Skip to content


म मजबुर छु
म मजदुर हूँ,

स्वदेशमा छु
विदेशमा छु
यत्रतत्र छु
गाउँमा छु, सहरमा छु
तर आजकाल पउल सकसमा छु
वैश्विक कोरोना कहरले भयभीत छु
मेरा चौतर्फी मृत्यु सङ्गित अट्टहास गरिरहेछन्
एकमुठी सास बँचाउने रहरले त्रसित छु
सन्ततिलाई पाल्ने कहरले पनि भयभीत छु
हजुर म मजबुर छु
त्यसैले मजदुर हूँ,

यतिखेर मभित्र दम (रोग) छ !
यतिखेरै मभित्र दम (ऊर्जा) छैन !!
रोजीरोटी खोसिएको वाचाल मजबुर हूँ म
थातबास उखेलिएको निमुखो मजदुर हूँ म
त्यसैले हजुर हाल नसोध्नोस् मेरो
म मजबुर छु
म मजदुर हूँ,

टुप्पीदेखि पैतालासम्म मालिककै निम्ति अहोरात्र पसिना बगाएँ
सूर्योदयदेखि सूर्यास्तसम्म ख्वामित खुसी पार्न सीप देखाएँ
अहिले जीवनमरण सवालमा
लगाउने गुलिया नारा र चपाउने मिठा आश्वासन बाहेक
मैले खै ! के पाएँ ?
दुई छाक खाएर बाँच्न नसक्ने
उत्पादन बढाउन रगत÷पसिना एकठ्ठा गर्दा पनि
उत्फुल्ल भएर म कहिल्यै हाँस्न नसक्ने
म, मेरो र मजस्ता लाखौं मजदुरहरूले
चलाएको भनिने देशको निरीह एउटा मजदुर हूँ
दिवसमा मेरा ख्वामितहरूले गुलियो मिसाएर
सधैँ भन्ने गर्थे – ‘संसारका मजदुरहरू एक हौं !’
‘गरीबहरूले हार्नका लागि केही छैन
तर जित्नका लागि सारा संसार छ !’
मिथ्या रहेछन् यी स्लोगानहरू
भ्रमका पुरियाजस्ता रहेछन् यी सत्ताका नाटकहरू,

चाहे होस् वासिङ्टन, दिल्ली र काठमाण्डू नै
चोह होस् संघीय, प्रदेश र स्थानीय सरकार नै
यसपटक चेतेँ
यसपटक देखेँ
सिँह, चितुवा र स्याल सरकारका
सबै मुखुण्डा झिकिएका कुरुपकुरुप अनुहारहरू
जसले म र मजस्ता लाखौं÷करोडौं दुखियाहरूलाई
समाजवादी आन्दोलनको मृत्युमा शव यात्रामा हिँडाएझैँ
धुकधुकी राख्नकै लागि लोभ्याउँदै हिँडायो
भोकै र अनिद्रै हिँड्न बाध्य बनाएर बनायो
हजारौंहजार किलोमीटरको पैदल यात्रा,

म मजबुर छु
म मजदुर हूँ
भन्छन् –संसार पसिनाको ऊर्जा निखनेर चलेको छ
तर संसारभर मालिककै कुशासन यतिखेर धपक्क बलेको छ
बुहानदेखि बर्लिनसम्म
न्यूयोर्कदेखि नाइजेरियासम्म
लण्डनदेखि लाओससम्म
मेरा अरबौं इच्छाहरू अपहरित छन्
हाम्रा सन्ततिका जिजीविषाहरू बलात्कृत छन्
मज्जैले बुझेँ यसपालि त ख्वामित !
जहर घोलिएको सहर
र चिहानै चिहान भएको राजधानीमा
न त कुनै मेरा आफन्तै रहेछन्
न त म कसैको इष्टमित्रै बनेँछु,

कागजी योजना, आयोजना र परियोजनाहरू
अनि बठ्याइँजीवी एञ्जिओ र आइएञ्जिओहरू
सबै सबैहरू कुलीनकै सपनालाई
आचमन गर्दै यहाँ अकूत धनराशि कुम्ल्याइरहेछन्
निम्छरा पछुवारेहरू फगत् भाषणमा अल्मल्याइरहेछन्
हजुर यसपटक राम्ररी देखेँ
यो पटक नबिर्सिने गरी चेतेँ
शासकको यिर्दगिर्द बसेर
कोटको बक्रम र दौराको तुना मिलाइदिने सल्लाहकारहरू
जो हाम्रै मुटुले चुनेका मजदुर नेता जो थिए
जब ती हाम्रा नेता थिए
त्यतिञ्जेल मात्रै मजदुर थिए
सत्तोन्मादमा ती कित्ताकाट भएर
पेटीबुर्जुवा भाँतीमा अद्र्धशासक भैदिँदा
न त ती मजदुरै रहे
न त ती हामीलाई उद्धार गर्न मजबुर नै भए,

अहिले ती आफ्ना ख्वामितका कोमल पाउ धुँदै
पानी अँचाउँदै छन् रे !
जी हजुरी बजाएर आफ्ना कमिसन हसुर्दैछन् रे !
हिजोका मजदुर नेता आज शासकमा पदोन्नति भएपछि
हामीलाई हकार्छन्
एकोहोरो आश्वासन र आदेश मात्र डकार्छन्
हामीजस्ता निमुखालाई मरौपरौमा काम नलागेपछि
दुखियाका अभर पभरमा सहयोगी नभैदिएपछि
अब त ती हाम्रा लागि यत्तिकै मरे
आन्दोलन, क्रान्ति र विद्रोह सबै भर्सेला परे !

सुत्केरी स्वास्नी पछि लगाउँदै
लालाबाला लखेट्दै
दूरदेशबाट प्रदेश
परदेशबाट घरदेश
घर हँसाउन घरबाहिर रहेका हामी घरवारविहीनहरू
घर सम्झिएर धधर्ती रगतका आँसु रुँदा पनि
हाम्रै टाउकाका सिँढी चढेर
सत्ताको धरहरा पुगेका यी श्री६ शमशेरहरूले
आहतमा हामीलाई जनता देखेनन्
राहतका खातिर मतदाताको खोजी मात्र गरे
थुक्क मजदुर नेता !
तैँले गरेको समाजवादी राजनीति त
तित्रीको स्वाद्जस्तो खट्मिट्ठी चुनावी नारामा मात्रै सीमित भयो
अब हामी तेरा घोषणापत्रमा ध्वारर्रअ मुतिदिने छौं !
अब हामी तेरा झण्डाहरू चर्चरर्ती च्यातिदिने छौं !
र एकफेर फेरि मुठ्ठी कसेर भन्ने छौं
हामी सधैँ मजबुर हुने छैनौं
हामी विद्रोही हुनेछौं
मजदुर रहने छैनौं, मालिक बन्नेछौं
आफ्नै देशको
आफ्नै आदेशको,

माफ गर्नुहोला महाशय,
यतिखेर म मजबुर छु
यतिखेर म मजदुर हूँ !

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *