लौ त माका फुँई हो,
थाल अब चाकरी बजार्न !
राष्ट्रवादको नारा माथि लाठी बजार्न
अब भारतीय विस्तारवाद- मुर्दावाद नभन,
भारतीय निष्ठावाद- जिन्दावाद भन।
अमेरिकी साम्राज्यवाद – मुर्दावाद नभन
अमेरिकी रामराज्यवाद – जिन्दावाद भन।
भन यो एउटा जित हो
त्यो पनि यतिहाँसिक र महान जित
हिजोको महान मुर्खतालाई
यतिहाँसिक दुस्साहसलाई
वलिदान र विरतालाई
सके जति अपमान गर
बदनाम गर
किस्ता किस्तामा किन गर्छौं
एकमुस्ट गर, धित मरुञ्जेल।
अनि
मदिराले नुहाएर, पैसाको बिस्तारामा
मस्त सुत
देख डलरमा
महान मुक्तिको सपना
समाजवादको सपना
समृद्धिको सपना।
हिजोसम्म बोकेको राष्ट्रघातको तुच्छताको भारी बिसाएर
सर्वाङ्ग र निर्लज्ज भएर
आजबाट
आफ्नी आमाको छाती बेचेर
मस्त निदाउन सक्ने
आफ्नो महानताको
आफ्नो योग्यताको
गाथा गाउ
अरिंगलाको गोलो भित्र निचरिन्दै गर्दा
चिथरिन्दै र कोपरिन्दै गर्दा
एउटा सानो चित्कार निकाल्न पाएछौ भने पनि
भन
भारतीय निष्ठावाद – जिन्दावाद !
अमेरिकी रामराज्यवाद – जिन्दावाद!
लौ त माका फुँई हो,
तिम्रो यो जितलाई
यो विजय महोत्सवलाई
शुभकामना भन्न नसके पनि
तिम्रो असली राष्ट्रवादको मृत्युुमा
तिम्रो इमानको अन्तिम संकारमा
म
हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु
हार्दिक समवेदना प्रकट गर्छु
कामना गर्छु
दुनियाले
तिम्रो जन्म उत्सव मनाउने कष्ट फेरि गर्नु नपरोस
स्वाभिमानको यस्तो आत्महत्या ब्यहोर्नु नपरोस
डलरमा बिक्री भैसकेको समाजवाद र समृद्धिको आगोमा
जल्नु नपरोस
फेरि फेरि
तिमीलाई जन्माउने कष्ट कुनै आमाले गर्नु नपरोस।
