Skip to content

मार्क्स, तिमीले भनेको सही रहेछ

LokmaniGiriSarthak


आपत बिपतमा
थाहा लाग्दो रहेछ,
माटो के हो ?
देश के हो ?
मानवता के हो ?
सरकार कस्तो ?

पारी आमा
चितामा जलिरहदा
वारि म
क्वारेन्टाइन भित्र क्वारेन्टाइनमा छु ।
खाना र पानी
माग्दा माग्दै
थाकेका मेरा ओठहरू
अब कसरी मागौ
दिउन पनि किन
क्वारेन्टाइनको खानामा पनि
क्वारेन्टाइनमा परेपछि ।

अँझै याद छ मलाई,
संसारका मजदुर एक हौ
घरको भित्तामा
रङिएको भोलिपल्ट,
सुम्ला उठ्ने गरी
पाएको क्रान्तिकारी माया ।
आज त्यही माया
दिदैछन हजारौ कोश हिड्दा,
त्यही नारा लेख्न लगाउनेले ।
थाहा छैन,
दोष लेख्ने को थियो कि
लेख्न लगाउने को ?
कि शब्द फरक पर्यो
संसारका मालिक एक हौ ।

ताजुब त यो छ,
एउटै चुनावमा
दसौ पटक
भोट हाल्दा
खोजिएन परिचयपत्र
मागिएन गाडी भाडा
तिरिएन मासु भातको पैसा
तिराइएन रक्सीको बिल
तर आज कहाँबाट ल्याऊँ
राहतको लागि नागरिकता
क्वारेन्टाइनमा जो छु आज ।

बा र ममा
सप्पै समान छन,
परदेश पेशा चौकिदारी
दुस्ख उही पीडा उही
बस्ने कमरा उही
बुझ्ने तनखा उही
कहिले चाडै बोलाउछन्
बुझ्दिन किन हो
संविधान बनाउने चुनाव
दुई पटक बोलाए
भोट हाल्ने स्कुल उही
फरक एउटा मात्र
बाको कागज
श्री ५ अङ्कित
मेरोमा
नेपाल सरकार ।

अहिले मात्र होला
बा उता छन्
म यता क्वारेन्टाइनमा।
न त यताकोले
जान दिन्छ
न त उताकोले
आइज भन्छ ।
साँच्चै मार्क्स
तिमीले भनेको सही रहेछ
सर्वहाराको राज्य हुँदैन ।

लोकमणि गिरी ‘सार्थक’
तुलसीपुर, दाङ
हाल यस्बिया, डेनमार्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *