विश्वभरि मडारिरहेको कालो बादलले केही सङ्केत गर्दैछ
एक सुक्ष्म जीवाणुसँग आज मानव हार्दैछ
ब्रमाण्ड त्यही गतिमा चलायमान छ
समयको रफ्तार उही छ
तर आफूलाई सर्वश्रेष्ठ ठान्ने मान्छे भने
आज ठप्प रोखिएको छ
रंग फेर्दै हिड्ने मान्छेको रंग खुइलिएको छ ।
अहङ्कारको पर्दा झरेको छ
आज प्रकृतिले पालो फेरेको छ
सपनाहरू पोखिएका छन्
सहाराहरू खोसिएका छन्
हिजोसम्म पैसाको पछाडि अन्धो भएर दगुर्ने मान्छेलाई
आज पैसा मूल्यहीन भएको छ
घमण्ड र इर्ष्याको श्रीपेच ढलेको छ
आफूलाई धनाड्य र सम्पन्न सम्झिनेहरुले पनि
परिस्थितिसँग घुडा टेकेका छन्
आज मन्दिरमा घण्टी बज्न छोडेको छ
मस्जिदमा नवाज गुञ्जिन छोडेको छ
निरही भएर शून्य आकाश हेर्दै
चार परिधिभित्रैबाट आज
सम्पूर्ण मानव जगत जीवन याचना गरिरहेका छन् ।
हो मानव-विकास जरुरी छ र क्रान्ति पनि
तर त्यसको पनि परिधि छ
जित्ने अभिलाषाको दौडमा मान्छेले मानवता कुल्चियो
एकार्कालाई उछिन्ने होडमा
अहिंसाको बाटो अपनायो
निर्दोष पशुपन्छीको बलिमा उत्सव मनाइयो
झुन्डाएर उत्तानो पारेर बीच सडकमा पशुपन्छीहरू मारिए
डकैती, बलात्कार, एसिड आक्रमण जस्ता घटनाले सीमा नाघ्यो
मान्छेले मान्छे मार्यो मान्छे खायो
दानव बन्यो मान्छे
औद्योगीकरण सहरीकरणले वायु मण्डलको नक्सा नै फेरियो
प्रविधि र विकिरणले जैविक सन्तुलन बिगार्यो
यन्त्रको निर्भरताले दया मायाका लहर भाँचिए
मान्छे भ्रष्ट बन्यो स्वार्थी बन्यो केवल आफ्नो बारे मात्रै सोच्यो ।
आणविक हातहतियारले विश्व नै ध्वस्त पार्न क्षमता राख्ने मान्छे
आज आफ्नो बचाउ गर्न सकिरहेको छैन
प्रकृतिको शोषण गर्दै हिड्ने मान्छे
खोरभित्र थुनिएको छ ।
धेरैपछि आज प्रकृतिले स्वतन्त्रताको स्वास फेरेको छ
परिवर्तनको एक नयाँ दियो जलेको छ
चारैतिर वसन्तको बहार छाएको छ
चराहरुले खुलेर गाएका छन्
प्राणीहरुले स्वच्छ सफा वायुको अनुभूति गर्न पाएका छन्
कुच्चिएका थिच्चिएका सडक पेटी अलि फराकिला भएका छन्
कोलाहलपूर्ण गल्लीहरुमा शान्ति छाएको छ
अहङ्कारी मान्छे आज बल्ल हारेको छ
आज आएर बल्ल परदेशिएकाहरुले घर सम्झिएका छन्
माटो को माया बुझेका छन्
परिवार लत्याएकाहरुले परिवार सम्झेका छन्
आमाबुवाको आशीर्वाद सम्झेका छन्
माया र सहाराको खाचो महसुस गरेका छन्
आज आएर बल्ल मान्छेले जिउनुको वास्तविक अर्थ बुझेको छ ।
