Skip to content

चाहिँदैन मलाई

GaneshSharma

बघिनीको सिकारमा रमाउने हुइयाँहरू
रगत चुसेर बाँच्ने जुकाहरू
जो गर्दैनन् आफै शिकार
र बुझ्दैनन् श्रमको मूल्य
संवेदनामा विवेक गुमाउनेहरू
हुँदैनन् कहिल्यै मानवताका पुजारी
तिमी जतिसुकै उदार या एकलव्य बन

द्रोणाचार्यहरू स्वीकार्दैनन् तिमीलाई
तिमी बुद्ध, गान्धी, मार्क्स या नित्से नै बन
तिम्रा शिर आतङ्कित हतियार बन्नेछन्
तिमीलाई कानूनको कठघरामा उभ्याइने छ
र देशद्रोही घोषणा गरिने छ ।।

त्यतिबेला तिमी संझिने छौँ आमालाई
“बाबू! देश भूगोल र माटो मात्र हैन
जहाँ तिमी टेकिरहेका छौ
देश त हरेक स्वाभिमानीको भावना हो
जहाँ तिमी बाँचिरहेका छौ”
हो साच्चै रहेछ आमा !
देश मुर्दाहरूको पनि त हुन्छ
छट्पटी, कोलाहल, चित्कारमा
शान्तिको प्रतिभास गुञ्जिने
भय,त्रास, आतङ्कमा पनि
रमाई रमाई होली खेल्ने

भो आमा! चाहिँदैन मलाई
मुरकट्टाहरूको जस्तो देश
मलाई मेरो देशको माटो चाहिन्छ
बन्धक राख्ने भूगोल चाहिँदैन बरू
पुर्खाले आर्जेको टिष्टा र काँगडा पनि चाहिँदैन
चाहिँदैन रगतले पोतिएको इतिहास पनि
बस, मलाई माटोको सुगन्ध भए पुग्छ
भूगोलले बेरिएको संवेदना पनि चाहिँदैन
मलाई मात्र मानवीय संवेदनाको देश भए पुग्छ
हो आमा मलाई
मात्र मानवीय संवेदनाको देश भए पुग्छ ।।

-पी.एन. क्याम्पस, पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *