Skip to content

सम्धिनीको चस्मा


नाम नभन्नु नै राम्रो, तर नातासम्म भन्छु मेरो जेठान पर्ने हुनुहुन्छ । यदाकदा मेरोमा आउनुहुन्छ । अलिक टाढा छ उहाँको वसोबासो त्यसैले यदाकदा मात्र ।

अहिले नाताका मेरा जेठान मेरोमा आउनु भएको सपत्नी एव म एक बहिनीका साथ । त्यसै बेलामा म आफ्नो अफिसबाट घरमा पसें जुन बेला उहाँकी धर्मपत्नी र उहाँकी आफन्त बहिनी मेरै धर्मपत्नीहरू निकै हाँसिलो अवस्थामा गफगाफमा रहेछन् । मलाई देखेर सबैको अनुहार मुसुमुसु मात्र भो । तैपनि नमस्कार आदानप्रदान भो । सबैका अनुहार मुसुमुसुकै अवस्थामा छन् । नारीहरू मुख छोपेका छन् । मलाई नै देखेर पो हाँसेका हुन् कि भन्ने भो र यसो जिउमा कतै केही नमिलेको कुरा पो छ कि भनेर नजानिदो गरी आफूलाई जाँचें । तर म सही थिएँ । अनि- “भनें के कुरा हो ? सबै मुसुमुसुमा हुनुहुन्छ त !”

“भनिदिँऊँ उहाँलाई पनि ?” जेठानले समूहतिर हेरेर मलाई पनि हाँस्नुको कारण खोल्ने अनुमति मागेको देखियो ।

“छ्या है नभन्नू ।” उहाँकी धर्मपत्नीले हाँस्तै रोक्नुभो ।

मेरै श्रीमतीले पनि उनका दाजुलाई “भयो नभन्नू दाजु” भनेर रोक्न खोजिन् ।

तर उहाँलाई लागेपछि के छाड्नुहुन्थ्यो कथा दोहोर्याउन थाल्नुभो ।

“होटल द्वारिकाको पाँचौं तलामा थियौं हामी । लिफ्ट चढेर जानु पर्थ्यो । द्वारिकामा दर्शन आदि सकिएर रेलको लागि दुई दिन पछिको टिकट भएकोले हामी होटलमै बसेका थियौं ।”

“ए ए ।” मैले सही थापें ।

“मेरी सम्धिनी सहित हामी छ जनाको धार्मिक यात्रा थियो ।”

“सम्धी पनि कि सम्धिनी मात्र ?” मैले सोधें ।

“सम्धी ता उहिल्यै स्वर्गतिर जानु भएको !”

“एए!” मैले भनें !

अनि उहाँ कथालाई जोड्दै भन्न थाल्नु भो- “नुहाइधुवाइ गरेर आफ्ना लुगा सम्धिनीले छतमा लगेर सुकाउनु भएछ ।”

“हजुर ।”

“बेलुका लुगा उठाउन जाँदा छतको बाहिरतिर आफ्नो चस्मा चैं खसेको देखिएछ । बाहिर छतको छज्जीमा खसेकोले उठाउन सक्नु भएनछ । अब परेछ फसाद । अनि सम्धिनी सम्धिनीको बारेमा चर्को समस्याका बारेमा कुरा भएछ ।”

“हो नि हुन पनि ! विना चस्मा अब आँखै नदेखिने थियो होला । चस्मा हराउँदा वा फुट्ताको समस्या मलाई थाहा छ ।” मैले भनें । अनि भनें “लौ फुटेन छ र चस्मा खस्ता पनि । त्यो चा राम्रो भो ।”

बाँकी महिलागणको झन् मुख छोपेर मुसुमुसु भो । मलाई यिनको हँसाइको रहस्यमा कुनै फुम नै भएन । धमाधम जिज्ञासा राखिरहें उहाँसँग । उहाँ अलिक गम्भीर बन्ने प्रयत्नका साथ कथा सुनाइरहनु भएको छ । र”

“अनि मैले नै गएर एउटा घोचो खोजेर चस्मा निकालेर राखिदिएँ । अनि सम्धिनीले लिनुभो । त्यसरी चस्मा निकालेर तत्कालको समस्या समाधान गरियो ।”

“हो नि फुटेको भए तीर्थ गर्न गएको मान्छे उल्टो चस्माको झमेलामा जानु पर्ने । धन्न निकालिदिनु भएछ ।” मैले भनें ।

“अनि यो कुरामा यो मुस्कान चाहिँ केका लागि नि ?” मैले उहाँलाई सोधें ।

“हे भगवान ! यो बुढालाई कसरी सम्झाऊँ म !!” उहाँ झन् गम्भीर जस्तो हुनुभो ।

“अनि के त ?”

“तिम्रो बाजे सम्धिनीको आँखामा लाउने चस्मा हैन छातीमा लाउने चस्मा खसेको । छातीको चस्मा क्या….. छातीको चस्मा !!”

मलाई भने कुराको र हँसाइको रहस्य बल्ल खुल्यो । सबै मरीमरी हाँस्न थाले । मेरो पनि हाँसो थामिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *