हाम्रा बज्यैहरूले बात्ती कातेझैँ
खुरुखुरु खतरनाक आविष्कार गर्ने,
हाम्रा आमा, दिदी र भाउजूहरूले
दुनाटपरी गाँसेझैँ
निष्फिक्री आणविक हतियारहरू बनाउने
धुन्धुकारी मिष्टर साइन्स & ब्रदर्स
यतिबेला
लकडाउनमा भद्रो हेरेर बसेको छ
त्यसैलाई उल्ल्याएर, गिज्याएर बस्दाबस्दै
मैले कविता लेख्नै बिर्सेँ ।
० ० ०
ईश्वर मरिसकेको ठोकुवा गर्दागर्दै
आफै मरेको नित्शेको प्रेत
सुगरप्रेसर, बाथ र दमले थलिएको बूढो ” प्रभु” को
लहरेखोकीको क्यारिकेचर गर्दागर्दै
अहिले भाइरल भएको छ
त्यही फन्टुसको युट्युब हेर्दाहेर्दै
मैले कविता लेख्नै बिर्सेँ ।
० ० ०
ठाउँ कुठाउँ नि:सङ्कोच
चुम्माचाटी गर्ने कामदेव र रतीहरू
यत्तिखेर,
मुखमा लगौंटी लगाएर कोरोनालाई सरापिरहेछ्न्
तिनलाई नै खुच्चिङ् भन्दाभन्दै
मैले कविता लेख्नै बिर्सेँ ।
० ० ०
सत्रदिनदेखि अलपत्र
भोकबहादुर र निराशमायाहरूलाई
एक प्याकेट चाउचाउ राहत बाँड्न
एक दर्जन ” देखाउने दाँत”हरू
मिडियामा ङिच्च गर्न हानाथाप गरेको देखेर
मैले कविता लेख्नै बिर्सेँ ।
० ० ०
कहिल्यै पनि सिकाएर नसिक्ने,
भोगेर नचेत्ने भेडाहरूलाई
धर्मको हरियो घाँस देखाएर
भुत्ला काटेर नाङ्गै पार्ने
छाला काडेर बुङ्गै पार्ने
छट्टू महापुरुषहरूले
पर्दाफास हुने पीरले
चिट्चिट पसिना काढेको देखेर
मज्जा मान्दामान्दै
मैले कविता लेख्नै बिर्सेँ ।
० ० ०
अकुत सम्पत्ती र अलओल्ले शानमानको
चङ्गा उडाएर रमाउने चङ्गेज खाँहरू
यतिबेला
सुनको पिंजडाभित्र हिराको गलैंचा ओछ्याएर
ईम्युनिटी बढाउन कपालभाँती गर्दैछ्न्
तिनैको हविगत हेर्दाहेर्दै
मैले कविता लेख्नै बिर्सेँ ।
० ० ०
मन्दिर, मस्जिद, गुम्बा र चर्चमा
भगवानहरूलाई कैद गरेर
तिनका नाममा बेहिसाब सिदाखाङ्की लुँड्याएर
मनपरी — गरिरहेका मनुवाहरू
निरुपाय लाचार आफै डल्लिएको देखेर
मैले कविता लेख्नै बिर्सेँ ।
० ० ०
असन्तुष्टि, आक्रोश र अन्यौलको
पिरो खारले आत्तिएका
सिंहदरबारहरूका हाच्छ्यूँ र खोकीहरू
स्यानिटाइजरको लिपिष्टिक दलेर
छिमेकी भैयाको न्यू सुपर्हिट गानामा
हाउभाउ र नखरा गर्दैछन्
तिनैको टिकटक हेर्दाहेर्दै
मैले कविता लेख्नै बिर्सेँ ।
२०७६ चैत्र २८
खाँदबारी ।
