त्यो घनघोर बिश्मयकारी बनेर आयो
आशाध्यै प्रलय तर अदृश्य भएर आयो
जल,थल,आकाश मार्ग हुँदै
पृथ्वीको चारै दिशा घेरेर आयो
मानव अश्तित्वलाइनै मेटाउन
उत्पात हुण्डरी बनेर आयो
शहरको कुनाकुना छिचोलेर
पहाडै पहाड भएर आयो
त्यो, लह-लहाउँदै फुल्ने खेतका गह्रा फाँट र टारी हुँदै
खोल्सा, भीर-पाखा र बेंशी
कयौं ओराली उकालीहरू चढ्दै
लुसुक्क गाउँमा पनि उक्लियो
र
सुटुक्क बस्तीभित्र छिर्यो
गाउँ भरि
सबैको घर भित्र पस्यो।
चोटा कोठा र बैठक चाहर्दै
भर्खर चौरासी मनाएर
सदैव मुस्कुराउँदै लामो आयु बाँच्न प्रेरणा दिने
बुढा बा को ज्यानमा पनि आएर बस्यो
उमेरले पचहत्तर पार गरेकी
बुढी आमाको शरीरमा गएर घुस्यो
घर परिवारका अन्य सदस्य र स-साना बालबच्चाका
कलिला ओंठ र गला भित्रभित्रैबाट छिरेर
घरको आँगन, पिंढी, चोटा कोठा
सिलिङ्ग सबैतिर टाँस्सिएर
कहिल्यै नमेटिने गरी
सन्त्राशको बिष ओकलेर
मानिसको अस्तित्व माथि नै
धावा बोलिरहेछ ।
