Skip to content

जन्मदिनमा तिम्लाई आशिर्वाद छोरी धेरै बधाई

प्रिया छिन् छोरी बढेर मिठासले तोते बोल्न थालेकी
बाबा आउ भन्दछे रे भन्छिन् प्रियतमा हातै उचालेकी
टाढा छु खोज्छ्यौ रे छोरी समिपमा निहाल्दै ढोका नेरी
पूर्णेको जस्तो चन्द्रझैं बढेर भएकी छ्यौ रे उजेली ॥१॥

हेर्न तिम्रो सुरम्य बालपनको मिठास् त्यो जिद्दीपन
टाढा छु देख्न पाइन घस्री हिडेको अमिलो भाछ मन
तिमीलाई सँगै बसेर काखमा यी हातले खेलाउने
हाँस्ने है जिस्कदै कस्तो थियो मन रहरै मेटाउने ॥२॥

टुकुटुकु हिड्दै समिप आको हेर्न मन छ लागेको
तिम्लाई डुलाउन वरपर ताते मनै छ भन्न त साह्रो
भाषा चक्षुका मृदुल तिम्रो कोमल मुस्कानमा रमी
तान्दै साह्रै मन छ समिपमा तिम्लाई वक्षमैं टाँसनी ॥३॥

आउ है भनेर भन्दा दौडेर लड्न खोज्दा त तिमीले
पाएनन् कस्तो समात्न कत्ति पनि मेरा बाहू भूजाले
पाएनौ न मेरो ममता न न्यानो यो अंगालोमा खेल्न
पाएनौ मुहार हेर्दै जिस्कदै सँगै आलोपालो हाँस्न ॥४॥

काँहा हुन्छ र सबै इच्छापूर्ति मन् मनै चिताएजति
निस्केका छैनन् है जन रत्ति लकडाउन छ बन्दाबन्दी
त्रसितै छ त्रास भय जनमा संसारैभर संक्रमण बढ्दो
हिड्न गाह्रो छ छाड्नै कर्मक्षेत्र भय कहरसँगै फैलदो ॥५॥

देखाई मुखमै दन्तै दुई चार हाँसेर मिठास साथमा
गिजाले कोमल पाएनौ टोक्न मेरो जिस्केर हातमा
सानी छ्यौ छोरी अहिले बन्नुछ भोली कर्मशील कर्मठ
भुन्टी भन्लान् नराम्री कसै कसैले भन्छु है काली म त ॥६॥

लालित्यमय प्रभाव छाड्दै ज्ञानी बन्नु उज्यालो रवी
जितिन्छ कर्मैले सारा लोक बडा कर्मैले बनोस् छवी
गुनिला सेवा गर्नु जनको खटेर् सत्कर्मको पालना
घमण्ड नलिए शूभ कर्म गरी बाँड्नु भलो कामना ॥७॥

प्यारी छ्यौ हौ उजेली हाम्रो चम्कने घर परिवारै
बढ्दै छ्यौ कोमल वयकी तिमी त दिन प्रतिदिनै
हाँसेर सदैव नयन अगाडी हाम्रो सामूमा बस्नु है
पढी लेखी छोरी ज्ञानी विद्धान असल राम्रो बन्नु है ॥८॥

सिधा हुदैन प्रगतिको कहिल्यै पनि बाटो सजिलो
संघर्षैबाटै पाइने लक्ष्य बुझ्नु त्यही हुन्छ गर्भिलो
मान्छे बन्न सक्नु महान हितको देऊ सब ज्ञान त्यो
रविझैं प्रकास छर्न सक्नु है त्यही ज्ञान विज्ञानको ॥९॥

धर्ती टेक्दा तिम्ले रहें टाढा छु जन्मदिन मनाउँदा
बाबा भन्थ्यौ’लि मधुर स्वरले मैंले हात समाउँदा
दुर छु तिम्रा कोमल हातका स्पर्श मूलायम नपाईँ
जन्मदिनमा तिम्लाई आशिर्वाद छोरी धेरै बधाई ॥१०॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *