Skip to content


अचम्मको लाग्थ्यो मलाई मेरा बाको बानी ।

दशैंसँगै हाम्रा लागी नयाँ कपडा घरमा आउँथे तर बाका लागि आउँदैन थिए । अनि आमा गनगनाउनु हुन्थ्यो-“आफुलाइ पनि यसो एकजोर नयाँ लुगा हालेको भा’ हुँदैन थ्यो ? कति लोभ गर्न सकेको ?”

बाको उत्तर हुन्थ्यो-“भो भो नकरा, तिनै भएका लुगालाई राम्रोसँग आइरन लगाइ दे न नयाँ भै हान्छ नि ।”

नयाँ फेसनका जुत्ता आएपछि आफुले लगाइरहेका जुत्ता सार्सौदो हुँदाहुँदै पनि बालाइ बिहान जुत्ता देखाएर “बा ! मेरा जुत्ता त पुराना भए नि” -भन्थें म; त्यसै दिनको बेलुकी जुता पोको बासँगै घर आइपुग्थ्यो ।

अनि आमा फेरि गनगनाउनु हुन्थ्यो-“आफुलाइ पनि एकजोर ल्याएको भए हुँदैन थ्यो । हेर्नहुने गरिका त छैनन् त आफ्ना पनि ।”

“किन चाहियो अर्को जोर ? यही जुत्ताले अझै एक बर्ष जान्छ । जुत्ता टल्काएर कुन राजाको चाकरीमा जानू छ र मैले”- बाको उत्तर हुन्थ्यो ।

बजारीया खानाको तलतल लाग्नासाथ बाका अघि बिहान डिमाण्ड राख्यो भनें बेलुकी हाम्रा लागी बजारीया खानाको पोको आइपुग्थ्यो ।

अनि फेरि आमा भन्नू हुन्थ्यो-“किन यस्तो फजुल खर्च गर्नु परेको घरमैं बनाएको खान छोडेर ?”

” भो भो नकरा कहिलेकाही मुख फेर्दा केही हुँदैन । केटाकेटीलाई पनि दे र आफू पनि खा । मैले उतै खाएर आएँ ।”-बाको सधैंको जस्तो उत्तर हुन्थ्यो ।

आमालाई हाइपोथर्मियाले सताउन थालेपछि आजित भएर आमाले भाँडा माझ्ने ठाउँमा बाले ग्यास गिजर जोडी दिनु भो र भन्नू भो-“अबदेखि धोइपखाली जे-जे गर्नुपरे पनि तातो पानीले नै गर्नु, ग्यासको लोभ गर्लिस् । एउटा सकिए अर्को ल्याइदिउँला ।”

आमा केही बोल्नु भएन ‘हुन्छ’ को मुण्टो हल्लाउनु बाहेक ।

गिजर जोडेपछि हामीलाई खुदो पल्टियो । हात धुन तातोपानी, मुख धुन तातोपानी, दाँत माझ्न तातोपानी, नुहाउन त झन् तातोपानी नहुने कुरै भएन । आमाका लागि त बाको उर्दी जारी भएकै थियो चिसोपानी छोलिस् भनेर ।

पुस माघको कठ्याङ्गृने जाडोका दिनको छुदै हात झर्ला जस्तो चिसोपानी हुँदा पनि बा चैं चिसैपानीले हातमुख धुनु हुन्थ्यो, दाँत माझ्नु हुन्थ्यो । आमाले-“बुढेसकालमा पनि के को तन्नेरी पल्टेर चिसो पानीले नुहाइरहनु पर्‍यो ? तातोपानीले ननुहाएर ? छ त तातोपानी” भनेर नदप्काउने हो भनें चिसैपानीले नुहाउँन बल गर्नुहुन्थ्यो ।

एकदिन मैले मौका पारेर बालाई सोधें-“बा तातोपानी हुँदाहुँदै पनि किन चिसैपानी हातमुख धुनुहुन्छ ? तपाइँलाई चिसोको फिलिङ्ग हुँदैन ?”

“टार्ने पुर्‍याउनेलाई तातो चिसो केही हुन्न नाथे । भोलिपर्सी ठूलो भएर मजस्तै बा भएपछि तैंले पनि थाहा पाउछन् । अहिले चैं तैले पनि तातैपानीले हातमुख धुनु”-बाको उत्तर थियोे ।

गौरादह-७, झापा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *