Skip to content

नूतन वर्षको प्रतीक्षामा


एउटै हाम्रो संसार जस्तो नापोको कागज,
वर्षीय पात्रो फाटियो हाम्रो समय घर्कियो ।
महिना पनि वर्षको जस्तो वितेको हा ! क्षण,
एघार पन्ना धुजाका धुजा मक्किई च्यातियो ।

बोकेको भारी बोझीलो ज्यादै कुप्रियो शरीर,
पात्रोमा हेर्दा पन्ना नि छैन मौलायो कोरोना ।
माछाको कीरा टल्केको हेर जाली छ बाह्रको,
आशाको नयाँ लिएर पन्ना बैशाख आउँला ।

लाशको थुप्रो परेको हेर जाँदैनन् मलामी,
कसैको केही हक नि छैन निभेको तन छ ।
कहिले होला उदय जीवन जीवन्त प्रभात,
आकाश जता चियाए पनि सुर्यको ग्रहण ।

घरको वास वासको घर सन्त्रासै सन्त्रास,
गिद्धको जित सिनोका भोज थुप्रियो कङ्काल ।
के तेस्रो हो र ? विश्वको युद्ध, जैवीक युद्ध यो ?
वन्धुत्त्व हेर ! लुक्या छ यहाँ विश्वको मेल छ ।

मडार्यो हेर ! बादल सबै कालोको कालै छ ,
सुर्यको आँखा भरिलो आँसु धपक्क भिजेछ ।
धुनु छ यस्ले बन्झर सुख्खा, बाँझिलो धरति,
बहार दिन्छ कहर जान्छ सन्ताप हट्नेछ ।

धेरैमा तीतो खाँदामा त्यो त औषधि हुन्छ नै,
एकता जाग्छ रोग यो भाग्छ नतिजा निदान ।
नबनुन् क्रुर, अशान्ति दूर, जित्नुछ समर,
एकान्त वास बुद्धमा अब बुद्धत्त्व ल्याउन ।

वुढ्यौलो कत्ति बोझिलो भारी बोकेर कुप्रन्छौ ?,
सुसाऊ तिमी जिगीसा कल्प गरेर आराम ।
नयाँ हो वर्ष वर्षीनै पर्छ सबको पलमा,
धेरै नैै झेल्यौँ कहर कस्तो ! सन्तापै सन्ताप ।

नसक्ने टेक्न नहेर्ने आँखा खाडलै खाडल,
अँगार कालो धेरै नै धब्बा पिडा नै पिडा छ ।
धेरै नै मैलो भैसक्यो कत्ति के छ र शालीन,
वर्षको नयाँ युवाको वर्ष उमङ्ग पार्नुछ ।

जे जत्ति छनै बढार्नु पर्छ प्रवृत्ति स्वार्थको,
पुरानो तिमी कदापि हैन वरिष्ठ भयौ नि ।
आपसी सम ल्याउन सधैँ सुझाऊँ नवीन,
युवा यो पुस्ता काँधमा लिन्छ तिम्रो त्यो विसौनि ।

पलाउ हुन्छ प्रत्येक भूमि हुँदैन बालुवा,
काली यो घटा फाट्नु चैँ पर्छ विजुली चम्किन्छ ।
अमृत दिन्छ सन्ताप भाग्छ हुनेछ येथेष्ट,
अन्नको दाना पोटिलो हुन्छ लरक्क झुलिन्छ ।

खराबी सबै टुक्रेर लान्छ चिरेर यसले,
डाक्टर पनि जनता पनि मुकुन्डो भिर्याछौ ।
विश्वास धेरै गरेर बस्यौँ एकान्त व्रतको,
कीटाणु हटोस् विषाणु हटोस् प्रतिक्षा गर्यार्छौँ ।

पिपिय मास्क, लगाइ बस्यौँ सन्ताप जान्छ कि,
केकेमा भयो ! केकेमा भयो क्वारेन् टाइन ।
त्योभन्दा बढी झेलेर हामी सघन कक्षमा,
त्यसले पनि पुगेन हेर आइसो–लेसन ।

पुरानो धोई सन्नाटा चिरी लिएर स्वच्छता,
समुन्द्र च्यात्ने मन्थन जस्तो अन्तिम रातको ।
दुरुह हेर नीलो छ कण्ठ निल्ने कि ओकल्ने,
विषको विष कहिले हट्ने बिल्ली र बाँठको ।

हट्न नै पर्छ तान्डव नृत्य कालीको व्रह्माण्ड,
हामीले छिटै दमित नभै प्रभात कुर्नुछ ।
शिवले सब त्यागेको हेर पल्टेर सर्वाङ्ग,
सबैनै सबै ठाउँमा अब उमङ्ग हेर्नुछ ।

अथक उक्ल्यौँ डाँडाँमा पख्यौँ सगर–माथाको,
सबैको ध्येय उज्यालो हेर्ने विवेकी संसार ।
प्रसव पीडा आमाको हेर हामीचैँ पेटमा,
चिकित्सा सबै सकिन लाग्यो पुगेछौँ संघार ।

पालुवा नयाँ वसन्त नयाँ सुवास आउँछ ,
सुगन्ध छुन्छ ताजगी हुन्छ् पवित्र मधुर ।
विपत्ति भाग्छ आउँछ हेरौँ एउटा छलाङ्ग,
सुखिलो सधैँ नूतन वर्ष आउँछ यो जान ।
विपत्ति भाग्छ आउँछ हेरौँ एउटा छलाङ्ग ,
सुखिलो सधैँ नूतन वर्ष आउँछ यो जान ।

लय ३+२, ३+२, ३+३ जम्मा १६मात्रा

२०७६ चैत ३० मा २०७७ नयाँ वर्षको प्रतिक्षामा
बिजु सुवेदी विजय
कलेश्वर, काठमाण्डौँ
bijusubedi@gmail.com

2 thoughts on “नूतन वर्षको प्रतीक्षामा”

  1. यो कविता युट्युबमा पनि हेर्नुहोला है ।
    आजको वास्तविक स्थिति !! नयाँ युगको कामनाका साथ । यो कविता युट्युबमा पनि हेर्नुहोला है ।
    नयाँ वर्षको आगमनको प्रतिक्षामा छौँ । गित्तल आफैँ बोल्दछ ।
    बिजु सुवेदी विजय
    २०७६ चैत ३०
    https://www.youtube.com/watch?v=yfFyQlLVaH0

  2. भित्रसम्म छुने यो कविता
    यो लक डाउन गर्भभित्र जस्तो अनुभव गरेँ ।
    भित्रसम्म छुने यो कविता सारै मनप¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *