लुकेर त माया लाउन सक्दिन म तिमी सँग,
झुकेर त माया लाउन सक्दिन म तिमी सँग ।
चर्किएको मान्छेलाई फुटाउनै खोज्छौ तिमी,
फुटेर त माया लाउन सक्दिन म तिमी सँग ।
यदि सुक्नु पर्छ भने हिउँदको खहरे झैँ,
सुकेर त माया लाउन सक्दिन म तिमी सँग ।
जात धर्म रंग भेद सम्पत्तिको नाउँमा सधैं,
दुखेर त माया लाउन सक्दिन म तिमी सँग ।
तिम्रो जुठो माया पाउन ढोका कुर्नु पर्छ भने,
ढुकेर त माया लाउन सक्दिन म तिमी सँग ।
