन।
इति
–राजेश अधिकारी

क्या बात, सन्देशमूलक सामाजिक
क्या बात, सन्देशमूलक सामाजिक कथा