Skip to content

आत्मगौरव – ६


लाई ताउ जुँगा म बस्छु घरको थान्को अरूले गरून्
बारी भित्र पसेर पारितिरकै आएर तोरी छरून्
सिन्कोसम्म नभाँची बस्छु मुखमा आफैं फुरौला झरून्
रानी मात्र भएर बस्तछु म ता पानी अरूले भरून् ।।१।।

दारी काट्न कपाल छाँट्न परकै सेवा दिने पाउँछु
अर्काकै सहयोगबाट जहिल्यै जुत्ता म टल्काउँछु
आफ्ना मूल्य र मान्यता पनि सबै बेचेर तन्काउँछु
कोठै भित्र सुतेर देशधुनको क्यासेट घन्काउँछु ।।२।।

मेरो इज्जत जान्छ यो मुलुकमा सिन्को समाएँ भने
पाले बन्न कहाँ म सक्तछु उता खुट्टा कमाएँ भने
अर्काको घरमा गई दिनदिनै पोछा लगाए पनि
गर्नै पर्दछ आत्मगौरव त्यहाँ जे काम पाए पनि ।।३।।

जस्तै काम परोस् सधैं परपरै आँखा छली गर्नु छ
आफ्ना दाजु र भाइका अघि धुलो आँखा भरी छर्नु छ
देशै भित्र पसेर घाँस हरियो टुप्पो सधैं चर्नु छ
हामी माथि हुँदै छ टिप्पणी तितो छक्कै बडो पर्नु छ ।।४।।

आफ्नो खेत कता म जोत्नु परको बाँझो जमी जोत्तछु
आफ्नो आँगन पोत्न सक्तिनँ यता आई चुलो पोत्तछु
आफ्नो देश सपार्नलाई पसिना झारेर के हुन्छ र ?
भैगो काम यतै म गर्छु भनुला कस्ले यहाँ सुन्छ र ।।५।।

बाँझै खेत परून् र बाँदर चरुन् पाकेर अम्बा झरुन्
गल्लावाल छिरी छिरी नवयुवा छानेर भर्ती गरुन्
मान्छे बेच्न सिपालु कम्पनीहरु खोलेर खोलो तरुन्
आफ्नो भाउ कसेर बिक्न चतुरा बिक्ने अगाडी सरुन् ।।६।।

छोरो रुन्छ रुँदै गरोस् पुगी उता आकाशवाणी गर
त्यस्तो लङ्गड देशमा नबस हे यो देशको के भर
हीराका रुख छन् फलाउनु उतै कोदो यहाँ उम्रन
छाड्यो बस्नु यहाँ बसेर तिमीले पर्ला त्यसै खुम्रन ।।७।।

जैलेसम्म रहन्छ तागत उतै खर्चेर आऊ यता
सक्छौ गर्न भने सबै गर उतै सल्लाह दिन्छु म ता
नौनाडी जबसम्म चल्छ तहिलेसम्मन् रहोस् यो क्रम
त्यस्तोमा तिमी फिर्नु देशतिर नै पाइन्छ वृद्धाश्रम ।।८।।

स्वास्नीका गहना र सिन्दुर चुरा बेची भिसाको तय
मौका यो छ विदेश छिर्न सजिलो तिम्रो सधै्ंं होस् जय
आमाको मुख अग्नि गर्न किन हो रोएर के आउनू
जारी चाहिं यहाँ उठाउनु परे फर्की स्वयं आउनू ।।९।।

भट्टीभित्र छिरेर जाँड नघिची ओदो नभर्ने यहाँ
गाँजा रक्सी र खाल भित्र नछिरी लाग्दैन निद्रा यहाँ
यस्तो भार सकिन्न बोक्न कहिल्यै केको यता सुध्रियोस्
खाडीभित्र छिरेर सुध्रिन सके जाओस् उतै मुन्टियोस् ।।१०।।

आमा पत्नी र बाबुको श्रम घिची भट्टी सधैं पस्तछ
भोको गोरु कराउँदैछ ऊ भने क्यारेममा मस्त छ
यस्तो भार उचाल्न सक्तिन भनी यो देश नै त्रस्त छ
फर्की आउनु मात्र पर्छ घरमा भान्जो भई बस्तछ ।।११।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *